म ठूलो जेलमा छु कमरेड

तिमी गोलघरमा छौ ।
म खुला आकाशमा रहेर पनि कैदी
तिमी बन्द कोठाको कैदी…
फरक यति छ
तिमीलाई आफू गुमनाम लाग्छ
मलाई म असुरक्षित लाग्छु ….
तिमी गोलघरभित्र बन्दी बनेका छौ
म खुला आकाशमुनिको प्रतिबन्धित मान्छे
तिमीले गोलघरमा भोगेको यातना सुन्छु
लाग्छ म बारुद भएर पनि पड्किन सकिनँ
तिमी त अर्कैको कब्जामा छौ कमरेड
तिमीले चिसो छिँडीमा काटेका रात सम्झन्छु
त्यस्तै चिसो रात मैले जङ्गलमा काटेको छु…
तिमीले गोलघरभित्र नुन नलागेको तरकारी सम्झँदै गर्दा
म पनि भोकभोकै हिँडेर गिठा, भ्याकुर खाएको सम्झन्छु ।
म ठूलो जेलमा छु कमरेड
तिमी गोलघरमा छौ
तिमीले दुस्मनको लाठी सहँदै गर्दा
मैले सुखी जीवन जिएको छैन कमरेड
तिमीले नुन नलागेको दालभात खाँदै गर्दा
म सुखले मात्तिएको छैन कमरेड ।
तिमीले लाठीको डर मान्दै गर्दा
म दुस्मनका पेस्तोलको निशानामा छु
त्यसैले म भन्छु–
म ठूलो जेलमा छु कमरेड ।
तिमी गोलघरमा छौ
तिम्रो सपना, मेरो सपना अनि हाम्रो सपना
यो नेपाल आमाको साझा सपना हो कमरेड
यो सपान हामीले पूरा गर्नुपर्नेछ
तिमीले गोलघरभित्र लाठी सहँदा
म बाहिर छातीमा बन्दुक थाप्न तयार छु
तिमी भित्र असह्य पीडा सहनू
म बाहिर सहिद बन्नु परे बनौँला
तिमी बसेको गोलघरभन्दा
म बसेको खुला आकाश झनै असुरक्षित छ
त्यसैले तिमीले आत्मसमर्पण नगर्नू
तिमी कायर होइनौ
तिमी क्रान्तिकारी हौ
तिमी नेपाल आमाका सपूत हौ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :