होस्टलमा आफैँले हतियार राखेर प्रहरीले विद्यार्थीलाई फसाउन खोज्यो : चन्द


काठमाडौँ : चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले प्रहरी र प्रशासन मिलेर होस्टलमा हतियार राखी तस्बिर खिचाएर विद्यार्थीलाई फसाउन खोजेको र सरकारले मेडिकल माफियाको स्वार्थमा फसेर विद्यार्थी र अभिभावकको घाँछी रेटिरहेको बताएका छन् । चन्दले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राज्य विद्यार्थीलाई न्याय दिनुको साटो आज डरलाग्दो षड्यन्त्रसहित विद्यार्थी, अभिभावक र जनताविरुद्ध मेडिकल माफियाको संरक्षणका खातिर आफ्नो घिनलाग्दो नाङ्गो हस्तक्षेपमा उत्रेको छ । यस्तो घिनलाग्दो षड्यन्त्रको भन्डाफोर गर्दै प्रतिकार गर्न र मेडिकल माफियालाई जरैबाट उखेलेर फाल्दै सर्वसुलभ मूल्यमा चिकित्सा शिक्षा हासिल गर्ने र सबै जनताका छोराछोरी डाक्टर बन्ने सपना साकार पार्न सबै विद्यार्थी, युवा, बुद्धिजीवी, पत्रकार, स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीहरूमा अपिल गर्न चाहन्छु ।’

संयोजक चन्दको विज्ञप्तिको आरम्भमै भनिएको छ, ‘नेपालमा मेडिकल शिक्षा र स्वास्थ्य सेवा दिनानुदिन निकै भयावह र कहालीलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । कम्युनिस्ट भनिने दुई तिहाइको सरकार कहिले समाजवाद उन्मुख भन्छ त कहिले सुखी नेपाली समृद्ध नेपालको ढोङ पिट्छ तर यहाँ दिनदाहडै निर्मला बलात्कृत हुन्छिन्, दिनदाहडै सस्तो एप्रोनलगायत विद्यार्थी कुटिन्छन्, बन्धक बनाइन्छन् । मेडिकल शिक्षा लिइरहेका हजारौँ विद्यार्थीले चिकित्सा शिक्षा सङ्घर्ष समिति बनाएरै मेडिकल माफिया, भ्रष्ट र दलालका विरुद्ध र राज्यले गरेको निर्णय लागू गराउन सङ्घर्षमा होमिएको आज ३ महिनाभन्दा बढी भइसक्यो भने डा. गोविन्द केसी १७ औँ पटकसम्म जीवन–मरणको अनशन बसिसकेका छन् । सङ्घर्षका क्रममा विद्यार्थीलाई कहिले प्रहरी प्रशासन लगाएर कुटियो, धम्की दिइयो त कहिले भारतीय गुन्डाहरूको प्रयोग गरी मरणासन्न हुनेगरी कुटियो ।’

चन्दले अगाडि भनेका छन्, ‘राज्य न मेडिकलसम्बन्धी शिक्षा नीति बनाउन सक्छ, न त गरेको निर्णय लागू गर्न सक्छ । सरकार आज मेडिकल माफियाको अगाडि लम्पसार परेको छ । चुनावमा लिएको पैसाका कारण आज सरकारका जिम्मेवार व्यक्तिहरू मेडिकल माफियाका अगाडि रोइकराइ गरिरहेका छन् । राज्य नै माफियाले चलाएको छ र राज्य नै आज यो सङ्घर्षका विरुद्ध, विद्यार्थीका विरुद्ध, अभिभावकका विरुद्ध जस्तोसुकै षड्यन्त्र गर्न तयार छ र गरिरहेको छ । प्रहरी प्रशासनको कार्य सम्पादनप्रति न विद्यार्थीको भरोसा छ, न त अभिभावक र जनताहरूको किनकि प्रहरी प्रशासनलाई आज माफियाले राज्यमार्फत आफ्नो अनुकूलतामा निमुखा जनतालाई दमन गर्ने, फसाउने, दबाउने साधनका रूपमा प्रयोग गरेको छ । यस्तै षड्यन्त्र आज चितवन मेडिकल कलेजमा प्रहरी प्रशासनले माफियाको इसारामा विद्यार्थी र माफियाविरुद्धको सङ्घर्ष समाप्त पार्नका लागि गरेको छ । कैलाशनगरमा रहेको सीएमसीको होस्टलमा बिहानबाट कलेजका कर्मचारी अरुण कोइराला र प्रिन्सिपल ममता तिवारी घुमिरहेका थिए । सँगै प्रहरी पनि बर्दी र सादा पोसाकमा थिए ।’

घटनाबारे जानकारी दिँदै चन्दले भनेका छन्, ‘आज ८ गते हुन लागेको मेडिकल माफियाविरुद्धको विशाल विरोध¥याली र विरोधसभाको काम मैले साथीहरूको सहयोगमा गरिरहेको थिएँ । सबै काम सकिएपछि होस्टलबाट साथीहरूले भोलिको कार्यक्रमका लागि छलफलमा बोलाउनुभयो र म त्यता हिँडेँ । होस्टल अरू बेलाजस्तै सामान्य थियो म सीधै होस्टलनजिक बीडीएस हलमा गएँ । त्यहाँ ब्यानर र पम्पलेट बनाइरहेका साथीहरूसँग भेटेँ र एकछिन छलफल गरेँ । झन्डै ३५ मिनेट भएको थियो । गार्ड दाइ आउनुभयो र तपाईं र प्रविनलाई मूल गेटमा प्रहरीले बोलाएको छ भन्नुभयो म । साथीहरूसहित गएँ । त्यहाँ बाक्लो प्रहरी थियो । मलाई साथीहरूले त्यता जान दिनुभएन । म फर्किएँ । मैले एकजना प्रहरीसँग यो के गर्न खोजेको भनेर सोधँे । उनले भने– धेरै सेन्सेटिभ छ । अवैध सामानसहित मान्छे छिरेको छ र तपाईंलाई पक्राउ गर्ने भन्ने माथिको आदेश छ । उनले यसो भनेलगत्तै माफियाको मतियार एवम् बाच प्रिन्सिपल ममता तिवारी, अरुण कोइराला र प्रहरीहरू टिटी कोटतिर गएर त्यहाँ रहेका अन्य सादा पोसाकका प्रहरीले केही सामान राखेर फोटो खिचिरहेका थिए । त्यति देखेपछि म अर्को बाटोबाट बाहिर निस्किएँ र केही समयपछि होस्टलमा हतियार भेटियो भन्ने भ्रमपूर्ण र षड्यन्त्रपूर्ण समाचार बाहिर ल्याइयो । हो, यही षड्यन्त्र थाहा पाएर म बाहिर निस्किएको थिएँ । केहीबेर विद्यार्थी भित्र नै बन्धक बनाइएका थिए । हिजोसम्म मौन बसेको राज्य विद्यार्थीलाई न्याय दिनुको साटो आज डरलाग्दो षड्यन्त्रसहित विद्यार्थी, अभिभावक र जनताविरुद्ध मेडिकल माफियाको संरक्षणका खातिर आफ्नो घिनलाग्दो नाङ्गो हस्तक्षेपमा उत्रेको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यस्तो घिनलाग्दो षड्यन्त्रको भन्डाफोर गर्दै प्रतिकार गर्न र मेडिकल माफियालाई जरैबाट उखेलेर फाल्दै सर्वसुलभ मूल्यमा चिकित्सा शिक्षा हासिल गर्ने र सबै जनताका छोराछोरी डाक्टर बन्ने सपना साकार पार्न सबै विद्यार्थी, युवा, बुद्धिजीवी, पत्रकार, स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीहरूमा अपिल गर्न चाहन्छु ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ मंसिर ८ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :