आदिम, दास र सामन्ती समाजहरूको उत्पादन सम्बन्ध

आदिम, दास र सामन्ती समाज, यी तीन सामाजिक व्यवस्थाहरू पुँजीवादका पूर्ववर्ती थिए । यी समाजहरूमा उत्पादन सम्बन्धहरूको विस्थापन र प्रतिस्थापनबारे बुझ्नाले हामीलाई मानव समाजमा उत्पादन सम्बन्धहरूको विकासको ऐतिहासिक प्रक्रियालाई बुझ्न सहयोग मिल्छ । पुँजीवादी उत्पादन सम्बन्धहरूको उद्भव र विकास तथा समाजवादी उत्पादन सम्बन्धहरूद्वारा त्यसको अवश्यम्भावी प्रतिस्थापनलाई नियन्त्रित गर्ने ऐतिहासिक नियमलाई बुझ्नका निम्ति यो विशेष रूपले महत्वपूर्ण छ ।

आदिम कम्युनहरूले मानवइतिहासमा सबैभन्दा पहिले उत्पादन सम्बन्ध स्थापित गरे । श्रमले मानिसको रचना गर्यो ।
आदिम समाज पशुजगत्बाट मानिस अलग भएसँगै आरम्भ भयो । मानिसको उदयसँगसँगै मानव समाज अस्तित्वमा आयो । मानिससँगै मानव समाजको इतिहासको पहिलो अध्यायको सुरुआत भयो ।

मानव समाजको इतिहास लगभग दस लाख वर्ष पुरानो छ । मानिसका पूर्वज अत्यन्त उन्नत किसिमका नरवानर थिए । तर वानर मानिसमा कसरी विकसित भयो ? यसको कुँजी श्रममा निहित छ । श्रम औजार बनाउने क्रमसँगै सुरु भयो । नरवानरबाट मानिस बन्ने प्रक्रियामा प्राकृतिक वस्तुहरूलाई उपयुक्त औजारहरूमा बदलियो । एउटा ढुङ्गालई अर्कोसँग ठोकेर ढुङ्गाको चुक्कु वा बन्चरो बनाउने, रूखका हाँगाहरूबाट भद्दा औजारहरू बनाउनेजस्ता सामान्य कामहरूबाट एउटा महान् क्रान्ति अगाडि आयो । मानिसले स्वयम्लाई पशुजगत्बाट अलग गर्यो र उसले प्रकृतिलाई रूपान्तरण, त्यसमाथि विजयका निम्ति औजार बनाउनका लागि आफ्ना हातहरूमा भरोसा गर्न सक्थ्यो । एङ्गेल्सले भन्नुभएको छ, ‘श्रम मानव जीवनको पहिलो आधारभूत सर्त हो । यो यस सीमासम्म हामीले एक निश्चित अर्थमा स्वीकार गर्नुपर्दछ कि श्रमले नै मानिसको रचना गरेको हो ।’

श्रमको लामो प्रक्रियामा मानिसले ढुङ्गाका औजार बनाउन, सिकार खेल्न र माछा मार्न सिक्यो । उसले तीर–धनु आविष्कार गर्यो । आगोको खोज र त्यसको प्रयोग विशेष रूपमा महत्वपूर्ण थियो । त्यसले प्रकृतिलाई बदल्ने र त्यसमाथि विजय प्राप्त गर्ने मानिसको शक्तिलाई धेरै नै बढाइदियो । एङ्गेल्सले यस उपलब्धिलाई धेरै महत्व दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘जहाँसम्म विश्वभरिको मुक्तिको प्रश्न छ, घर्षणको माध्यमबाट आगो उत्पन्न गर्न खोज्नु वाष्प इन्जिनको आविष्कारको महत्वभन्दा माथि ठहर्दछ । घर्षणद्वारा आगो निकाल्ने खोजले मानिसलाई एउटा प्राकृतिक शक्तिमाथि नियन्त्रण गर्न योग्य बनायो, यसकारण ऊ पशुजगत्बाट अलग हुन गयो ।’ त्यस समयदेखि मानव समाज यस धर्तीमा औपचारिक रूपबाट अस्तित्वमा आयो ।

पशुजगत्बाट मानिस अलग भएपछि हुन जाने उत्पादक गतिविधिहरू सुरुदेखि नै एक प्रकारका सामाजिक र सामूहिक गतिविधि थिए । ‘प्रत्येक व्यक्ति मानव जीवनका भौतिक आवश्यकताहरूका निम्ति उत्पादक गतिविधिहरूमा लाग्नाले समाजका अन्य सदस्यहरूसँग सहयोग लिएर उत्पादन सम्बन्ध कायम गर्दथ्यो ।’ मानवीय सामाजिक इतिहासको महाकाव्यको पहिलो पन्ना जुन समयमा खुल्यो त्यस समयका उत्पादन सम्बन्ध आदिम कम्युन थिए र ती मानव इतिहासमा प्रथम उत्पादन सम्बन्ध थिए ।

गोत्र कम्युन स्वामित्व आदिम कम्युनका उत्पादन सम्बन्धहरूको आधार थियो ।
आदिम समाजको प्राथमिक सामाजिक आर्थिक सङ्गठन गोत्र कम्युन थियो जुन श्रमका निम्ति कुटुम्बका आधारमा कायम थियो । गोत्र कम्युन स्वामित्व सामूहिक स्वामित्वको एउटा आदिरूप थियो । भूमि र उत्पादनका अन्य साधनहरूमाथि कम्युनका सम्पूर्ण सदस्यहरूको स्वामित्व थियो । त्यस समयमा प्रयोगमा रहेका ढुङ्गाका भद्दा चक्कुहरू, बन्चराहरू, भालाहरू र धनुकाणका कारण प्रकृतिका विराट शक्तिहरूमाथि सामूहिक श्रमबाट नै विजय पाउन सकिन्थ्यो । त्यसकारण उत्पादनका साधनहरू उत्पादित वस्तुमाथि व्यक्तिगत स्वामित्व सम्भव थिएन । उत्पादक शक्तिहरूको निम्नस्तरको मातहत केवल यही गोत्र कम्युन स्वामित्व व्यवस्था नै प्रचलित थियो । गोत्र कम्युनहरूको सामूहिक स्वामित्वमा आउने उत्पादनका साधनहरूमा उत्पादनका औजार, भूमि, बन, नदीहरू र पशुपालन सामेल थिए । हतियारहरू र धनुकाणहरूको प्रयोग अलगअलग व्यक्तिले गर्दथे र उनीहरूले नै तिनलाई आआफूसँग राख्दथे ।

आदिम समाजमा सबै स्वस्थ सदस्य उत्पादक श्रममा भाग लिने गर्दथे । उनीहरू लिङ्ग र उमेरका आधारमा एक प्रकारको प्राकृतिक श्रम विभाजन लागू गर्दथे । पुरुषहरू सिकारका निम्ति बाहिर जाने गर्दथे । वृद्ध पुरुषहरूले औजार बनाउँथे । महिलाहरूले फलफूल, कन्दमूल बटुल्थे र घरेलु कामकाज समाल्दै आदिम खेतीपाती गर्दथे । बालकहरूले महिलाहरूका निम्ति सहायक श्रम गर्दथे । अन्तरवैयक्तिक सम्बन्ध आदिम सहकारी सम्बन्ध थिए ।

गोत्र कम्युन स्वामित्व र सामूहिक श्रमका परि स्थितिहरूमा उत्पादित वस्तुहरूको बराबर वितरण गरिन्थ्यो । त्यस समयमा उत्पादक शक्तिहरूको निम्न स्तरका कारण श्रमद्वारा प्राप्त उत्पादित वस्तुहरू अस्तित्वको न्यूनतम् स्तर कायम राख्नका लागि मात्र पर्याप्त थियो । शेष धेरै कम बच्दथ्यो । बराबर वितरण नहुने हो भने त गोत्रका केही सदस्यहरू भोकभोकै मर्थे वा गोत्र छिन्नभिन्न हुन जान्थ्यो ।

आदिम समाजको आर्थिक अवरचनाले त्यसैअनुरूपको अधिरचनालाई पनि जन्म दियो । आदिम समाज क्रमशः मातृसत्तात्मक र पितृसत्तात्मक गोत्र व्यवस्थाहरू हुँदै अगाडि बढ्यो । मातृसत्तात्मक गोत्रको गठन उत्पादन गतिविधिहरूमा महिलाहरूको धेरै महत्वपूर्ण स्थितिको परिणाम थियो । त्यस समयमा महिलाहरू मुख्यतः आदिम कृषिमा लागेका थिए र पुरुष सिकारमा । सिकार मौसममा धेरै निर्भर थियो र त्यसको नतिजा निश्चित हुँदैनथ्यो । कृषि आजीविकाको धेरै भरोसायोग्य स्रोत थियो । त्यसकारण सामाजिक जीवन महिलाहरूको वरिपरि घुम्थ्यो । उत्पादक शक्तिहरूको विकाससँगसँगै कृषि आफ्नो आदिम स्वरूपबाट उन्नत हुँदै गयो र पशुपालन कृषिबाट अलग भयो । उत्पादक गतिविधिहरूमा पुरुषहरूको महत्व बढ्यो । महिलाहरूलाई केन्द्रमा राखेर गरिने सामूहिक विवाहरूबाट एकल विवाहहरूसम्मको सङ्क्रमणसँगै महिलाहरूको स्थिति अझै अधीनस्थ हुन गयो र पितृसत्तात्मक समाजको सुरुआत भयो ।

गोत्रका सम्पूर्ण वयस्क सदस्यहरूको गोत्र परिषद् गोत्र कम्युनमा सत्ताको सर्वोच्च निकाय थियो । गोत्र परिषद्ले सरदार र युद्धको समयका निम्ति सैनिक नेताहरूलाई चुन्थ्यो तथा सबै महत्वपूर्ण विषयहरूमा विचार र निर्णय गर्दथ्यो । एक अमेरिकी विद्वान् (लेविसएच) मारगनले आफ्नो पुस्तक ‘प्राचीन समाज’ मा अमेरिकी इन्डियनहरूको गोत्र कम्युनको वर्णन यसप्रकार गरेका छन्, ‘सबै सदस्य स्वतन्त्र व्यक्ति थिए र एक–अर्काको स्वतन्त्रताको रक्षाका निमित्त कर्तव्यबद्ध थिए । सबैलाई समान अधिकार थियो । कहाँसम्म भने गोत्रका सरदार र सैनिक नेता पनि कुनै विशेषाधिकारको माग गर्न सक्तैनथे । उनीहरू रक्तसम्बन्धमा आधारित सहदेशवासी थिए ।’ गोत्रको यस अधिरचना गोत्रको आर्थिक अवरचनालाई बलियो बनाउन तथा विकसित गर्न र त्यस समयका उत्पादक शक्तिहरूलाई अगाडि बढाउन सहायक थिए ।

माओ भन्नुहुन्छ, ‘चिनियाँ व्यक्तिहरू (यहाँ मुख्यतः हान जातिका सन्दर्भमा) को विकास दुनियाँका अन्य व्यक्तिहरूकै सरह भयो । उनीहरू दसौँ हजार वर्षसम्म वर्गविहीन आदिम समाज हुँदै अगाडि बढे ।’ पेकिङको चाङ्काङ तियन उपनगरमा भेटिएको ‘पेकिङ मानव’ सँग जोडिएको समाज चीनको आदिम समाजको एकदम प्रारम्भिक अवस्थाको प्रतिनिधित्व गर्दथ्यो । चीनका कैयौँ इलाकाहरूमा भेटिएका धेरै नै प्राचीन स्थलहरू र आदिम समाजहरूका सांस्कृतिक भग्नावशेषले सिद्ध गर्दछन्– पिली नदीको उपत्यकाको किनारमा स्थित मध्यक्षेत्रमा कुनै बेला मातृसत्तात्मक गोत्रमा आधारित कबिलाहरू रहेका थिए र तिनीहरूको विस्तार भित्री मङ्गोलिया, हेइलुङकियाङ, सिनकियाङ, तिब्बत, क्वाङ्सी, सेचुवान र युनानसम्म थियो । करिब पाँच हजार वर्षपूर्व पिली नदी र याङ्त्से नदीका उपत्यकाहरूका किनारका कबिलाहरू क्रमशः पितृसत्तात्मक गोत्र कम्युनमा बदलिँदै गए । चीनमा सिया वंशको शासनभन्दा पहिले आदिम समाज कैयौँ लाख वर्षसम्म कायम रह्यो ।

ऐतिहासिक तथ्यले बताउँछन् आदिम समाजमा कुनै निजी सम्पत्ति, वर्ग, वर्गशोषण वा वर्गउत्पीडन थिएन । तिनले यस भ्रान्तिलाई बलपूर्वक खण्डन गर्दछन्– निजी सम्पत्ति र वर्ग युगौँदेखि नै अस्तित्वमा रहिरहेका छन् ।

निजी सम्पत्तिको उद्भव र आदिम कम्युनको पतन

आदिम समाजमा विकासको अवधिमा उत्पादक शक्तिहरूको विकाससँगै श्रमको सामाजिक विभाजन सुरु भयो । सुरुमा पशुपालन कृषिबाट अलग हुन गयो । केही कबिलाहरू विशेष रूपबाट पशुपालन गर्न थाले र केही कबिलाहरूले विशेष रूपबाट कृषि पेसालाई अपनाउन थाले । यो पहिलो ठूलो सामाजिक श्रम विभाजन थियो । केही समयपछि दस्तकारी गतिविधिहरू कृषिबाट अलग हुन पुगे । यो दोस्रो ठूलो श्रम विभाजन थियो । आदिम समाजको अन्त्यतिर फलामको खोज भयो । फलाम अगाडि आउनु मानव समाजका लागि एउटा उच्चतम् स्थितिमा प्रगतिको प्रतीक थियो । यद्यपि यसले आदिम समाजको पतनको घोषणा पनि गरिदियो । कृषि, पशुपालन र दस्तकारी गतिविधिहरू अलग–अलग सञ्चालन हुनाले विनिमयको उद्देश्यबाट उत्पादन अर्थात् माल (कमोडिटी) उत्पादन अगाडि आयो ।

उत्पादन शक्तिहरूको निरन्तर जारी विकाससँगै जीवन बचत हुन थाल्यो । श्रमका दुईवटा ठूला विभाजनले श्रमको उत्पादकता बढायो र कृषि, पशुपालन तथा दस्ताकारी गतिविधिहरूको विकासलाई प्रोत्साहित गर्यो । अतिरिक्त उत्पादन र सामाजिक सम्पत्तिमा वृद्धि भयो । यस्तो परिस्थितिमा केही व्यक्तिहरूले अन्य व्यक्तिहरूका उत्पादित वस्तुहरू खोस्ने (हडप्ने सम्भावना उत्पन्न भयो । अर्कोतर्फ विनिमयको विस्तारसँगै गोत्रका सरदारद्वारा कम्युनको सम्पत्तिलाई सुस्त–सुस्त आफ्नो निजी सम्पत्तिमा बदल्ने सम्भावना पनि उत्पन्न भयो । धातुका औजारहरू खास गरेर फलामका बन्चराहरू, फलामका कोदाला र फलामको हलोले श्रमको उत्पादकतामा उल्लेखनीय वृद्धि गर्यो र व्यक्तिगत गृहस्थीका आधारमा उत्पादनका परिस्थितिहरू तयार गरिदियो । गोत्रमा आधारित प्रारम्भिक सामूहिक उत्पादन सुस्त–सुस्त समाप्त हुन पुग्यो र त्यसको स्थान गृहस्थीमा आधारित व्यक्तिगत उत्पादनले लियो । उत्पादन सामूहिक र उत्पादित वस्तुहरू पनि निजी सम्पत्ति बन्न पुगे । फेरि भूमि जुन पहिले सामूहिक स्वामित्वमा हुन्थ्यो, जुन व्यक्तिगत गृहस्थीहरूलाई कृषिका निम्ति दिने गरिन्थ्यो त्यो पनि निजी दानमा गयो । निजी स्वामित्व अस्तित्वमा आयो र आदिम कम्युन छिन्नभिन्न हुन पुग्यो ।

निजी स्वामित्वको उद्भवसँगै परिवारहरूका बीचमा सम्पत्तिको बाँडफाँटमा असमानता उत्पन्न भयो । गोत्रका सरदारहरूले आफ्नो शक्तिको प्रयोग लगातार सामूहिक सम्पत्तिलाई आफ्नो निजी सम्पत्तिमा बदल्नमा गरेर गोत्रका समृद्धशाली परिवार बन्न पुगे । यसै समयमा ती धनी परिवारहरूको सम्पत्ति बढ्नु तथा तिनीहरूको कार्यक्षेत्र विस्तारित हुनुका साथै श्रमको कमी अनुभव गर्न थालियो । अर्कोतर्फ उत्पादक शक्तिहरूको विकाससँगै दासहरूको श्रमको प्रयोग सम्भव र लाभदायक बन्न पुग्यो । यसको परिणामस्वरूप युद्धबन्दीहरूलाई मार्नुभन्दा दास बनाउन थालियो । पछि गोत्रका केही गरिब मानिसलाई पनि धनी परिवारहरूका दास बनाइयो । मानिसद्वारा मानिसको शोषणको सुरुआत भयो ।

उत्पादनको विकास र विनिमयको विस्तारसँगसँगै तेस्रो ठूलो श्रम विभाजनको घटना हुन पुग्यो । यस्ता व्यापारी अगाडि आए जसले विशेष रूपले माल विनिमय मात्र गर्दथे । माल विनिमयको विकाससँगै मुद्रा अस्तित्वमा आयो । मुद्राको जन्मसँगै धनी परिवारले सुदखोरको काम गर्न थाले र सम्पत्तिको केन्द्रीकरण तथा असमान वितरणको प्रक्रिया तीव्र हुन गयो । यसको परिणामस्वरूप सम्पत्ति तीव्र रूपमा मुठीभर दास स्वामीहरूको हातमा खुम्चिन पुग्यो । अर्कोतर्फ श्रमजीवीहरूको ठूलो सङ्ख्या गरिबी र कङ्गालीका कारण दास बन्न बाध्य हुन पुगे र दासहरूको सङ्ख्या तीव्र रूपमा बढ्यो । यसरी समाज दुईवटा वर्गहरूमा विभाजित भयो : दास स्वामी र दास । यी दुईवटा विरोधी वर्ग मानव इतिहासमा पहिलोपल्ट अगाडि आए । वर्गहरूको उत्पत्तिसँगसँगै पुरानो गोत्र परिषद् समाजका सार्वजनिक सेवकबाट यसका मालिकमा स्थानान्तरण हुन पुगे र दास मालिकहरू दासहरूको उत्पीडनको एउटा उपकरण बन्न पुगे । त्यसै समय राज्य एउटा वर्गद्वारा अर्को वर्गको उत्पीडन गर्ने तन्त्रका रूपमा जन्म भयो । त्यस समयदेखि लिएर अहिलेसम्म ‘समस्त सामाजिक इतिहास वर्गसङ्घर्षको इतिहास रहेको छ ।’

दासप्रथा शोषणको पहिलो व्यवस्था थियो । दास समाजमा उत्पादन सम्बन्धहरूको अमिला क्षणिक विशेषता थियो । उत्पादनका साधनहरू र दासहरूमाथि दासस्वामीको स्वामित्व थियो ।

दास समाजमा दासस्वामी उत्पादनका साधनहरूको मात्र होइन, दासहरूका पनि मालिक हुने गर्दथे । दास, दासस्वामीका पूर्ण आधिपत्यमा एउटा जीवित औजारभन्दा अरू केही थिएनन् । दासको शोषण मात्र हुँदैनथ्यो, ऊसँग जनावर, बलियो वस्तु र मालका रूपमा व्यवहार गरिन्थ्यो । उसको मालिकले उसलाई हत्या गरी मार्न पनि सक्थ्यो । दास श्रम खुलमखुला जबर्जस्ती श्रम थियो । दासमालिक दासहरूसँग काम गराउनका निम्ति निर्मम ढङ्गबाट शक्तिको प्रयोग गर्दथ्यो र आफ्ना दासहरूलाई निकृष्ट ढङ्गबाट यातनाहरू दिने गर्दथ्यो । भगौडा दासहरूलाई नियन्त्रणमा लिन सजिलो बनाउनका निम्ति दासमालिकले दासहरूलाई तातो धातुबाट डाम्ने गर्दथे र उनीहरूलई साङ्लाले बाँधेर राख्थे । दासहरूबाट अतिरिक्त श्रम र उत्पादन गराउनका निम्ति दासमालिक क्रूर तरिका अपनाउँथे । दासहरूद्वारा उत्पादन गरिएका सम्पूर्ण उत्पादित वस्तु दासमालिकका हुने गर्दथे । दासलाई जनावरलाईजस्तै त्यति मात्र भोजन दिने गरिन्थ्यो जसबाट ऊ जीवित रहन सकोस् । यस्तो थियो दास समाजको उत्पादन सम्बन्ध ।

माओ भन्नुहुन्छ, ‘चीन राष्ट्रमा आदिम समाज टुटेर जब वर्गसमाज बन्यो त्यस समय र वर्तमान समयका बीचमा करिब चार हजार वर्ष बितिसकेका छन् । यी वर्ष दास समाज र सामन्ती समाज भएर बितेका छन् ।’ चीन सिया वंशको शासनपछि दास समाजका रूपमा विकसित भयो । यिन वंशमा ‘चुङ्जेन’ र ‘सुमिन’ (‘ जनसाधारण’) सबै दास थिए । यिन–सु (हुनान प्रान्तमा यिन वंशको प्राचीन राजधानीका अवशेष यहाँ भेटिएका छन् मा उत्खननमा पाइएका माटाका मूर्तिहरूका हात बाँधिएका थिए । पुरुष मूर्तिहरूका हात पछाडितर्फ बाँधिएका थिए र महिलाहरूका हात अगाडितर्फ बाँधिएका थिए । ती उस समय दासहरूका जीवनका प्रतिबिम्ब थिए । कसाईहरूले जस्तै दासहरूको हत्यासम्म गरिदिन्थे । दासमालिकहरूले धार्मिक अनुष्ठानहरूमा प्रायजसो आफ्ना दासहरूको बली दिने गर्दथे । यिन वंशको शासनकालको अवधिमा केही अनुष्ठानहरूमा एक हजारभन्दा धेरै मानिस मारिदिने गर्दथे । यिन वंशका दास मालिकहरूका चिहानहरूबाट दासहरूका कंकाल भेटिएका छन् जसलाई मालिकसँगै मारेर या जिउँदै गाडिएको थियो । यी प्रत्येक चिहानमा दसदेखि लिएर सयौँसम्म थिए । त्यसमा महिला, पुरुष दुवै र कहाँसम्म भने बालकहरू पनि थिए । यसमा कुनै शङ्का छैन– चीनमा दास समाज अस्तित्वमा थियो । तर पनि चेन पोन्ताजस्ता ट्राट्स्कीपन्थी यस्तो भ्रान्ति फैलाउँदछन्– चीनमा कहिल्यै दास समाज थिएन । उसले यसो गरेर मानव समाजहरूको माक्र्सवादी वर्गीकरणको सार्वभौम सत्यलाई अस्वीकार गर्ने र आफूद्वारा फैलाइएको त्यस भ्रान्तिका निम्ति साक्षी जुटाउने असफल प्रयास गर्दछ– कम्युनिज्म चिनियाँ परिस्थितिहरूको अनुकूल छैन । यो हदैसम्मको प्रतिक्रियावादी र पूर्ण रूपमा निरर्थक कुरा हो ।

वर्गशत्रुताका कारण सहर र ग्रामीण क्षेत्रका बीच तथा मानसिक र शारीरिक श्रमका बीचमा विरोध उत्पन्न भयो ।
पहिलो प्राचीन नगर दास समाजको अन्तिमतिर अस्तित्वमा आयो र यसलाई सुरक्षाको दृष्टिबाट कबिलायी सङ्घको मध्यवर्ती क्षेत्रमा स्थापित गरियो । दास समाजको गठनपछि र कृषि, दस्तकारी उद्योग तथा माल विनिमयको विकाससँगै सहर र गाउँको अन्तरविरोध उत्पन्न भयो ।

त्यस समयमा औद्योगिक उत्पादित वस्तुहरू दस्तकारीका उत्पादित वस्तुहरू नै थिए । दस्तकारी उद्योगको विकास वाणिज्यको विकाससँग जोडिएको थियो । त्यसकारण सहर व्यापारिक गतिविधिहरूको पनि केन्द्र थियो । चीनमा यिन वंशको अवधिमा व्यापार तीव्रतासँग विकसित भयो । व्यापारिक नगरहरू विकसित भए । यिन वंशलाई साङ वंश पनि भनिन्थ्यो । (चिनियाँ भाषामा साङको अर्थ हो वाणिज्य) आजको यिनन्सुको स्थानमा यिन वंशको समयमा एउटा ठूलो व्यापारिक नगर थियो ।

दासस्वामीले दास समाजको आर्थिक अवरचनाअनुरूप अधिरचना स्थापित गरे र सहर दास समाजको राजनीतिक केन्द्र बन्न पुग्यो । दासमालिकले दासहरूको विद्रोहलाई दमन गर्नका निम्ति सहरहरूमा राज्य मेसिनरीलाई बलियो बनाउन विशेष ध्यान दिए । अनेक, दासमालिक, ठूला व्यापारी, सुदखोर र नोकरशाह सहरमा विलासितामा डुबेको जीवन बिताउँथे । मनोरञ्जनको आफ्नो आवश्यकता पूरा गर्नका निमित्त दासमालिकले दासहरूलाई बाध्य पारेर अति सुन्दर महल, मन्दिर, नाटकघर र अन्य सार्वजनिक स्थान बनाउन लगाए । सहर सुस्त–सुस्त दास समाजको सांस्कृतिक केन्द्रका रूपमा विकसित भए ।

यसप्रकार दास समाजमा सहरले एउटा प्रभुत्वशाली आर्थिक, राजनीतिक र विचारधारात्मक भूमिका अख्तियार गर्यो र सहर तथा गाउँका बीचमा विरोधलाई जन्म दियो । सहर र गाउँका बीचको विरोध जन्मजात पेचिलो वर्गअन्तरविरोध थियो र सहरद्वारा गाउँको शोषण उसको लाक्षणिक विशेषता थियो ।

आदिम समाजमा सबै स्वस्थ मानिसहरू उत्पादनमा भाग लिने गर्दथे । मानसिक श्रमको कुनै विशेषज्ञता थिएन । दास समाजको स्थिति भने भिन्न थियो । दास श्रमद्वारा ठूलो मात्रामा उत्पादन गरिएको अतिरिक्त उत्पादित वस्तुहरूको परिणामस्वरूप दासमालिकहरूका निम्ति यो सम्भव हुन गयो– उनीहरूले आफूलाई उत्पादक श्रमबाट अलग गर्न सक्ने भए । त्यस समयमा मानसिक र शारीरिक श्रमका बीचमा विभाजन आवश्यक र सम्भव थियो । मानसिक र शारीरिक श्रमका बीचको विभाजन सुरुदेखि नै शत्रुतापूर्ण थियो । सांस्कृतिक शिक्षा दासमालिक वर्गको विशेषाधिकार थियो । ‘भौतिक उत्पादनका साधनहरूमाथि नियन्त्रण राख्ने वर्गले मानसिक उत्पादनका साधनहरूलाई पनि नियन्त्रित गर्दछ । त्यसकारण मानसिक उत्पादनका साधनहरूबाट वञ्चित मानिसहरूको सोचाइ आमरूपमा शासक वर्गको प्रभावमा हुन्थ्यो ।’

दासमालिक वर्गले यस्तो भ्रान्ति फैलाउन हरसम्भव प्रयास ग¥यो– ‘मानसिक काम गर्नेहरूले अरूमाथि शासन गर्दछन् जब कि शारीरिक श्रम गर्नेहरूमाथि अर्काले शासन गर्दछन् ।’ यसबाट दासहरू र अरू श्रमजीवीहरूमाथि शासन गर्न तथा दास मालिकको अधिनायकत्वलाई बलियो बनाउनका निम्ति आफ्नो राजनीति, कानुन, दर्शन र विचारधाराका उपकरणहरूको रूपमा भरपूर प्रयोग गरे ।

२०७६ कार्तिक २८ गते विहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :