रक्तपिपासु अमेरीकी साम्राज्यवादको प्रतिरोध गरौं

काठमाडौँ : अमेरिकाले गतसाता इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीलगायत ८ जनाको अनाहकमा ड्रोन हमला गरी हत्या गरेको छ । अमेरिकी साम्राज्यवादका पिछलग्गुबाहेक सबैले यो घटनाको निन्दा र भत्र्सना गरेका छन् । यो उत्तरसाम्राज्यवादको पछिल्लो सैन्यउन्माद हो । महाभियोगको सामना गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुनियाँको ध्यान विकर्षित गराउन र अन्यत्र मोड्न यस किसिमको अत्यन्त घृणित एवम् निन्दित नरसंहार मच्चाएर युद्धपिपासु साम्राज्यवादको नाङ्गो नाच नाचेका छन् । साम्राज्यवादको दलाली नगरी स्वतन्त्र रूपमा बाँच्न पाउने नागरिक र राष्ट्रको अधिकारमाथिको साम्राज्यवादी हस्तक्षेप र रक्तपिपासु कार्य अत्यन्त निन्दा एवम् भत्र्सनायोग्य छ ।

यो घटनाले विनाशकारी शक्तिको उन्मादमा रहेको अमेरिकी उत्तरसाम्राज्यवादलाई मृत्युको मुखतिर कुतकुत्याइरहेको देख्न सकिन्छ । राष्ट्रवादी इराकी शासक सद्दाम हुसेनलाई समाप्त नपारेसम्म कुवेतमा रहेको अथाह तेलभण्डार कब्जा गर्न नसक्ने भएपछि इराकमा पारमाणविक शस्त्रास्त्र भएको मिथ्या प्रचार गर्दै स्वतन्त्र इराकलाई नष्ट पारेको अमेरिकी साम्राज्यवाद अब फेरि इरानतिर सरेको छ र अनावश्यक रूपमा इरानी सैन्य बलका प्रमुख सुलेमानीसहित आठजनाको नृशंस हत्या गर्दै आफ्नो रक्तपिपासु अनुहार झनै उदाङ्गो पारेको छ । सर्पले आधा निलेर मर्ने बेलामा पुगेको भ्यागुतोले आफूअघिल्तिरबाट उडेको झिँगा सासले तानेझैँ अन्तरविग्रह, साम्राज्यवादको मरणोन्मुख चरित्र र विश्वक्रान्तिको ज्वारभाटाका कारण मृत्युशैय्यामा छट्पटाइरहेको अमेरिकी साम्राज्यवादी उन्माद छिटो अन्त्य हुने लक्षणहरू पनि देखिएका छन् । करोडौँ इरानी जनताले ट्रम्पको हत्याको बदला लिएरै छोड्ने उद्घोष गरेका छन् भने उनको टाउकाको मूल्य पनि तोकिएको छ । यसले पश्चिमएसियामा साम्राज्यवादले फेरि एकपटक युद्धको चक्र थोपरेको छ भने हजारौँ निर्दोष नागरिक अनाहक युद्धमा फस्ने र मारिने खतरा बढेको छ ।

साम्राज्यवाद उसै पनि रक्तपिपासु नै हो । अझ अमेरिकी साम्राज्यवाद त डरलाग्दो गरी रक्तपिपासु साबित भएको छ । मानव रक्तपिपासु बनेको छ साम्राज्यवाद । मृत्योन्मुख अमेरिकी साम्राज्यवादले संसारभरका नागरिकलाई तहसनहस पारेको छ । अमेरिकी साम्राज्यवादले विगतदेखि नै संसारभर युद्ध थोपर्दै र लाखौँ नागरिकको नरसंहार गर्दै आएको छ । उसले यही शताब्दीमा पनि अनाहकमा राष्ट्रवादी इराकी शासक सद्दाम हुसेनको कारयतापूर्वक हत्या ग¥यो । अमेरिकी साम्राज्यवादले मुख्य खतराका रूपमा लिएका अमेरिकी जुम्ल्याहा भवनमा उनीहरूकै मुलुकका हवाईजहाज ठोक्काएर साम्राज्यवादको हुर्मत लिने र सेखी तोड्ने बिन लादेनको हत्या ग¥यो । अफगानिस्तानलाई तहसनहस पा¥यो । इराकमा सद्दाम हुसेनको हत्या गरेर कठपुतली उभ्यायो । सिरियामा युद्धको ताण्डव मच्चाइरहेको छ । शक्तिशाली हतियार निर्माण नगरेको भए जनगणतन्त्र कोरियालाई खाइसक्ने थियो । हिजो सद्दाम र बिन लादेनहरूको हत्या गर्दा खुच्चिङ गरेका र मुख मिठ्याइरहेकाहरू बल्ल अब साम्राज्यवादी काल आआफ्नो घरमा छिरिरहेको अनुभूति गरिरहेका छन् तर पनि उनीहरूले चेतेका छैनन् । साम्राज्यवाद भनेकै युद्धपिपासु चरित्र हो भन्ने नचेतेसम्म र उसलाई पराजित नगरेसम्म विश्वले नै यो नियति बेहोरिरहनुपर्ने देखिएको छ ।
अमेरिकी साम्राज्यवादले दक्षिणएसियामा छिरेर नेपाललाई पनि आतङ्ककारीको सूचीमा राखेको छ । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद निर्माणमा लागिरहेको नेकपाले यसको कडा प्रतिवाद गरेको छ । अमेरिकी साम्राज्यवादले नेपाललाई सैन्य अखडा बनाउने एमसीसी आर्थिक प्याकेजको ललीपप देखाउँदै नेपालबाट चीनलाई नियन्त्रण गर्ने अत्यन्त खतरनाक षड्यन्त्र गरिरहेको छ तर हाम्रा शासकहरू भने हरियो घाँसमा लोभिइरहेका छन् । यो निन्दनीय छ । यस्तो नाङ्गो हस्तक्षेप र आक्रमण देखेर पनि केही नबोल्ने र देखेको नदेख्यै गर्ने लम्पसारवादी, दास मनोवृत्ति रहेसम्म युद्धको खतरा, साम्राज्यवादी हस्तक्षेप र आक्रमणको खतरा टर्दैन । हाम्रा कठपुतली शासकहरू साम्राज्यवादी नाङ्गो हस्तक्षेप र आक्रमणमा पनि मुखमा बुजो हालेर बसेका छन्, बोल्दैनन् किनकि उनीहरू आफैँ बफादार कुत्ताको व्यवहार गरिरहेका छन् । आफ्नो देश लुटिँदा नबोल्ने, पचास अर्ब रुपैयाँका लागि सैनिक गठबन्धन नै स्वीकार्ने र दास बन्न तयार हुने यी नयाँ भेषका लेन्डुपहरू हुन् । साम्राज्यवादसँगै यिनको पनि समाप्ति आवश्यक छ ।

हरेक स्वतन्त्रताप्रेमी मुलुक र जनताले डटेर प्रतिरोध नगरेसम्म साम्राज्यावदी दारा–नङ्ग्रा भाँचिँदैनन् । भियतनाम, जनगणतन्त्र कोरिया, क्युबालगायत मुलुकबाट पत्तासाफ हुने गरी भागेको साम्राज्यवाद फेरि इराकी जनताको रगतको स्वादसँगै इरानमा पल्किएको छ । यो संसारभरकै स्वतन्त्रताप्रेमी, स्वाभिमान राष्ट्र र जनताको चासोको विषय हो ।

भारतीय साम्राज्यवाद अर्को प्रतिरोधयोग्य प्रवृत्ति हो । एसिया र विशेषगरी दक्षिणएसियामा उन्माद देखाइरहेको भारतीय साम्राज्यवाद पनि निरन्तर पतनोन्मुख हर्कत गरिरहेको छ । दक्षिणएसियामा कुनै पनि मुलुक भारतीय साम्राज्यवादबाट आहत नभएको अवस्थामा छैनन् । नेपाली भूमि नै हडपेको भारतीय साम्राज्यवाद पारमाणविक शस्त्रास्त्र भएकै कारण मात्र पाकिस्तानसँग भयभीत छ । अन्यथा सिक्किम र भुटानलाई जस्तै उसले यस क्षेत्रका अन्य मुलुकलाई कि निलिसक्ने थियो कि त पङ्गु बनाएर राख्ने थियो । अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र समग्र साम्राज्यवादी रक्तपिपासु प्रवृत्तिका विरुद्ध एकीकृत सङ्घर्ष गर्नु र तिनलाई पराजित गरी स्वतन्त्र हुनु आजको विश्वका सामु प्रमुख दायित्व बनेको छ ।

२०७६ पुष २२ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :