राज्यसत्ताको उत्पत्ति, विकास र जनसत्ता


राज्यसत्ता वर्गसङ्घर्षको परिणामबाहेक केही होइन ।
– कार्ल माक्र्स
राज्यसत्ता वर्गस्वार्थ रक्षा गर्ने साधन हो । फ्रेडरिक एङ्गेल्स
राज्यसत्ता भनेको एक वर्गले अर्को वर्गलाई दमन गर्ने साधन हो । –भीआई लेनिन
क्रान्तिको मूल प्रश्न नै राज्यसत्ताको मूल प्रश्नलाई हल गर्नु हो ।
राज्यसत्ताबाहेक सबै कुरा भ्रम हो । –भीआई लेनिन
क्रान्तिको मु ख्य प्र श्न राज्यसत्ताको प्र श्नलाई हल गर्नु हो । –माओ त्सेतुङ
राज्यसत्ता बन्दुकको नालबाट निस्कन्छ ।
– माओ त्सेतुङ, (जनसत्ता निर्देशिका २०७२, पेज २५/२६ बाट)

१. राज्यसत्ता के हो ?

राज्यसत्ताबारे लेनिनले कार्यकर्ताहरूलाई प्रशिक्षण दिने क्रममा सुरुमै भन्नुभएको छ, ‘यो राज्यको प्रश्न भनेको यति जटिल प्रश्न हो कि यसलाई एकैपटकमा स्पष्ट पार्न मुस्किल हुनसक्छ किनभने राज्यसम्बन्धी प्रश्न सबभन्दा जटिल एवम् कठिन र पुँजीवादी विद्वान्, लेखक तथा दार्शनिकहरूद्वारा सायद सबभन्दा बढी उल्टोपाल्टो तुल्याइएका प्रश्नहरूमध्ये एक हो । ’
–(राज्यबारे पुस्तिकाबाट) ।

यसलाई बुझ्न सजिलो होस् भन्नका खातिर उहाँले भन्नुभयो, ‘राज्यसत्ता एउटा वर्गले अर्को वर्गलाई दमन गर्ने साधन हो ।’ उहाँले यसरी राज्यसत्ताको वर्गीय पक्षलाई स्पष्ट पार्नुभएको छ ।

अहिले हामी क्रान्तिको कुरा गरिरहेका छौँ । क्रान्ति भनेको एउटा वर्गको एकाधिकारवादी सत्ताको अन्त्य गरेर अर्को वर्गको राज्यसत्ता स्थापना गरेर अन्ततः राज्यसत्ता नै विलोप गर्ने प्रश्न हो । अहिलेसम्म पुँजीवादले लामो समय राज्यसत्तामा हालीमुहाली जमाउँदै विरोधी वर्ग, सर्वहारा वर्ग अर्थात् अहिलेको सन्दर्भमा सबै श्रमिक वर्ग र उत्पीडित जनतामाथि मनपरी शासन लाद्दै आएको छ । ती उत्पीडित जनता वा श्रमिक वर्गले अहिलेसम्म आफूमाथि लादिएको राज्यसत्ता र शासनप्रणालीको पूर्ण अन्त्य गर्दै राज्यसत्तामा आफूहरू अर्थात् सबै जनताको सहज सहभागी हुन पाउने अधिकार भएको, समान अधिकार प्राप्त राज्यसत्ता र शासनप्रणालीको स्थापना गर्ने प्रक्रिया नै क्रान्ति हो । त्यसैले लेनिनले ‘क्रान्तिको मूल प्रश्न नै राज्यसत्ताको प्रश्नलाई हल गर्नु हो’ भन्नुभएको हो । तर यो यति सरल र सहज रूपले प्राप्त गर्न नसकिने कुरालाई स्पष्ट पार्दै कमरेड माओले ‘राज्यसत्ता बन्दुकको नालबाट निस्कन्छ’ भन्नुभयो । यो सत्य किन छ भने पुरानो सत्ता अर्थात् सामन्त, दलाल पुँजीवाद वा पुँजीपति वर्गको हातमा रहेको राज्यसत्ता बन्दुक र आधुनिक हतियारहरूको बीचमा बाँचेको छ । त्यसका रक्षकहरू– जस्तै प्रधानमन्त्री–मन्त्रीहरू, न्यायाधीशहरू हरपल सेना र पुलिसको पहराभित्र छन् । सर्वहारा वर्ग अर्थात् उत्पीडित नेपाली जनताले त्यो शासनको अन्त्य गर्नु छ भने त्यो बन्दुकको सामना गर्नुपर्ने हुन्छ । त्यससँग लड्न बन्दुक नउचाली सम्भवै छैन । त्यसैले कमरेड माओले बन्दुकको नालबाट सत्ता जन्मने कुरा गर्नुभएको हो । यसबाट स्पष्ट हुन्छ– सशस्त्र सङ्घर्षबिना राज्यसत्ता प्राप्त गर्नु असम्भव छ । यो कुरालाई चटक्कै बिर्सेर पुरानै राज्यसत्तासामु आत्मसमर्पण गरी उही सत्ताको सुरक्षाघेरामा पुगेर ‘जनवादी व्यवस्था आयो’ भन्ने कुरा पागलप्रलाप मात्र हो । यो जनतालाई बेबकुफ बनाउने र जनता र कार्यकर्ताहरूलाई मूर्ख बनाउनेबाहेक अरू केही होइन ।

२. राज्यसत्ताबारे बुझाइ

राज्यसत्ता भनेको राज्य र सत्ता दुई पदावली मिलेर बनेको छ । राज्य भनेको चार किल्लाभित्रको निश्चित सीमामा बाँधिएको क्षेत्रविशेष जहाँ कसैको राज वा शासन कायम छ । यस्तो क्षेत्रलाई राज्य भनिन्छ भने सत्ता भनेको शक्ति (Power) हो जसको बलमा त्यो राज्यमा शासन चल्ने गर्दछ । त्यसैले सत्ता भनेको एउटा वर्गको विचार, दर्शन, राजनीति, धर्म, संस्कृतिमा आधारित संविधान, कानुन, अदालत, सेना, पुलिस, सरकार, जेलनेल, प्रशासन, शासन प्रणाली आदिको समुच्च रूप हो । यो सत्ताले जति क्षेत्र वा भूगोल ओगटेर बसेको छ त्यो राज्य हो । राज्य क्षेत्र वा भूभाग विशेषसँग सम्बन्धित छ भने सत्ता यसलाई टिकाउने बल हो । त्यसैले ‘राज्यसत्ता’ भनेको एक वर्गको राजनीतिक सत्ता कायम रहेको क्षेत्र/भूगोलविशेषलाई बुझिन्छ ।

धेरैले सरकारमा पुग्नुलाई सत्ता प्राप्तिको संज्ञा दिन्छन् तर त्यो अपूर्ण बुझाइ मात्र हो । सत्ता प्राप्तिका निम्ति यसको नेतृत्व मात्र होइन, यसको समग्र सत्ता र राज्यप्रणाली (System) तथा वर्ग अधिनायकत्व बदलिनु अनिवार्य छ । यो बदलिएन भने जति मान्छे फेरिए पनि पुरानै सत्ता कायम रहिरहन्छ । यी सबै कुरा बदल्ने प्रक्रिया नै क्रान्ति हो ।

३. राज्यसत्ताको उत्पत्ति र विकास

कार्ल माक्र्सले स्पष्ट रूपमा भन्नुभएको छ, ‘राज्यसत्ता भनेको वर्गसङ्घर्षको परिणामबाहेक केही होइन ।’ त्यसैमा एङ्गेल्स थप्नुहुन्छ, ‘राज्यसत्ता भनेको वर्गस्वार्थको रक्षा गर्ने साधन हो ।’ यो सत्य हो– मानव समाजमा जब वर्गको उदय भयो त्यसपछि वर्गसङ्घर्षको सुरुआत भयो । जब समाजमा एउटा वर्गको वर्चस्व कायम भयो, त्यो वर्गले आफ्नो विरोधी वर्गलाई दबाबमा र आफ्नो अधीनमा राख्न जुन हथकण्डा प्रयोग गर्दछ त्यो नै सत्ता बन्न पुग्यो । त्यो सत्ताले उसको स्वार्थको रक्षा गर्नेबाहेक केही गर्दैन । जति क्षेत्र र भूगोलभित्र त्यो शासन कायम हुन पुग्यो त्यो नै राज्यसत्ता बन्न पुग्यो । यसरी राज्यसत्ताको उत्पत्ति भयो ।

सुरुसुरुमा प्रारम्भिक खालका राज्यसत्ताको नेतृत्व समाजका बलियाबाङ्गाले गरे । उसको शेषपछि एउटा प्रक्रिया उसैको छोराले नै नेतृत्व गर्दै गयो । ऊ नमर्दै उसको छोरालाई उत्तराधिकारी बनाउने चलनले राजतन्त्रात्मक शासनप्रणालीलाई जन्म दियो । दोस्रो प्रक्रिया समाज वा राज्यसत्ताको नेतृत्वको शेषपछि नयाँ नेतृत्व समाजले वा जनताले चुन्ने चलन अगाडि बढ्यो । यो पद्धतिले चुनावी प्रणालीलाई जन्म दियो । यसबाट गणतन्त्रात्मक राज्यसत्ताको विकास भयो । यसरी राज्यसत्ताको उत्पत्तिसँगै एउटा राजतन्त्रात्मक राज्यसत्ता र अर्को गणतन्त्रात्मक राज्यसत्ताको स्वरूप खडा भयो ।

सत्ताहरू बन्ने क्रममा सुरुसुरुमा जातीय राज्यहरू बने । सानाठूला ती जातीय राज्यहरू आआफ्नै प्रक्रियामा विकास भए । कसैले आर्थिक रूपले अलि छिटै विकास गरे भने कतिले अलि ढिलो गरे । यसले केही राज्यहरू बलिया र केही कमजोर बन्न पुगे । बलियोले कमजोरलाई आक्रमण, अतिक्रमण र अधीनस्थ बनाउँदै गएपछि एकल जातीय राज्यबाट बहुजातीय राज्यमा राज्यसत्ताहरू बदलिए वा विकसित भए । राजतन्त्रात्मक र एकल जातीय राज्य भएका राष्ट्रहरूमा एकात्मक प्रकारको राज्यप्रणालीको विकास भयो भने बहुजातीय राष्ट्रहरूमा राज्यसत्ताको प्रश्न जटिल बन्न पुग्यो । पछि अधीनस्थ राज्यका अधिनस्थ जाति वा समुदायहरूले आफ्ना अधिकारका विषयहरू उठाएर विद्रोह वा सङ्घर्ष गरी छुट्टै स्वतन्त्र राज्यको समेत माग गर्ने स्थितिमा पुगेपछि कतिपय अधिकारहरू : धर्म, भाषा, संस्कृति, साधनस्रोतहरूको परिचालन र प्रयोगहरूको सन्दर्भमा अग्राधिकार वा प्राथमिक अधिकार दिने गरी सोही राज्यमै मिलेर बस्ने प्रणालीको विकास गरे । यसलाई सङ्घीय प्रणाली भनियो । यसले सङ्घीय प्रणालीको विकास भयो ।

यसरी प्रणालीमा आउँदा एउटा संरचनागत हिसाबले र दोस्रो शासनपद्धति र अधिकारका कुराले एकात्मक र सङ्घात्मक राज्यप्रणालीहरूमा विकास भयो । यो कतै राजतन्त्रात्मक राज्यसत्ता र कतै गणतन्त्रात्मक राज्यसत्ता दुवै स्वरूपमा यी दुवै प्रणालीहरू लागू गरिए । यो अद्यापि जारी छ । तुलनात्मक रूपले एकात्मकभन्दा सङ्घात्मक प्रणालीलाई एक कदम अगाडिको लोकतान्त्रिक व्यवस्था मानिन्छ । तर यी दुवै पुँजीवादी व्यवस्थाकै रूपहरू हुन् । समाजवादी व्यवस्थाको चरणसम्म पनि यो उपयोगी हुन सक्छ तर वैज्ञानिक समाजवादमा जाँदा यो प्रणाली समतामूलक राज्यप्रणालीमा विकास हुन पुग्दछ । तर सङ्घीय प्रणाली नै अनिवार्य र लोकतान्त्रिक व्यवस्था भने होइन । यो कम्युनिस्ट व्यवस्थाको अनिवार्य प्रणाली पनि होइन । यो जनताको माग र लोकतन्त्रको बहालीसँगै आवश्यकतामा आउने राज्यसत्ताको एउटा चरणसम्मको शासनप्रणालीको स्वरूप वा शासनप्रणाली हो ।

४. मानव समाजको विकाससँगै राज्यसत्ताको विकासप्रक्रिया

समाज वा राज्यसत्ताको प्रमुख शक्ति मानव जाति नै हो । मानव जातिको चेतनाको विकाससँगै राज्यसत्ताका चरित्र र स्वरूपहरू पनि परिवर्तन र विकास हुँदै आएका छन् । सुरुमा मानव जातिको चेतनाको प्रारम्भिक सामाजिक जीवनयापनका क्रममा मानव समाज एक प्रकारको साम्यवादी समाजका रूपमा थियो । तर त्यो समाज र चेतना विकसित र वैज्ञानिक थिएन । यो अवस्थाको मानव जाति एक प्रकारको जङ्गली घुमन्ते अवस्थामा थियो । यो मानव समाजको अवस्थालाई ‘आदिम साम्यवादी युग’ भनिएको छ । त्यस बेला कुनै वर्ग, जाति, धर्म, राज्य, सीमा, मुद्रा, ठूलो, सानो, धनी, गरिब, वर्ग असमानता र निजी स्वार्थ भन्ने केही थिएन । त्यसैले एक प्रकारको सबै समान भएको साम्यवादी व्यवस्था थियो । त्यसैले यसलाई आदिम साम्यवादी युग भनियो ।

यसको हजारौँ वर्षपछि बिस्तारै मानव चेतनाको विकास र समाजमा वर्गहरूको उदयसँगै राज्यसत्ताहरूको उदय भयो । यो अवस्थामा अलि विकसित जाति वा समुदाय वा राज्यले अरू अविकसितहरूमाथि शासन चलाउन थाले । शासकहरूले अरू शासितहरूमाथि यति क्रूर र अमानवीय व्यवहार गरे कि मानौँ, उनीहरू मान्छे नै होइनन्, पशुपन्छी हुन् । यो अवस्थामा शासकहरू मालिक र शासितहरू दास थिए । यो ‘युगलाई दास युग’ भनियो ।

भनिन्छ, दास युग हजारौँ वर्ष कायम रह्यो । हजारौँ वर्षपछि दासहरूले मालिकहरूको अत्याचारका विरुद्ध विद्रोह गरे । दासविद्रोहका आदि विद्रोही नेता स्पार्टाकसले मालिकका विरुद्ध दासविद्रोहको नेतृत्व गरे । हजारौँ दासहरूले साथ दिए । उनीहरू अधिकार प्राप्तिका निम्ति लडे । अन्त्यमा मालिकहरू दासहरूलाई केही अधिकार दिन बाध्य भए । यो विद्रोहले दासहरूलाई दासत्वबाट मुक्ति त दिलायो तर शासित र उत्पीडनबाट मुक्ति भने पाएनन् । शोषण र उत्पीडनको रूप फेरियो । शासक र शासितको अवस्था ज्यूँका त्यूँ रहे । उनीहरूले सानासाना जमिन त पाए तर जमिनको मालिक र अधिकार मालिककै हातमा रह्यो । राज्यलाई कर तिरेर पाएको जमिन बेचबिखनसम्म गर्न पाउने अधिकार पाए । दासहरू किसानमा र मालिक सामन्त, जमिनदारमा परिणत भए । सामन्त, महासामन्तहरू राजामहाराजाहरूमा परिणत भए । यो युगलाई ‘सामन्तवादी युग’ भनियो । यो अवस्थामा राज्यसत्ताका मालिक, शासकहरूले राजा–महाराजाको उपाधि पाए । जनताले प्रजा, रैती र किसानको उपाधि पाए ।

लामो समयको अन्तरालमा किसानहरूका जमिनहरू टुक्राटुक्रा हुँदै एकजना किसानलाई जीवन धान्न धौधौ भएपछि उनीहरू आफ्नो जमिन छाड्न वा बेचेर कतै ज्यालामजदुरी गरेर जीवन धान्न बाध्य भए । तिनका सानासाना जमिनहरू चक्लाबन्दी हुँदै मुठीभर व्यक्तिको हातमा केन्द्रित हुन गई एकजना व्यक्तिको मातहत ठूलठूला जमिन केन्द्रित हुन गयो र तिनीहरूले त्यो जमिनमा ठूलठूला कृषि फर्महरू वा अन्य उद्योग, कलकारखानाहरू स्थापना गरे । हिजोका सामन्तहरू ठूलठूला उद्योगपति र पुँजीपति वर्गमा विकास भए भने हिजोका किसानहरू त्यहीँ ज्यालामा काम गर्ने मजदुर वर्गमा परिणत भए । यसले राज्यसत्ताको स्वरूप पनि पुँजीबादी बनाइदियो । यो युगलाई ‘पुँजीवादी युग’ भनियो ।

पुँजीवादी युगमा हरेक उत्पादित वस्तुलाई पुँजीमा रूपान्तरित गरियो र हरेक चीज द्रव्यमापनमा आयो । सामन्तवादसम्म आउँदा वस्तु विनिमय चल्थ्यो तर पुँजीवादमा आउँदा हरेक चीजलाई पैसाको माध्यमबाट सटही गर्ने काम भयो । यसले सीमित व्यक्तिमा पुँजी एकीकृत हुन पुग्यो । देश पुँजीपतिहरूको हातमा चल्न थाल्यो । धेरै पुँजी भएको देशले वस्तु उत्पादनका लागि अविकसित देशहरूको कच्चा पदार्थ कब्जा गर्ने र सैन्य बलमा उपनिवेश बनाउने होड राज्य–राज्यबीच चल्यो । यो होडले पहिलो र दोस्रो विश्वयुद्धसम्म निम्त्यायो । यसले कुनै देशलाई सुपर स्टेटमा पु¥याइदियो भने कुनै देशहरू क्षतविक्षत भए । आर्थिक रूपमा विश्वयुद्धले सर्वनास बनाइदियो । यसले एकाधिकारवादी साम्राज्यवादलाई जन्म दियो । यही प्रक्रियामा विज्ञान र प्रविधिको आविष्कारको होडसँगै अहिले पुँजीवादको विकसित रूप निगम पुँजीवादमा आइपुगेको छ । आजको यो साम्राज्यवादको भूमण्डलीकृत रूपलाई ‘उत्तरसाम्राज्यवाद’ भनिएको छ । उत्तरसाम्राज्यवादको चरित्रले क्रान्तिको चरित्रलाई पनि बदलिदिएको छ र सत्ताको स्वरूपलाई पनि अझ लेनिनले भन्नुभएजस्तै बुझ्नै नसकिने ढङ्गले जटिल बनाइदिएको छ ।

कम्युनिज्मका प्रणेता माक्र्स र एङ्गेल्सले आदिम साम्यवादी युगको गर्भबाट दासयुग, दासयुगको गर्भबाट सामन्ती युग, सामन्ती युगको गर्भबाट पुँजीवादको जन्म हुन्छ भन्नुभयो । यसरी नै पुँजीवादको गर्भबाट वैज्ञानिक समाजवादको जन्म हुन्छ भन्ने कुरालाई पनि सप्रमाण पेस गर्नुभएको छ । उहाँहरुले यही वैज्ञानिक समाजवादको विकसित रूप नै वैज्ञानिक साम्यवादी सत्ता हुन्छ भन्नुभएको छ । अहिले विश्व–मानव समाजले उपरोक्त सबै युगहरू पार गर्दै विश्व–पुँजीवादको उत्कर्ष अवस्था उत्तरसाम्राज्यवादमा आइपुगेको छ । यो अवस्थामा साम्राज्यवादले ६० प्रतिशतभन्दा बढी साम्यवादका नियम र पद्धतिहरू चोरेर पुँजीवादमा लागू गर्दै आफूलाई बचाउने काम गर्दै आएको छ ।
(लेखकको प्रकाशोन्मुख पुस्तक ‘निरन्तर क्रान्ति’ बाट)

२०७६ मंसिर ३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :