क्रान्तिकारी विचार

कविता

जनताले सञ्चालन गरेको क्रान्तिमा समस्या आएपछि
मुख्य नेताहरूबाटै सर्वहारा वर्गले धोका खाएपछि
कतै मिसिए, कतै मिसाइए
बाँकी क्रान्तिकारीलाई युद्धमै पठाएपछि
हजारौँ सहिद बनाएर प्राप्त गरेका हतियार
प्रतिक्रान्तिका मतियारलाई बुझाएपछि
महान् जनयुद्धको गौरव र उपलब्धिलाई
किञ्चित पैसामा समाप्त पारेपछि
एउटा सपना देखेर युद्धमा होमिएका योद्धाहरूमा
क्रान्तिकारी विचार नसकिएपछि
क्रान्तिकारी विचार कहिल्यै मर्दैन
क्रान्तिकारी नेतृत्व कहिल्यै थाक्दैन
जनमुक्ति सेनाले युद्धको मैदानबाटै
विजयको सपना देखेको थियो
सर्वहारा वर्गले मुक्तिको दिन पर्खेर बसेको थियो
आम जनसमुदायमा विद्रोही चेतनाको विकास भएको थियो
सच्चा क्रान्तिकारीहरूमा क्रान्तिले विजय मात्र होइन,
प्रतिक्रान्ति रोक्न घनीभूत बहस चल्दै थियो
युद्ध छोड्नु र धोका दिनु आत्महत्या गर्नुजस्तै थियो
त्यसैले त
क्रान्तिकारी विचार कहिल्यै मर्दैन
एउटा सपना ढले पनि अर्को क्षितिज ओझेल पर्दैन
सायद अब कसैलाई शङ्का छैन
हाम्रो अगाडि एकीकृत जनक्रान्तिबाहेक
अर्को कुनै विकल्प छैन
वर्गमुक्तिका लागि
बल प्रयोगको आवश्यकता सकिएको छैन
संसदीय दलाल पुँजीवादविरुद्धको लडाइँ सकिएको छैन
वर्गविहीन समाज, उत्कृष्ट शासन व्यवस्था
वैज्ञानिक समाजवाद स्थापना भएको छैन
त्यसैले सबैले भनौँ
क्रान्तिकारी विचार कहिल्यै मर्दैन
गद्दारहरूले जनताको सुनौलो सपनामा तुसारापात गरे पनि
नूतन विचारसहितको नेतृत्व थाक्दैथाक्दैन
हामीले गरेको क्रान्ति
यथास्थितिका विरुद्ध गुणात्मक परिवर्तन थियो
अफसोच !
केही धोकेबाज नेताहरूको जीवनस्तर मात्र परिवर्तन भयो
कम्युनिस्ट आदर्श र क्रान्तिकारी चरित्र
व्यक्तिगत मुनाफामा बिक्री भयो
जनताले आशा गरेको नेतृत्वबाट
विश्वासघात र गद्दारी भयो
तैपनि
कर्मठ क्रान्तिकारीहरूमा
नयाँ मोडेलको क्रान्तिचेतको विकास भयो
फलस्वरूप एकीकृत जनक्रान्ती र वैज्ञानिक समाजवादको
नयाँ कार्यदिशा उदय भयो ।
                           कैलाली, हाल पोर्चुगल

२०७६ मंसिर ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :