नेकपा वैठकको दिशा निर्देश

असोज दोस्रो साता विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिको आठौं पूर्ण वैठक सम्पन्न भएको सार्वजनिकीकरणसँगै देशको राजनीतिक आकासमा आ–आफ्नो स्वार्थ र बुझाई अनुसार टिप्पणीहरु भइरहेका छन् । सञ्चार र सामाजिक सञ्जालमार्फत जनसम्बाद जारी छ भने पार्टी आन्तरिक जीवन सुदृढ गर्ने काममा लागिरहेको छ ।

वैठकले माक्र्सवादका आधारभूत प्रस्थापनालाई अझ दह्रोगरी समात्ने प्रण गर्दै जनयुद्धका सपना पूरा गर्न लड्ने प्रतिबद्धता गर्यो । अन्तर्राष्ट्रिय गीत सामूहिक रुपमा गायर वैठक शुरु गरिएको थियो वैठक कक्ष साधन सम्पन्न शहरको जस्तै झकिझकाउ र साधन सम्पन्न तथा व्यवस्थित थियो । विज्ञप्तिमा जनाइए अनुसार अनेकौं घेरामा जनमुक्ति सेना, पार्टी कार्यकर्ता र जनताले सुरक्षा दिइरहेका थिए । वैठकले सरकार र कतिपय मनोगत तथा पुर्वाग्रही मनुवाहरुको टिप्पणी विपरीत चुनौती तथा क्षतिसहित पार्टी जुझारु, रुपान्तरित र विकास हुँदै गएको निष्कर्ष निकालियो । पार्टी दलाल पुँजीवादी व्यवस्था विरुद्ध वैकल्पिक शक्ति र आशाको केन्द्र बन्दै गएको निष्कर्ष निकालियो । जनबोली र जनशैलीमा हेर्दा जनयुद्धकालमा जहाँ अन्याय हुन्छ त्यहाँ माओवादीको खोजी हुन्थ्यो । गोरखापत्रको भाषा बोल्ने सरकारी मान्छे, नेता र अवकासप्राप्त सुरक्षाकर्मी नै अन्तिम न्यायको खोजीमा माओवादी गुहार्थे । नेकपा आज त्यही स्थानमा पुग्दैछ । वैचारिक र राजनीतिक रुपले संयुक्त मोर्चाको आधार बनेको, घोषित–अघोषित सहकार्य भइरहेको सुखद विश्लेषण गरियो । सामाजिक दलाल फासिवादको विरुद्ध साझा कार्यक्रमको खोजी गर्ने, सहकार्य गर्ने निर्णयसमेत गरियो । आन्तरिक शक्तिलाई सुदृढ गरेर मात्रै फासिवाद, राष्ट्रघात विरोधी आन्दोलनको नेतृत्व गर्न सम्भव हुने निष्कर्षसहित “आफैलाई रुपान्तरण गर्दै पार्टीलाई सुदृढ गरौं, फासिवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाईमा उठाऔं” शिर्षकको राजनैतिक प्रस्ताव पारित गरियो । कार्यदिशालाई अझ उचाईमा उठाएर वैज्ञानिक समाजवादी क्रान्ति पूरा गर्ने संकल्प वैठकले गर्यो ।

ओली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकार पार्टीको पूर्व अनुमान अनुसार नै संकटमा परेको र संकटमोचनार्थ फासिवादको अभ्यास गरिरहेको निष्कर्ष छ । राष्ट्रघात, जनघात र निरंकुश चरित्र नै सरकारको असफलताको कारण हो भन्ने पार्टी निष्कर्ष छ । दुई तिहाई बहुमत प्राप्त सरकारले प्रतिपक्ष, विप्लव वा राजावादीलाई दोष थोपरेर भाग्न नपाउने धारणा पनि निकालिएको छ ।

ओली सरकारको विकल्प अर्को सरकार वा पश्चगामी विकल्पको चर्चा भइरहेको छ । प्रचण्ड, बाबुराम, मधेशवादी, राजावादी, नेपाल, देउवाको विचार, राजनीति र कार्यक्रम प्रयोगद्वारा असफल भइसकेका छन् । त्यसैलाई पुनः प्रयोगमा ल्याउनु ‘तावाबाट हाम्फालेर भुङ्ग्रोमा’ भन्ने उखान झै हुन जाने भएकोले वैज्ञानिक समाजवादी क्रान्ति गर्नु अथवा त्यो व्यवस्था लागू गर्ने नयाँ संविधान लेख्नु आजको तात्कालीक कार्यक्रम बन्न गएको छ ।

ओली सरकारले वार्ताको हल्ला गर्दै गिरफ्तारी र हत्या अभियान चलाएको छ । दक्षिणपन्थी संशोधनवादी प्रवृत्ति वार्तारुपी ढडियामा फस्ने गर्दछ । वैठकले त्यसको भण्डाफोर गर्ने निर्णय गरेको छ । त्यसैगरी वार्ता सम्बन्धि ठोस निर्णय गर्दै वैठकले षड्यन्त्र होइन पारदर्शी र औपचारिक प्रक्रिया शुरु गर्ने, प्रतिबन्ध फुकुवा गर्ने र झूठा मुद्दा खारेज गर्दै बन्दी छोड्ने गरेमा वार्ताको सन्दर्भमा सकारात्मक रुपले हेर्ने निर्णय गरेको छ । पार्टीको वार्ता सम्बन्धी पछिल्लो निर्णयलाई कतिपयले ‘मियाँ की जुती, मियाँ की सर पर’ भनेका छन् ।

नेकपाको पछिल्लो वैठकले अन्तर्राष्ट्रिय मामिलासम्बन्धी पूर्व अडान जारी राख्दै भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेप र कास्मिरी जनतामाथि भएको भारतीय साम्राज्यवादको अतिक्रमण र ज्यादतीको विरोध गर्ने निर्णय गरेको छ । अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सरकारको संकास्पद र सन्ध्या भाषाप्रति विरोध गर्दै नेपालमा अमेरिकी सेना तैनाथ गर्ने षड्यन्त्रको विरुद्ध प्रतिरोध गर्ने निर्णय गरेको छ । पिसकोर नेपाल, प्लान इन्टरनेशनल, एक्सन एड हुँदै होलीवाइनसम्म पुगेको अमेरिकी घुसपैठ ५५ अर्व डलर भिक्षादान गरेर सैन्य अखडा निर्माण गर्ने तहसम्म पुगेको खतरनाक अवस्था श्रृजना भएको छ । धर्म–राजनीतिक हस्तक्षेपलाई होलीवाइन जात्राले उदाङ्गो पारिसकेको छ । सरकारकै संरक्षणमा लागू औषद कारोबार काठमाडौं र ठूला शहरबाट हिमाल चढिसकेको छ । युवाहरुलाई सकेसम्म विदेश लखेट्ने, रहेकालाई मदिरा, लागू औषद, यौन व्यापार, धार्मिक नशा (मूलतः क्रिश्चियन)मा फसाएर, पशुचेत भएको लम्पट उपभोक्ता बनाएर सामाजिक दायित्वबाट विमुख गराउने सरकारी रणनीति देखिन्छ । चीनको विरुद्ध ब्रिटेनले चलाएको ‘अफिम युद्ध’कै स्तरमा आक्रमण भएको भन्दै सामाजिक सुरक्षा आन्दोलन चलाउने निर्णय पनि वैठकले गरेको छ । आगामी दिनमा लागू औषद, धार्मिक अतिक्रमणकारी, देहव्यापारको सञ्चालकमाथि जनकारवाही हुन सक्ने संकेत वैठकले गरेको छ ।

ओली–थापा गृह प्रशासनले गिरफ्तार गर्ने, थकाउने, गलाउने, प्रलोभनमा पार्ने र आत्मसमर्पण गराउने रणनीति बनाएको, त्यसरी गलाउन नसके भीडन्त भन्दै हत्या गर्दै गरिरहेको छ । त्यसको प्रतिरोध गर्ने र जेल नीतिसमेत वैठकले ठोस गर्यो । दलाल सरकारले अमेरिकादेखि भारतीय प्रभुसँग भीख माग्ने, एनसेलसँग राजस्व छुट दिने शर्तमा चुनाव खर्च उठाउने, जलश्रोत बेचेर, देश लुटेर अकूत सम्पत्ति विदेशी बैंकमा थुपारेको छ । चौधरी र मारवाडीलाई सांसद पद बेचेका छन् । राजदूत बनाएवापत ३० देखि ५० लाख असुल गरिन्छ । तर नेकपाले चामलदेखि बारुदसम्म किन्न जनताबाट नै चन्दा माग्ने घोषित नीतिलाई मंसिरसम्म लम्ब्याएको छ ।

पार्टीले दलाल फासिवादको प्रचार युद्धलाई निस्तेज गर्ने, जनसेवा र न्यायीक निरुपणको कामलाई तिब्र पार्ने निर्णय गरेको छ । मंसिर ८ गते पार्टी स्थापना तथा जनमुक्ति सेना दिवस मनाउन विभिन्न कार्यक्रमहरु तर्जुमा गरिएको छ । त्यसैगरी अध्यक्ष माओ स्मृति दिवस मनाउने निर्णयसमेत गरिएको छ ।

सरकारको अनेक अपरेशन, हत्या, गिरफ्तारी र गुप्तचरीको सामना गर्दै केन्द्रीय समितिको वैठक बस्नु, दस्तावेजमाथिको छलफल मात्रै २ दिनसम्म हुनुले समग्र वैठक एक सातासम्म बसेको बुझ्न सकिन्छ । अघिल्लो वैठकमा सरकारले समस्या सृजना गरेपछि यसपटकको वैठकको तयारी नयाँ शैलीमा सफलतापूर्वक सम्पन्न गरियो । वैठकले गरेका दुरगामी महत्वका निर्णयहरुको प्रभाव निकट समयमा नै प्रकट हुनेछ् । जसमा वैचारिक, राजनीतिक, संगठन, सुद्धिकरण, संघर्ष र संयुक्त मोर्चा निर्माणकोलागि निर्णयहरु भएका छन् । क्रान्तिकारी संयुक्त मोर्चा र कार्यगत एकताको लागि वस्तुगत आधारहरु बन्दै गएकोले सचेत पहलकदमी गर्ने निर्णयसमेत वैठकले गरेको छ । दलाल पुँजीपति वर्गले सत्ता कब्जा गर्यो भने सबै मोर्चाबाट विद्रोह गर्ने घोषणा दलाल पुँजीपति वर्गले संविधान जारी गर्दा नै भनिएको हो । त्यसबेला नेकपाको विचारलाई आग्रह–पूर्वाग्रहको चश्माले हेरियो । महासचिव विप्लवको भनाईमा “सतहको झूठले गहिराईको सत्यलाई यदाकदा छोपिदिन सक्छ । उत्खनन् गरेर सत्यलाई बाहिर ल्याएपछि अझै दृश्य देखिन्छ ।” आज नेकपालाई वर्गस्वार्थ र दृष्टिकोण अनुसार हेर्न थालिएको छ । दुई विश्वदृष्टिकोण र दुई परस्पर विरोधी वर्गहरुबीचको वैचारिक, राजनीतिक संघर्ष भौतिक संघर्षमा प्रवेश गरेको छ । यसबेला दलाल पुँजीवादको असफलतालाई ओली, प्रचण्ड वा देउवामा सीमित गरेर (जुन विकल्प नै होइन) जनतालाई ठग्ने–लुट्ने षड्यन्त्र भइरहेको छ । नेपाललाई मार्कोस फालेर अर्को अमेरिकी दलाल अक्विनो चाहिएको होइन । आन्दोलनको नेतृत्वसँग बलिदान र आक्रोस मात्र होइन विवेक उत्तिकै आवश्यक हुन्छ । तसर्थ नेकपाले वैज्ञानिक समाजवादी व्यवस्थालाई राजनीतिक संकटको विकल्प प्रस्तुत गरिरहेको छ ।

११ कार्तिक, २०७६

२०७६ कार्तिक १६ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :