हतियार भेटिएको प्रचार पार्टीलाई दमन गर्ने योजनाबद्ध षड्यन्त्र : नेकपा


काठमाडौंँ : नेपाल कम्युनिस्ट पार्टीले दाङ र कपिलवस्तुको सिमानाबाट ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद गरिएको र उक्त हतियार नेकपाको रहेको भनी गराइएको प्रचारलाई भ्रमपूर्ण, कपोलकल्पित, नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी रहेको भन्दै आपत्ति प्रकट गरेको छ । पार्टीका राप्ती ब्युरो इन्चार्ज समरले विज्ञप्ति जारी गर्दै उक्त हतियार पार्टीमाथि दमन गर्ने सरकारी षड्यन्त्रबमोजिम आफैँले राखेर भ्रमपूर्ण प्रचार गराएको जनाएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘सामाजिक दलाल केपी वली–प्रचण्ड सरकार राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूमा दिनदिनै बदनाम र पतीत बन्दै विघटनको दिशातिर उन्मुख छ । आफ्ना काला हर्कतहरू ढाकछोप गर्न वली सरकार नियोजित रूपमा नेपाल कम्युनिस्ट पार्टीमाथि दमनका अनेक खालका षड्यन्त्र गरिरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दाङ र कपिलवस्तुको सिमानाबाट ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद गरिएको भनी गराइएको भ्रमपूर्ण, कपोलकल्पित, नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

समरले विज्ञप्तिमा भनेका छन्, ‘नेकपामाथि दमन गर्ने सरकारी षड्यन्त्रअनुरूप त्यसप्रकारको नियोजित, भ्रमपूर्ण र कपोलकल्पित प्रचार गराइएको र यसप्रकारका षड्यन्त्र नगर्न चेतावनी दिन चाहन्छौँ । नेकपामाथि दमन गर्ने योजनाअनुरूप प्रहरी आफैँले उक्त हतियारहरू राखेर भ्रमपूर्ण प्रचार गराएको पनि स्पष्ट पार्न चाहन्छौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ मंसिर १ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :