रातो खबरका प्रबन्धनिर्देशक चापागाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश


काठमाडौँ : गत शनिबार गिरफ्तार गरिएका रातो खबर साप्ताहिकका प्रबन्धनिर्देशक एवम् पत्रकार भीमप्रसाद चापागाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटउपर बिहीबार बहस हुँदैछ । पत्रकार विनोद श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटउपर आइबार भएको बहसमा न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले कारण देखाऊ आदेशको माग गर्दै बन्दीलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएपछि बिहीबारका लागि पेसी तोकिएको हो ।

पत्रिकाको कामको सिलसिलामा रहेको बेला गत शनिबार चापागाईंलाई काठमाडौँको नक्सालबाट प्रहरीले गिरफ्तार गरेको थियो । मिडिया सम्बद्ध व्यक्तिलाई गिरफ्तार गरेको भन्दै नेपाल पत्रकार महासङ्घले त्यसको घोर निन्दा एवम् भत्र्सना गरेको छ । महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसीले समाचार लेखेकै कारण र फरक राजनीतिक आस्था राखेकै आधारमा रातो खबरका प्रबन्धनिर्देशक एवम् पत्रकार भीम चापागाईंलाई गिरफ्तार गरिएको भन्दै जनपक्षीय मिडियामाथिको आक्रमण महासङ्घलाई सह्य नहुने बताए । साथै उनले मिडियामाथिको आक्रमण निन्दनीय र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको भन्दै चापागाईंलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :