‘गुण्डा लगाएर विद्यार्थी कुट्ने अन्सारीसँग प्रधानमन्त्रीको साँठगाँठ’

काठमाडौँ : चिकित्सा शिक्षा सङ्घर्ष समितिले कात्तिक ७ गते नेसनल मेडिकल कलेज वीरगन्जमा कलेज सञ्चालक तथा मेडिकल कलेज एसोसिएनका अध्यक्ष बसरुद्दिन अन्सारीले शान्तिपूर्ण आन्दोलन र सङ्घर्षमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कुटपिट र हातपात गरेको भन्दै घटनाको निन्दा तथा विरोध गरेको छ ।
शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दैै सङ्घर्ष समितिले जायज माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीहरूमाथि उक्त मेडिकल कलेजका सञ्चालक अन्सारीकै उपस्थिति र निर्देशनमा हातपात, कुटपिट, गालीगलौज, स्पिकर तोडफोड, ब्यानर च्यात्ने र विद्यार्थीको गाडी तोडफोड गर्नेलगायत अमानवीय र घृणित घटना गराइएकोप्रति घोर भत्र्सना गरेको हो ।

चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले उक्त घटनाको कडा निन्दा गर्दै प्रधानमन्त्री केपी शर्मा वलीसँग फोटो खिचाएर नेसनल मेडिकल कलेज वीरगन्जका सञ्चालक अन्सारीले आफू शक्तिशाली भएको देखाउन खोजेको टिप्पणी गरे । उनले भने, ‘सम्मानीय प्रधानमन्त्रीज्यू, अन्सारीले तपाईंसँग खिचेको तस्बिरको दुरुपयोग गरिरहेका छन् । यसबारेमा हामी तपार्इंको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
विद्यार्थीसँग चर्को शुल्क असुल्ने अन्सारीजस्तालाई राजनीतिक संरक्षण नदिन पनि उनले प्रधानमन्त्री वलीसँग आग्रह गरे । उनले भने, ‘विद्यार्थीले शान्तिपूर्ण आन्दोलन गरेर आफ्ना जायज माग राखिरहेको अवस्थामा कलेज प्रशासनले ज्यादती गर्दा पनि सरकार मूकदर्शक हुनु दुःखद् हो । हामी माग पूरा नभएसम्म सङ्घर्षलाई निरन्तरता दिन्छौँ ।’

उनले मेडिकल माफियाहरूले राज्यसंयन्त्रलाई नै प्रभावमा पारेर विद्यार्थीमाथि चरम दमन र शोषण गरेको हो भने आफूहरू सडक सङ्घर्षमा एप्रोनसहित कडा रूपमा उत्रिने चेतावनी दिए । उनले भने, ‘निजी मेडिकल कलेजबाट बढी शुल्क फिर्ता गराउने कुरामा सरकारलाई हाम्रातर्फबाट पूर्ण सहयोग रहन्छ ।’


प्रधानमन्त्री वलीले थ्रेट गर्नुपर्ने मान्छेसँग तस्बिर खिचाएर उल्टै संरक्षण गर्नु दुर्भाग्य भएको पनि उनको टिप्पणी छ । शक्तिको आडमा बसेर अन्सारीले विद्यार्थीहरूको गाडी तोडफोड गर्न लगाएको घट्नाको पनि उनले कडा निन्दा गरे ।

उनले भने, ’विद्यार्थीको गाडीमाथि किन तोडफोड भयो ? प्रधानमन्त्रीबाट हामीलाई यसको जबाफ चाहिन्छ ।’ आफूहरूको माग पूरा नभएसम्म एमबीबीएसको पहिलो र दोस्रो वर्षको वार्षिक परीक्षा हुनै नदिने चेतावनी पनि उनले दिए । उनले आफूहरूले उठाएको विषय कुनै सङ्घसंस्थाको भन्दा पनि राष्ट्रको विषय भएको स्पष्ट पारे ।

कार्यक्रममा समितिका प्रवक्ता नरेश भट्टले नेसनल मेडिकल कलेज वीरगन्जमा भएको घटनाको निन्दा गरे । भट्टले मुलुकबाट निरङ्कुशता हटेको भनेर दाबी गरिए पनि उक्त घटनाले अझै पनि मुलुकमा निरङ्कुशताको अवशेष बाँकी नै रहेको टिप्पणी गरे । उनले भने, ‘विद्यार्थीले शान्तिपूर्ण आन्दोलन गर्दा कलेज प्रशासन, खासमा सञ्चालक अन्सारी आफैँ उपस्थित भएर विद्यार्थीमाथि हातपात, कुटपिट र अमानवीय व्यवहार भएको छ । यो हाम्रा लागि कुनै पनि हालतमा क्षम्य छैन । हामी निरन्तर सङ्घर्षमा छौँ ।’

उनले सरकारले मेडिकल माफियाहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने माग पनि गरे । उनले भने, ‘हिजो वीरगन्जमा भएको घटनालाई हामीले चिकित्सा आन्दोलनकै कालो दिनका रूपमा लिएका छौँ ।’ उनले आफूहरूले सङ्घर्ष समिति गठन गरेको नै दुई महिना व्यतित भएको र यसबीचमा बढी शुल्क फिर्ता गर्ने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नहुनु दुःखद् भएको टिप्पणी गरे । आफूहरूले चलचित्रमा देखिने गुण्डाराज भन्दा पनि चर्को गुण्डाराज नेसनल मेडिकल कलेजको प्राङ्गणमा देखेको पनि उनको भनाइ छ । उनले अहिले पनि नेसनल मेडिकल कलेजका विद्यार्थी आफ्नै छात्रावासमा सुरक्षित नभएको बताए । यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा सङ्घर्ष समितिकी सदस्य मान्यता थापाले विद्यार्थीमाथि दमन गर्ने र हातपात गर्ने मेडिकल कलेज सञ्चालक अन्सारीसँग प्रधानमन्त्री वलीको किन साँठगाँठ भन्ने प्रश्न गरिन् । उनले भनिन्, ‘हिजो वीरगन्ज मेडिकल कलेजका सञ्चालक अन्सारीले आफैँ विद्यार्थीमाथि लात हानेको छ ।’ उनले विद्यार्थीहरू अहिले शोषित र पीडित भएको सुनाउँदै राज्य भने कानुनविहीन बनेको पनि टिप्पणी गरिन् । थापाले मेडिकल कलेजका नाममा माफियागिरी गर्नेहरूको भण्डाफोर गर्दै उनीहरूलाई जेल पठाउनुपर्ने पनि बताइन् ।

समितिका अर्का सदस्य नसिम अख्तारले नेसनल मेडिकल कलेज वीरगन्जका सञ्चालक अन्सारीले सोही कलेजमा अध्ययनरत आफ्ना नातेदार पर्ने अग्रज विद्यार्थीहरू प्रयोग गरेर शान्तिपूर्ण आन्दोलनमा रहेका नयाँ विद्यार्थीमाथि हातपात र दुव्र्यवहार गरेको आरोप लगाए । उनले भने, ‘सिनियर विद्यार्थीहरू जो जुनियरमाथि खनिए, उनीहरू अन्सारीका चम्चा हुन् । विद्यार्थीहरूको जायज माग पूरा गराउन प्रधानमन्त्रीले कुनै पहल गर्नुभएन ।’

उनले उक्त घटनापछि ‘न्याय नपाए गोरखा जानू र अन्याय हेर्न वीरगन्ज जानू’ भन्ने उक्ति लागू भएको पनि सुनाए । अन्सारीले आफूहरूलाई वीरगन्जबाट लास बनाएर पठाइदिन्छु भन्दै धम्की दिएकोमा पनि कडा आपत्ति जनाए । सरकारले दोषीमाथि तत्काल कारबाही गर्नुपर्ने पनि उनको माग छ ।


कार्यक्रममा अर्का सदस्य प्रवीण स्याङ्तानले यो घटनाबाट विद्यार्थीको अधिकारमाथि चरम दमन भएको टिप्पणी गरे । संविधानकै मौलिक हकका रूपमा स्थापित विद्यार्थीको अधिकार सुनिश्चित गर्न सबै सरोकारवाला गम्भीर हुनुपर्ने उनले बताए । विद्यार्थीसँग लिइएको बढी शुल्क तत्काल फिर्ता गर्नुपर्ने पनि उनले माग गरे ।

उनले विद्यार्थीमाथि गुण्डा लगाएर कुटपिट गराउने अन्सारीलगायत दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग पनि गरे । त्यस्तै शिक्षामन्त्रीले दुईपटकसम्म बढी शुल्क फिर्ता गर्छु भनेर सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दा पनि अहिलेसम्म कुनै कार्यान्वयन नभएको उनको गुनासो छ । गृहमन्त्रीले पनि यसबारेमा पटकपटक वचनबद्धता व्यक्त गरेको तर, विद्यार्थीको हितका लागि कुनै कदम नचालेकोमा उनले आक्रोश पोखे ।
उक्त घटनाबारे सरकारले तत्काल छानबिन गरी घटनामा संलग्न जोकोही भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने समितिको माग छ । विज्ञप्तिमा भनिएको छ, ‘साथै उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरूको मानवअधिकार सुनिश्चित गरी जनधनको रक्षा गर्न सम्बन्धित सबै सरोकारवाला निकाय, गृह प्रशासन, प्रदेश सरकार र मानवअधिकारकर्मीलाई विनम्र अनुरोध गर्दछौँ ।’ त्रिवि तथा काठमाडौँ विश्वविद्यालयअन्तर्गतका निजी मेडिकल कलेजका विद्यार्थीहरूमाथिको शोषण र लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्यसेवामा रहेका विकृतिहरू हटाउन सङ्घर्ष समिति आन्दोलित छ ।

२०७६ कार्तिक १० गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :