सरकारी प्रतिबन्धको प्रतिरोध गर्दै मिथिला स्वायत्त प्रदेश जनप्रतिनिधिसभाको अधिवेशन


काठमाडौँ : सरकारी प्रतिबन्धको प्रतिरोध गर्दै मिथिला स्वायत्त प्रदेश जनप्रतिनिधिसभाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको उद्घाटनसत्र जनप्रतिनिधिसभाकी अध्यक्ष मिथिला चौहानको अध्यक्षतामा सम्पन्न भएको हो । बन्दसत्रको अध्यक्षता जनप्रतिनिधिसभाकी नवनिर्वाचित अध्यक्ष प्रमिला थिङले गरेकी थिइन् ।

आइतबार सम्पन्न अधिवेशनले ११ सदस्यीय मिथिला स्वायत्त प्रदेश जनपरिषद् गठन गरेको छ । २ स्थान रिक्त रहेको जनाइएको छ । जनपरिषद् प्रमुखमा महेन्द्र मण्डल, उपप्रमुखमा भक्तबहादुर कार्की र सदस्यहरूमा रामनाथ मण्डल, करण यादव, रामकुमारी महरा, उमेश सिंह, चेतनारायण मुखिया, विमला भट्टराई र विकल्प लामा रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य पौडेलले वर्तमान दलाल संसदीय पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता स्थापनामा अघि बढ्नुपर्ने बताए । उनले वर्तमान दलाल संसदीय पुँजीवादी सत्ताले विकास र समृद्धिका नाममा भ्रष्टाचार, दलालीकरण, महँगी, हत्यालगायत जघन्य अपराध गरिरहेको पनि बताए । उनले वैज्ञानिक समाजवादी सत्ताले मात्रै जनताको न्याय गर्ने धारणा राखे । जनसत्तालाई सुदृढ गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको मार्गमा अघि बढ्न सम्पूर्ण उत्पीडित जनता, वर्ग र जनसमुदायलाई उनले आग्रह गरे ।

अधिवेशनमा नेकपाका केन्द्रीय सदस्य सरल, ब्युरो सदस्यहरू शिखर, अमर, अकेला, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य झलकलगायतले शुभकामना मन्तव्य राखेका थिए । अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक र ताम्सालिङ स्वायत्त प्रदेशका प्रतिनिधि कपिलले नवनिर्वाचित जनपरिषद्लाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

२०७६ मंसिर १२ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :