आगामी निकासबारे चर्चा

नेपाली समाज लामो सङ्घर्षको उतारचढावको बीचबाट अघि बढ्दै आएको छ । नेपालको राजनीतिक इतिहासमा २००७ सालको विद्रोह, २०२८ सालको झापा विद्रोह, माओवादीको नेतृत्वमा २०५२ फागुन १ गतेदेखि १० वर्ष जनयुद्ध भएको छ । अर्कोतर्फ २०३६ सालको जनमतसङ्ग्रह २०४६ सालको जनआन्दोलन, २०६२/०६३ को जनआन्दोलन भएका छन् । यी सबै सशस्त्र सङ्घर्ष र निःशस्त्र जनआन्दोलनहरू कुनै न कुनै सम्झौतामा टुङ्गिएका छन् जुन सम्झौताका कारण नेपाली जनता पटकपटक घात–प्रतिघातको सिकार बन्न पुगेका छन् । नेपाली जनतालाई सम्झौता धोका हो भन्दै पुनः सडक तताउनुपर्ने बाध्यता नेताहरूले उत्पन्न गराइरहेका छन् ।

संसारमा ‘वीर गोर्खाली’ को पहिचान कोरेको नेपाली समाज– गरिबी, भिखारी, नोकर, दासका रूपमा बदनाम भएको छ । नेपालको जनसङ्ख्या लगभाग ३ करोड मात्र छ त्यसमध्ये कानुनी गैरकानुनी गरी ७० लाख युवकयुवतीहरू संसारमा छरिएर सस्तो श्रम बेच्नुपर्ने बाध्यता छ । विदेशी भूमिमा त्यहाँको नागरिकसरह समान ज्यालाबाट वञ्चित बस्नु परेको तीतो यथार्थ छ । SLC ब्याचलर र डिग्री पासका सर्टिफिकेट सिरानीमा राखेर साउदी अरबको ४५ डिग्री गर्मीमा गैँची–बेल्चा उचाल्नुपर्ने युरोप, अमेरिका पुगेर चौकीदार लेबर गर्नुपर्ने बाध्यता छ । सरकारी तथ्याङ्क हेर्दा नेपालबाट दैनिक दुई हजार (२०००) युवकयुवती विदेश पलायन भैरहेका छन् । काठमाडौँ विमानस्थलमा दैनिक सरदर तीनवटा त नेपालीहरूको लास (डेथ बडी) भित्रिने गर्छ । हाम्रोजस्तो सानो ३ करोड जनसङ्ख्या भएको मुलुकको ऋण हेर्दा साढे दस खर्व (१० १/२ खर्ब पुगेको छ । जुन कुल जनसङ्ख्यालाई भाग लगाउँदा प्रतिव्यक्ति नेपालीको टाउकोमा पैँतीस हजार (३५,०००) ऋणभार पर्न जान्छ भनेर अर्थविद्हरू भनिरहेका छन् ।

नेपालमा आमूल परिवर्तनको सपना बाँडेर जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्ने भनेर १० बर्से जनयुद्ध सञ्चालन भएको थियो । जनयुद्धका क्रममा १७ हजार सहिद/बेपत्ता बने । त्यसमध्ये ४५०० नागरिक अझै बेपत्ता छन्, बेपत्ता नागरिकबारे कुनै पनि सरकार ‘चुँ’ सम्म बोल्न सक्दैन । एकपटक काङ्ग्रेसनेता कृष्णप्रसाद भट्टराईले बेपत्ताबारे ‘They are already killed’ भने जुन गैरजिम्मेवार अभिव्यक्ति दिए, त्यसले बेपत्ता परिवारजनको घाउमा नुन–चुक दल्ने काम गर्यो । पटकपटक पुष्पकमल दाहाल/बाबुराम भट्टराई सहिद–बेपत्ताको बलमा सरकारको नेतृत्वमा पुगे तर विडम्बना ! सहिदलाई सहिद भन्न नसकेर द्वन्द्वपीडितको अपमान गर्नुबाहेक मलम लगाउने कार्य नै गरेनन् । यसै क्रममा सुरक्षा निकायबाट २८०० भन्दा बढी मृत घोषणा भएको छ । १५०० घाइतेमध्ये २५० त पूर्ण अपाङ्गै भएको तथ्याङ्क सार्वजनिक भएको छ । विडम्बना, सत्ताको बागडोर समाल्ने नेपाली नेताहरू ‘अन्धा’ र ‘बहिरा’ बन्दै आएका छन् । नेताहरू कुर्चीमा पुगेपछि जनताका आवाज न सुन्न तयार हुन्छन्, न त जनताका समस्या देख्न तयार हुन्छन् । सरकार एकपछि अर्को भ्रष्टाचार, कमिसन खोर, सत्ता–लिप्सा कमाउ धन्धामै लिप्त भएको छ । प्रायः दैनिक हुने काण्डैकाण्डले नेपालको अर्थतन्त्र डामाडोल भएको छ । नेपाल राष्ट्र बैङ्कले गैरकानुनी ठहर गरी अजय सुमार्गीको कालो धन रोक्का गर्ने आदेश जारी गर्छ तर अन्य बैङ्कहरू अजय सुमार्गीले खाताबाट सम्पूर्ण रकम निकासी गरेको जबाफ फर्काउँछन् । ‘तँ रोएजस्तो गर्, म हानेजस्तो गर्छु’ भनेझैँ दलालहरूले जनताको आँखामा छारो हालिरहेका छन् । भ्रष्ट, दलाल केपी वलीको सरकार ठूला जुवाघर (क्यासिनो, ठूला तारे होटेलको कर मिनाहा मात्र गर्दैन, Ncell भन्ने सञ्चार सेवा प्रदायक कम्पनीले राज्यलाई तिर्नुपर्ने ७५ अर्ब लाभांशकर असुली गर्दैन । उल्टो मन्त्रिपरिषद्मार्फत Ncell लाई कहीँकतैबाट क्षति भयो भने इन्सुरेन्समार्फत क्षतिपूर्ति दिलाइदिने निर्णय लिन पुग्छ । यो Ncell मलेसियाको एक्जिएटा कम्पनीले सुरुमा ८ करोड लगानी गरी १८० अर्ब लाभ रकम आफ्नो देश लगिसकेको छ । तर नेपाललाई तिर्नुपर्ने ७५ अर्ब कर तिर्दैन । उल्टो एमाले, माके र काङ्ग्रेसका नेताहरूले आफूबाट लगेका चुनाव खर्च १० अर्ब रुपैयाँ फिर्ता गरे मात्र कर तिर्ने धम्की दिइरहन्छ । दुई तिहाइको सरकार लाचार छ । गरिब देशका सयौँ नागरिक स्विस बैङ्कमा मोटो रकम जम्मा गरेर बसेका छन् । भूकम्पपीडित अझै पालमुनि बस्न बाध्य छन् । वर्तमान केपी–पीकेको कम्युनिस्ट समाजवादी सरकार वाइडबडीकाण्डमा साढे ४ अर्ब भ्रष्टाचार गरेको छ । ३८ क्विन्टल सुन तस्करीकाण्डमा भरिया–‘सानामाछा’ समातेको नाटक चल्छ ‘ठूला माछा‘ को रौँसम्म हल्लँदैन । निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा सम्पूर्ण प्रहरीलाई त नभनौँ तर कञ्चनपुरमा प्रहरीले नै सबुत प्रमाण नष्ट गर्ने, हत्याका मुख्य अभियुक्त लुकाएर कृत्रिम दोषी खडा गरी पत्रकार सम्मेलन नै गरेर ‘मैले बलात्कार गरेको हुँ’ भन्न लगाउँछ । राष्ट्रपतिको डेढ अर्ब हेलिकोप्टरकाण्ड, मलकाण्ड, चिनीकाण्ड, ललिता निवासकाण्ड, यती एयरलाइन्सकाण्ड, गोकर्ण रिसोर्टकाण्ड, मेलम्चीकाण्ड, टुँडिखेलकाण्ड, रानीपोखरीकाण्ड, सभामुख महराकाण्ड, अर्थात् दैनिक काण्डैकाण्ड मच्चाइरहेको छ । केपीको फासिवादी सरकार एसिया प्यासिफिकका नाममा क्रिस्चियन धार्मिक संस्था मूल– आयोजक दुई तिहाइको केपी सरकार सहआयोजक बनेर होलीवाइन पिउँदै गर्दा राष्ट्र र जनताको शिर गिराउने अवस्था उत्पन्न भएको छ । यो सरकारको उपहारस्वरूप मूल्यवृद्धि ३०० प्रतिशतसम्म बढेको छ । स्थानीय चुनावताका सामान्यतः एक लिटर पेट्रोलको मूल्य रु. ८१ बाट बढाएर हाल १०९ पुर्याएको छ । अर्थात् प्रतिलिटर रु. २८ बढेको छ । नुन, तेल, छड, रड, सिमेन्टको मूल्य आकासिएको छ । चुनावी घोषणापत्रमा वृद्धभत्ता ५ हजार बनाइदिने, १ घर १ रोजगारी दिलाइदिने, स्वास्थ्य शिक्षा निःशुल्क प्रदान गराउने भनेको कथित जनप्रतिनिधिहरू जथाभाबी चर्को कर असुलीमा व्यस्त छन् । कुखुरा, बाख्रा, सुन्तला, स्याउका बोटदेखि पुराना घर–गोठ, जन्मदर्ता, मृत्युदर्ता, सिफारिसमा चर्को कर असुलेर स्मार्ट मोबाइल, मोटरसाइकल, गाडी कथित जनप्रतिनिधिको तलब भत्ता भर्न कर असुलेर जनताको ढाड सेकिरहेका छन् । वडा प्रतिनिधिदखि मन्त्री, प्रमसम्म संस्थागत भ्रष्टाचार मौलाएको छ । माओको शब्दमा ‘संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने व्यवस्था हो’ भन्ने पुनः एकपटक पुष्टि भएको छ । कुनै जमानामा केपी–पीकेलाई यही उद्धरण उच्चारण नगरी खाएको पच्दैनथ्यो तर आज उनीहरू नै संसदीय लोकतान्त्रिक गणतन्त्रको होर्डिङ बोर्डमा कसाई बनेर देश, जनताको दोहन/लुटपाट गरिरहेका छन् । यी र यस्ता सयौँ–हजारौँ तथ्य–तथ्याङ्कहरूले संसदीय व्यवस्था र यसको नेतृत्व नेपालमा असफल सिद्ध भैसकेको प्रमाणित गर्दछ । नेपाली जनता हत्या, हिंसा, बलात्कार, राष्ट्रघात, जनघातजस्ता बेथितिबाट उकुसमुकुस भैरहेको छ । यही जनताको उकुसमुकुसको अग्रगामी, सही र दीर्घ निकास के हुन सक्ला ? चर्चा गरौँ :

क) राजतन्त्रबारे

आज नेपालमा राजतन्त्रात्मक संसदीय व्यवस्थाको ठाउँमा ‘राजतन्त्र’ हटेर संसदीय लोकतान्त्रिक गणतन्त्र विद्यमान छ । २४० वर्ष पुरानो राजतन्त्र जनताको बलमा मूलतः हामी माओवादीको रगत–पसिनामा फालिएको यथार्थ सत्य हो । राजतन्त्रबारे तत्कालीन काङ्ग्रेस नेता गिरिजाप्रसाद कोइरालाले बेबी किङ वा सेरेमोनियल किङ राख्नुपर्छ भन्ने अडान राख्ने गर्थे । तत्कालीन एमालेका केपी शर्मा बयालगाडा चढेर कहाँ अमेरिका पुगिन्छ ? राजतन्त्र चाहिन्छ भन्थे राजाको खुट्टामा दाम चढाएर ढोग्न पुग्नेहरू आज गणतन्त्रको मासिहा आफू भएको फुइँ गरिरहेका छन् । यो सोह्रै आना झूटको खेती हो । काम गर्ने कालु मकै खाने भालु भएको छ । राजतन्त्र महँगो भयो । दरबारले मासिक ४ करोड खर्च ग¥यो । जनताको ढाड सेकियो । भनेर राजतन्त्र फालियो तर विडम्बना ! गणतन्त्रका भुरे राजाहरूले मासिक अर्बौंअर्ब खर्च गरेका छन् । ६०१ र तिनका टाउकेले राष्ट्रिय ढुकुटी ब्रह्मलुट गरिरहेका छन् । यसबारे नेपाली समाज प्रस्ट छ । सचेत छ । आक्रोशित छ । तर राजतन्त्र पुनः फर्काउने पश्चगामी प्रतिगमनकारी कदम हामीलाई सह्य छैन । राजतन्त्रवादी चिन्तन अस्वीकार्य मात्र होइन, जनताले खारेज गरी मसानघाट पुर्याएको वंशाणुगत प्रणाली हो । यो ब्युँताउनु असम्भवप्रायः छ ।

ख) पुनः काङ्ग्रेस

नेपालको राजनीतिक इतिहासमा २००७ सालदेखि हालसम्म ३० वर्षीय पञ्चायतबाहेक राज्यसत्ताको ढुकुटीमा ब्रह्मलुट गर्न पल्केको ढाडे बिरालो पार्टी काङ्ग्रेस नै हो । यस्को तल्लो तह भोटरको कुरा त होइन तर लाभको पदमा पुगेर ब्रह्मलुट गर्नेहरूको काङ्ग्रेसमा हालीमुहाली र दबदबा कायम रह्यो । काङ्ग्रेस नेता मातृका, बीपी र गिरिजाप्रसाद कोइरालाले नेपालका राष्ट्रघाती सन्धीहरू क्रमशः कोसी, गण्डकी र टनकपुर भारतलाई बेच्न पुगे । खुमबहादुर खड्काहरू राष्ट्रको ढुकुटीबाट कमिसन लिएर भ्रष्टाचार गरेर काङ्ग्रेस नेता कार्यकर्तालाई बाँडेको कुरा गर्वका साथ सार्वजनीक गर्थे । यस्तो काङ्ग्रेस पार्टीबाट पुनः निकास पाइन्छ भन्नु भ्रमित र झुक्किनु मात्र होइन, तावाको माछा भुङ्ग्रोमा पर्नुजस्तै हो । बुढा काङ्ग्रेसको कुरा छोडौँ, यो संसदीय व्यवस्थामा गगन थापाहरू चुनावी खर्च जुटाउन कुमार घैँटेजस्ता गुन्डासँग साँठगाँठ गर्नुपर्ने, कमिसन लिनुपर्ने र भ्रष्टाचार गरेर थुपारेको पैसामा चुनावी प्रतिस्पर्धाको नाटक गर्नुबाहेक अग्रगामी निकास काङ्ग्रेसबाट प्रायः असम्भव छ ।

ग) सरकारी डबल नेकपा

यो पार्टी दुईतिहाइ बहुमतीय सरकारको दम्भ गरिरहेको छ । इतिहास साक्षी छ, राष्ट्रघाती महाकाली सन्धि गरेर अर्बौंअर्ब कमिसनबाट नेतृत्वमा पुगेका खड्गप्रसाद वली हुन् । पद, पैसा सुविधा भनेपछि मरिहत्ते गर्ने १० बर्से जनयुद्ध र सिङ्गो नेपाली क्रान्तिलाई नै बेचेर केपीको पाउ मोल्न पुगेका पुष्पकमल दाहाल हुन् ।

यी दुवै आफैँ वोक्सी आफैँ धामीको नाटक गर्न अनुभवी छन् । महाकालीको राष्ट्रघाती छवि आफ्नो ९ महिने शासनकालमा भारतले नेपालमा लगाएको नाकाबन्दीको विरोधबाट ‘राष्टवादी’ छारो हान्न पुगेका केपी पुनः सुष्मा स्वराजलाई भित्र्याउँदै भारतीय नरेन्द्र मोदीको रातो कार्पेटमा सवार हुन पुगे । त्यस्तै जनयुद्धका क्रममा भारतविरुद्ध सुरुङयुद्ध भन्दै भारतकै शरणमा बस्ने, रत्नपार्कको टुँडिखेलमा भाषण गर्दा प्रभुको अगाडि नझुक्ने स्यालहुइयाँ गर्ने तर भाषण सक्नासाथ आफ्नो दरबार लाजिम्पाट नपुग्दै भारतीय दूतावास लैनचौर ढोगेर (साष्टाङ्ग दण्डवत् गरेर) चुनावी खर्च लिन भ्याउने प्रचण्डको केमेस्ट्री मिल्दोजुल्दो नै छ । यिनीहरूबाट नेपाल राष्ट्रको भूमि सुरक्षित हुन्छ, लिपुलेक–कालापानी बच्छ, जनतालाई सुख, समृद्धि र अधिकार प्राप्त गर्न सक्छन् भन्नु र गोरु ब्याउनु एउटै कुरा हो । इतिहासमै कमजोर राष्ट्रियता, जनतन्त्र, जनजीविका पुर्याएको केपी–पीके सरकारको नेतृत्व जजसले गरे पनि कामी काले र काले कामी एउटै हो । हिटलरको सञ्चारमन्त्री डा. गोयबल्स जसले एउटै झूटलाई सयौँपटक दोहोर्याएमा सत्य हुन्छ भन्थे त्यस्तै केपी गुटका सञ्चारमन्त्री गोकुल बास्कोटाहरू र आसेपासे यसपटक सम्भ्रान्त बन्नु अर्कोपटक अर्को गुटको किचेन क्याबिनेट सम्भ्रान्त बन्नुबाहेक नागरिकले पाउनुपर्ने नैसर्गिक अधिकार केही पाउने स्थिति छैन । यो पार्टी र यिनीहरूले गरेको कार्य, स्कुलिङ नियाल्दा २०५१ सालदेखि निरन्तर राष्ट्रको दोहन गर्ने काङ्ग्रेसपछि दोस्रो पार्टी एमाले हो । ०६२/०६३ पछि सरकारमा पुगेर राष्ट्र दिनदहाडै लुट्न तल्लीन पुष्पकमलको पार्टी एकीकरण भागबन्डा लगाएर राष्ट्र र जनतालाई लट्नुमै सीमित छ । राष्ट्रघाती महाकाली सन्धिका खलनायक खड्प्रसाद ‘नेता मदन भण्डारीको हत्या’, ‘सहिदपत्नी ताक्ने’ जस्ता आफ्नै नेता–कार्यकर्ताले लगाएका आरोप र उठाएका प्रश्नको जबाफ दिन तयार छन् ? प्रायः असम्भव छ । आज यिनीहरू नेपाललाई कम्युनिस्ट मुलुकतर्फ त कुरै छोडौँ, पुँजीवादी मुलुकतर्फ लान पनि सक्दैनन् । केपी सरकार दलाल पुँजीको हरतरह पक्षपोषण गर्नमा व्यस्त छ । दलालहरूले mcc पास गर्नु कान्छीऔँलाको खेल ठानेका छन् । यो पास भएमा अनौठो मान्नुपर्ने छैन । आज यिनीहरूले राष्ट्रवादी, देशभक्त, क्रान्तिकारी शक्तिलाई प्रतिबन्ध लगाउँदै आफ्नो असली अनुहार जनतासमक्ष पेस गरेका छन् । सर्लाहीमा कुमार पौडेल, भोजपुरमा तीर्थ घिमिरे, ओखलढुङ्गामा निरकुमार राईको गिरफ्तारीपछि हत्या गर्दै केपीको जङ्गी घोडा ‘बादल‘ सामाजिक फासिवादको अभ्यास गरिरहेको छ । जनताको अगाडि बादशाह घोडाबाट खसेको इतिहास साक्षी छ । तिमीहरूले क्रान्तिकारी योद्धाहरू चुँड्न सक्छौँ तर क्रान्ति चुँड्न सक्दैनौ । वसन्तको फूल चुँडाल्न सक्छौ तर वसन्त नै रोक्न सक्दैनौ । क्रान्तिकारी जनताको अगाडि फासिवादको पतन अवश्यम्भाबी छ । चेतना भया !

घ) नेपाल कम्युनिस्ट पार्टी

‘क्रान्ति गर्ने हो भने क्रान्तिकारी पार्टी हुनैपर्छ ।’

माओ त्सेतुङ

मा–ले–मा–वादको प्रस्ट पथप्रदर्शक सिद्धान्त अङ्गीकार गर्दै लामो वर्गसङ्घर्ष र अन्तरसङ्घर्षको टक्करबाट २०७१ साल मङ्सिर ८ गते अलमलमा परको वैद्ये र प्रचण्ड/बाबुरामद्वारा विसर्जित माओवादी खरानीबाट सुविधा र अवसरहरूलाई सचेततापूर्वक त्याग्दै महासचिव क. विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको छ । सही कार्यदिशाका साथै सही नेतृत्व हुनु वा नहुनुले धेरै कुराको फैसला गर्छ भन्ने मान्यता अघि सार्दै यो पार्टी श्रमजीवी नेपाली जनताका बीच भर्भराउँदो तरिकाले आशा र भरोशाको एक मात्र केन्द्र बन्दै छैटौँ वर्षमा प्रवेश गरिरहेको छ । यो पार्टीजीवन थुप्रै उतार–चढाव, हण्डर–ठक्कर, घात– प्रतिघात, दमन र प्रतिबन्ध, गिरफ्तारी–हत्यासम्मको सामना गर्दै अगाडि लम्किरहेको छ । यो पार्टी गठन दुनियाँले देख्ने र सुन्ने गरी काठमाडौँको खुलामञ्चमा भव्य उद्घाटनबाट भएको हो । आफ्नै श्रममा निर्मित रोल्पा थबाङको भव्य हलमा व्यवस्थित बन्दसत्र गरी पार्टीको ८ औँ महाधिवेशन सम्पन्न गरेका छौँ । यसै महाधिवेशनले नेपाली क्रान्तिको स्वरूप ‘एकीकृत जनक्रान्ति’ को माध्यमद्वारा वैज्ञानिक समाजवाद प्राप्त गर्न सकिन्छ भन्ने नयाँ विचारको प्रक्षेपण गरेको छ । महासचिवद्वारा प्रस्तावित उक्त नयाँ विचार थबा ङहलमा १ सातासम्म व्यापक छलफल, बहस, अन्तरक्रिया, प्रस्टीकरणसहित एकमतले तालीको लामो ध्वनिका साथ पास गरियो । यही विचारको आलोकमा हाम्रो पार्टी अगाडि बढिरहेको छ । हाम्रो पार्टीले प्रस्ट गरेको छ– एकीकृत जनक्रान्ति जनयुद्धको पुनरावृत्ति (रिपिटिसन) होइन । यो त जनयुद्धको विकास र समृद्धिसहितको बृहत् कार्यदिशा हो । यस कार्यदिशाले नेपालको वर्तमान राजनीतिक, सामाजिक आर्थिक, सांस्कृतिक र भौगोलिक विशेषताहरूलाई सूक्ष्म ढङ्गले औँल्याएको छ ।

एकीकृत जनक्रान्तिका निम्ति– नेपाल एक भूपरिवेष्ठित मुलुक हुनु, गाउँ–सहरको दूरी नजिकिँदै जानु, निम्नवर्ग र मध्यम वर्गको विशेषता, जात– जाति, धर्म–भाषा, भूगोललाई अन्धराष्ट्रवादी, जातिवादी, धर्म–भूगोलवादी नभई वर्गीय चिन्तन र कम्युनिस्ट विचारद्वारा सही नेतृत्व प्रदान गर्ने, भौतिक विज्ञान र इलेक्ट्रोनिक प्रविधिको विकास र अन्तर्राष्ट्रिय सम्बन्धबारे दस्ताबेजमा प्रस्ट हुँदाहुँदै केही भगौडा कुडाकर्कटले दुस्मनको कित्तामा पुगेर थबाङ कार्यदिशाबारे विषबमन गरिरहेका छन् । थबाङ महाधिवेशनमा आफैँले कपाल पकाउँदै निकालेको निष्कर्ष– प्रचण्ड/बाबुरामद्वारा क्रान्तिको ‘विसर्जन’ ‘धोका’– आफैँलाई लागू गर्दै मजाकको साधन र जोक्कर बनिरहेका छन् । हो चि मिन्हले भनेझैँ ‘गद्दारले धोका दिन्छ, कायरले घुँडा टेक्छ, बहादुरले सामना गर्छ’ नेकपा हरेक चुनौतीको सामना गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशामा अडिक र दृढतापूर्वक अघि बढिरहेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशा व्यावहारिक र वस्तुवादी बन्दै गएको छ । यसले नेपाली श्रमजीवी जनताको आकर्षण पैदा गरेको छ । हामी यही कार्यदिशामार्फत नेकपाको नेतृत्वमा वैज्ञानिक समाजवाद ल्याइछोड्न दृढतापूर्वक अगाडि बढिरहेका छौँ ।

निष्कर्ष : वैज्ञानिक समाजवाद

‘माक्र्सवादको सैद्धान्तिक विजयले यसका शत्रुहरूलाई माक्र्सवादको मुकुण्डो लगाउन बाध्य गर्दछ ।’

– लेनिन

भ्ला ई लेनिनले भनेझैँ आज कम्युनिस्टको खोल ओढेर कम्युनिस्टलाई प्रतिबन्ध लगाउने, समाजवादको खोल ओढेर समाजवादलाई नै विरूप– कुरूप पार्ने कार्य प्रतिक्रियावादी र संशोधनवादीहरूले गर्दै आएका छन् । नेपालमा यसको अगुवाइ सरकारी डबल नेकपाले गर्दै आएको छ । डबल नेकपा दलाल पुँजीवादको संस्थागत अभ्यास गर्दै अगाडि बढेको छ । हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपालमा वास्तविक वैज्ञानिक सामाजवाद प्राप्तिका निम्ति सङ्घर्ष गरिरहेको छ । वैज्ञानिक समाजवादप्रति भ्रमित नहुन निम्नप्रस्थापना आत्मसाथ गर्न जरुरी छ :

• सर्वप्रथम– सिद्धान्तबिनाको व्यवहार अन्धो हुन्छ । व्यवहारबिनाको सिद्धान्त लँगडो हुन्छ भनेझैँ आजका कम्युनिस्टहरूले मालेमावादलाई पथप्रदर्शक सिद्धान्त अङ्गीकार गर्नुपर्छ । वर्गीय पक्षधरता स्वीकार गर्नुपर्छ । उत्पीडित, श्रमजीवीका पक्षमा आफूलाई उभ्याउनुपर्छ र बल प्रयोगको सिद्धान्त अवलम्बन गर्नुपर्छ ।
• दोस्रो– वैज्ञानिक समाजवादको आधार सुकुमबासीका समस्या सम्बोधनबाट आरम्भ गर्नुपर्छ ।
• तेस्रो– श्रमिकहरूका समस्या र किसानका समस्या सम्बोधन गर्नुपर्छ ।
• चौथो– स्वास्थ्य–शिक्षा निःशुल्क राज्यले प्रदान गर्दै जानुपर्छ ।
• पाँचौँ– कलकारखाना, उद्योगधन्दा राज्यको मातहत हुनुपर्छ ।
• छैटौँ– सम्पूर्ण निजी सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।
• सातौँ– सम्पूर्ण नागरिकको नैर्सगिक अधिकार– गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार–राज्यले प्रदान गरी नागरिकको सम्पूर्ण जिम्मा लिनुपर्छ ।

काम, कामअनुसार माम, शोषणविहीन, मुनाफाको लुटरहित समाज नै वैज्ञानिक समाजवाद हो । नेपाली जनताले यही सक्कली कम्युनिस्ट व्यवस्था प्राप्तिका निम्ति २००६ सालदेखि नै ठूलाठूला सङ्घर्ष र बलिदान गर्दै आएका छन् । नेतृत्वको निजी स्वार्थ, बेइमानी, धोकाधडीका कारण ६५ प्रतिशत नेपाली जनताले कम्युनिस्टप्रेमी हुँदाहुँदै समाजवादको सुन्दर व्यवस्थाबाट वञ्चित हुनुपरेको छ । आउनुहोस् नक्कली समाजवादको मुकुण्डो च्यात्दै दलाल पुँजीवादका विरुद्ध सङ्घर्ष गरौँ– वैज्ञानिक समाजवाद प्राप्त गरौँ । जित सत्यको हुनेछ । अन्तिम जित जनताका पक्षमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :