विद्यार्थी नेता विष्टसहित चारजनालाई चौबिस घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश


काठमाडौँ : सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का काठमाडौँ अध्यक्ष गोविन्द विष्टसहित चारजनालाई चौबिस घण्टाभित्र उपस्थिति गराउन आदेश दिएको छ । कमल विष्टले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सो आदेश दिएको हो ।

प्रहरीले गैरन्यायीक रुपमा गिरफ्तार गरी हिरासतमा राखेको भन्दै कमल विष्टले रिहाईको माग गर्दै दायर गरेको रिटमाथि सुनुवाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले विहीबार उक्त आदेश दिएको छ ।

विष्टसँगै प्रहरीले शंकरदेव क्यापसमा अध्ययनरत कालिकोटका दयाराम तुवार, सरस्वती बहुमुखी क्याम्पसमा अध्ययनरत नवलपरासीका प्रदिपबाबु भट्टराई, पशुपति क्याम्पसमा अध्ययनतर कैलालीका मेघेन्द्र न्यौपानेलाई कात्तिक २४ गते प्रहरीले माइतीघरबाट गिरफ्तार गरेको थियो । चारैजना बन्दीलाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा अदालतमा आदेश दिएको छ ।

विष्टसहित चारैजनाको तर्फबाट वरिष्ठ अधिबक्ता एकराज भण्डारी र अधिबक्ता कपिलचन्द्र पोखरेलले बहस गरेका थिए । भारतले नेपालीभूमी मिचेको विरोधमा शान्तिपूर्ण विरोध कार्यक्रमबाट प्रहरीले गिरफ्तार गर्नु संविधान र कानुन विपरित भएको भन्दै दुबैजना कानुन व्यवसायीले रिहाई गर्नुपर्ने माग गरेका थिए । उनीहरुले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको दाबीसमेत गरेका थिए ।

२०७६ कार्तिक २९ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :