नेकपाद्वारा देशव्यापी रूपमा छैटौँ पार्टी पुनर्गठन दिवस मनाउदै

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले छैटौं पार्टी पुनर्गठन दिवस देशव्यापी रूपमा ब्यानर टाँगेर सुभारम्भ गरेको छ । दलाल सत्ताको विरुद्ध–वैज्ञानिक समाजवादी सत्ता स्थापना गरौं ! छैटौं पार्टी स्थापना दिवस भव्य रूपले मनाऔं !! एकीकृत जनक्रान्ति–जिन्दावाद !!! भन्ने मुल ब्यानरसहित शुभकामना अपिल, पोस्टर, पम्प्लेट वितरण गर्दै छैटौं पार्टी पुनर्गठन दिवसको अवसरमा दाङ जिल्लाले १७ वटा फरक फरक स्थानमा ब्यानर टाँगेर जिल्लाव्यापी रूपमा छैटौँ पार्टी पुनर्गठन दिवस मनाउन उद्घाटन गरेको छ । दाङको देउखुरीका विभिन्न एरिया, घोराही, तुलसीपुर र पश्चिम क्षेत्रमा गरी १७ ठाउँमा ब्यानर टाँगेको जनाएको छ ।

महान् जनयुद्ध र त्यसको नेतृत्व गरेको माओवादी पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक सबै रूपले विसर्जन भएपछि २०६९ साल असारमा माओवादी धाराको पुनर्गठन भएको थियो । मोहन वैद्य ‘किरण’को नेतृत्वमा गठित उक्त पार्टी पनि अगाडि बढ्न नसकेपछि त्यहाबाट विद्रोह गरेर २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा पार्टी पुनर्गठन भयो । त्यसयता नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनद्वारा ‘एकीकृत जनक्रान्ति’ कार्यदिशा पारित गर्याे । सोही कार्यदिशाअनुसार नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवादी क्रान्तिको काम अगाडि बढिरहेको छ । अर्को पक्ष के पनि छ भने २०५८ सालमा मङ्सिर ८ गते नै जनमुक्ति सेना औपचारिक रूपले घोषणा गरिएको थियो । त्यसकारण मङ्सिर ८ गते जनमुक्ति सेना दिवस पनि हो । जनमुक्ति सेना दिवस र पार्टी पुनर्गठन दिवस एकै दिन परेको यो सुखद संयोग पनि रहेको छ । त्यसैलाई स्मरण गर्दै नेपाल कम्युनिस्ट पार्टीले यसअघि नै छैटौं पार्टी स्थापना दिवसलाई देशव्यापी रूपमा साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरि मनाउने उद्घोष गरिसकेको छ । अपिल….

                                                                         छैटौँ पार्टी पुनर्गठन दिवस

                                                 वैज्ञानिक समाजवादी सत्ता निर्माणका लागि अगाडि बढौँ

आदरणीय जनसमुदाय !

मङ्सिर ८ हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको छैटौँ पुनर्गठन दिवस हो । हाम्रा निम्ति यो सुखमय, पवित्र एवम् गौरवपूर्ण दिवस हो । यो सुखद दिवस हामी तपाईंहरूसँग मिलेर खुसी, उमङ्ग र भव्यताका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन चाहन्छौँ ।

यो वर्षको पार्टी स्थापना दिवस विगतको भन्दा फरक जीवनमा उभिएर अर्थात् प्रतिबन्ध र प्रतिरोध, उत्साह र गम्भीरता, गौरव र पीडा, बलिदान र प्रतिबद्धतासहित मनाउँदैछौँ । पार्टीलाई सहिद, बेपत्ता, घाइतेको सपना र क्रान्ति पूरा गर्ने, श्रमिक जनताको सत्ता प्राप्त गर्ने पार्टी बनाउन पाएकोमा खुसी र उमङ्गित छौँ भने कमरेड कुमार पौडेल, कमरेड महान, कमरेड नीरकुमार राईसहित एक दर्जन कमरेड गुमाउनुका साथै कमरेड सुदर्शन, कमरेड वीरजङ्ग, कमरेड रणवीर, कमरेड माइला, कमरेड प्रज्वलन, कमरेड हितमान, कमरेड सुवास, कमरेड बन्धुसहित सयौँजना कमरेडहरू जेल र हिरासतमा हुँदाको पीडा पनि अनुभव गरिरहेका छौँ । महान् सहिदहरूलाई हार्दिक श्रद्धाञ्जली साथै बन्दी कमरेडहरूप्रति अभिनन्दन गर्न चाहन्छौँ ।

केपी सरकार बनेपछि उनी र उनको समूहको सानो जत्थाको उत्ताउलो आत्मप्रशंसाबाहेक कसैले पनि उन्नति, प्रगति, सुशासन र स्वाधीनताको अनुभूति गरेका छैनन् । देशको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक क्षेत्रहरू दिनप्रतिदिन बर्बाद हुँदै गएका छन् । राजनीतिक रूपले पार्टी खोल्ने, विचार राख्ने, सभा–सम्मेलन गर्न पाउने, विरोध र आलोचना गर्न पाउने अधिकार खोसिएको छ । राणा शासनलाई उछिन्दै जुलुसलाई समेत प्रतिबन्ध लगाइएको छ । आर्थिक रूपले जति नै सुख–समृद्धिको हल्ला पिटे पनि युवा पलायन, बेरोजगारी, उत्पादनमा ह्रास, निर्यातमा घाटा बढ्दै गएको छ । भ्रष्टाचारमा त यो सरकारले उछिन्न कसैलाई बाँकी राखेन । सरकार बराबर काण्डहरू र भ्रष्टाचार बन्न पुगेका छन् । सामाजिक असुरक्षा, गुण्डागर्दी, बलात्कार, महिला हिंसा, जाँडरक्सी, जुवातास महामारीका रूपमा फैलिएका छन् । केपीका मान्छेहरू वेश्यालय खोलेर पैसा कमाउने निकृष्ट एवम् घटिया प्रस्ताव बोकेर हिँड्छन् । सांस्कृतिक रूपले छाडा, अश्लील, वेश्यावृत्ति, लागूपदार्थको व्यापार र प्रयोग विषालु हावाजस्तो फैलिएको छ । शिक्षा एवम् स्वास्थ्य क्षेत्रमा माफियागिरी असैह्य बनेर सङ्घर्ष विस्फोट भइरहेको छ । भूमाफियाका कारण जमिन दलाल पुँजीपतिहरूका हातमा पुगेको छ । देशको स्वाधीनतामा नयाँ–नयाँ चुनौतीहरू थपिँदै गएका छन् । भारतीय साम्राज्यवादको अतिक्रमण नेपाली भूमि कालापानी, लिपुलेकलाई भारतको नक्सामा गाभ्नेसम्म पुगेको छ । अमेरिकाले हिन्द–प्रशान्त रणनीतिद्वारा नेपाललाई सैन्य अखडा बनाउने दाउ खोजिरहेको छ । युरोपियन युनियनले पुँजीवादी सङ्घीयता र क्रिस्चियन धर्ममार्फत नेपाली जनतालाई विभाजित गर्ने खेल खेलिरहेको छ । विडम्बना ! केपी स्वाधीनताका पक्षमा उभिनुको सट्टा जनतालाई आँखा च्यातेर हेरेपछि समृद्धि देखिन्छ भन्दै अपमान गरिरहेका छन् ।

आदरणीय जनसमुदाय !

एक इमानदार, जनवादी, देशभक्त, क्रान्तिकारी पार्टीका लागि श्रमिक जनताको अधिकार र राष्ट्रको स्वाधीनताबाहेक छुट्टै स्वार्थ केही हुँदैन । त्यसका तुलनामा जुनसुकै प्रकारका निरङ्कुश, तानाशाही, फासिवादी दमन सहायक विषय हुन् । भ्रष्टाचार, तस्करी, बलात्कार, राष्ट्रघात, जनघात, महँगीका विरुद्ध लड्दा नै केपी वलीको सामाजिक दलाल सरकारले हाम्रो पार्टीमाथि अन्यायपूर्ण, अराजनीतिक, बहुलट्ठीपूर्ण प्रतिबन्ध लाद्न पुगेको छ । तर तपाईंहरूको अगाध माया, विश्वास र सहयोगका कारण उसको प्रतिबन्ध औचित्यहीन बन्न पुगेको छ भने हामी कैयौँ क्षति बेहोरेर पनि एकीकृत जनक्रान्तिलाई सफलतातिर बढाउन सक्षम भएका छौँ । हाम्रो बलियो प्रतिबद्धता छ– विपद् झेल्न तयार छौँ तर जनता र देशलाई कुनै पनि धोका दिन चाहन्नौँ । इतिहासले सत्य साबित गरेको छ– दलाल पुँजीवादी, पुँजीवादी सत्ता श्रमिक जनताको अधिकार सुनिश्चित गर्ने व्यवस्था होइन । वैज्ञानिक समाजवाद मात्र सचेत एवम् श्रमिक जनताको नेतृत्व गर्ने व्यवस्था हो । हामी पार्टी पुनर्गठन दिवसको यो सुखद अवसरमा तपाईं सबैलाई अपिल गर्न चाहन्छौँ– आउनुहोस्, शोषणविहीन, जातिविहीन, धर्मविहीन, वर्गविहीन सुन्दर वैज्ञानिक समाजवादी सत्ता निर्माणका लागि अगाडि बढौँ । हाम्रो उत्कृष्ट अभिलाषा अवश्य पूरा हुनेछ ।
                                                                                            केन्द्रीय समिति, नेपाल कम्युनिस्ट पार्टी

२०७६ मंसिर ७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :