एमसीसी सम्झाैता खारेजीको माग गर्दै सुर्खेतमा प्रदर्शन


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी र स्वतन्त्र दलित विद्यार्थीहरुद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एमसीसी सम्झौताको विरुद्ध छुट्टाछुट्टै विरोध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ ।

एमसीसीको विरुद्ध देशव्यापी आन्दोलनको कार्यक्रम गर्दै आइरहेको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यक्रम अनुरुप आइतबार सुर्खेतको बीरेन्द्रनगरमा कोणसभा सम्पन्न गरेको हो । राज्यले प्रतिबन्ध लगाएपनि उनीहरूले मुख्य शहर बीरेन्द्रनगर बजारमा बिरोध सभाको जुलुससमेत निकालेका छन् । प्रदर्शन कार्यक्रममा गिरफ्तार पार्टीका नेता कार्यकर्ताहरुको रिहाइको माग समेत गरे । सुर्खेत क्षेत्रीय हस्पिटलको चोकबाट र्याली सुरु भइ हरि डिलभुमि मा.बि. को चोकमा बिरोधसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै वक्ताहरूले अमेरिकाले हिन्द–प्रशान्त रणनीतिको मुख्य उद्देश्य पहिलो चीनको प्रभाव र विस्तारलाई दक्षिण एसियामा रोक्ने, दोस्रो दक्षिण एसियामा देखिएको कम्युनिस्ट क्रान्तिको सम्भावनालाई रोक्ने, तेस्रो नेपालको कम्युनिस्ट क्रान्तिलाई रोक्ने र चौथो नेपालमा अमेरिकी सैन्य अड्डा खडा गर्ने रहेकाले यो सम्झौता खारेज हुनुपर्ने बताए ।

यस्तै स्वतन्त्र दलित विद्यार्थी संगठनले पनि राष्ट्रघाती सम्झौता एमसीसी विरुद्ध कोणसभा गरेको छ । उक्त कोणसभालाई सम्बोधन गर्दै स्वतन्त्र दलित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष धनबहादुर नेपालीले एमासीसी राष्ट्रघाती भएकाले नेपाल देशको हितमा नभएको हरियो घाँस भित्र बिषालु सर्प भएर एमसीसी नेपालमा आएकाले यसले देशलाई समृद्धि होइन ध्वस्त बनाउने बताउनु भयो । यो सम्झौता पास भयो भने कुनै पनि समय कसैको गुलाम नबनेको देश नेपाल गुलाम र जनतालाई दास बनाउने ठोकुवा गर्नुभयो । एमसीसीमा भएका बुँदाहरुले नेपालको सार्वभौमसत्तामाथि हमला हुने र नेपालको कानुन भन्दा एमसीसीमाथि हुने भएकाले यो नेपाली जनतालाई मान्य नहुने भन्दै नेपाली जनता बरु एक छाक भोकै बस्न तयार छन् तर दास बन्न तयार छैनन्, यो सम्झौता अहिले सम्मका सबै भएका राष्ट्रघाति सम्झौता भन्दा धेरै गुणा खतरा भएको र नेपालको परराष्ट्र नीति विपरित भएकाले सबै राष्ट्रप्रेमी, देशभक्ति नेपालीहरु एकजुट नभए नेपालको स्वाधीनता रक्षा गर्न नसक्ने बताउनु भयो ।

उक्त कार्यक्रमको सञ्चालन स्वतन्त्र दलित विद्यार्थीका सचिव टेकम विकले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :