नेकपाद्वारा गिरफ्तारीविरुद्ध देशभर प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, केन्द्रीय सदस्य सुवाससहित दुई दर्जन नेता–कार्यकर्ताहरूलाई केपी वली सरकारले गिरफ्तार गरेको विरोधमा ३ गते देशभर जुलुस प्रदर्शन गरेका समाचार प्राप्त भएका छन् ।

पार्टीको ब्युरोस्तरीय बैठक तथा प्रशिक्षण सञ्चालन भइरहेको समयमा बैठकस्थल नै कब्जा गरी प्रहरीले नेकपाका नेताहरूलाई गिरफ्तार गरेको विरोधमा नेकपाले कात्तिक ३ गते देशव्यापी जुलुस प्रदर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते प्रधानमन्त्री केपी वलीको पुतला दहन, कात्तिक ९ गते विरोध प्रदर्शन, कात्तिक १५ गते मशाल जुलुस र कात्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने सङ्घर्षका कार्यक्रम घोषणा गरेको थियो ।

पार्टी महासचिव विप्लवले सामाजिक फासिवादी केपी–पीके सरकारले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट हतियारधारी सुरक्षा फौजले सङ्कटकाललाई बिर्साउने गरी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेकोमा घोर आपत्ति गर्दै तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने चेतावनी दिएका थिए । त्यसपछि पार्टीले सङ्घर्ष घोषणा गरेको थियो ।

काठमाडौँबाट प्राप्त समाचारअनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा नाराबाजी र विरोधसभा सम्पन्न गरिएको छ । विरोध प्रदर्शनमा प्रमुख अतिथि जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य खेम प्रधान रहेका थिए । कार्यक्रममा ‘दलाल फासिवादी पीके सरकार मुर्दावाद, गिरफ्तार नेता–कार्यकर्तालाई रिहा गर, वैज्ञानिक समाजवाद स्थापना गरौँ, एकीकृत जनक्रान्ति जिन्दावाद’ लगायत नारा लगाएका थिए ।

कार्यक्रममा प्रधानले ‘दलाल फासिवादी सरकारले अब पनि गिरफ्तार गरिएका पार्टीका नेता–कार्यकर्ता बिनासर्त रिहा नगरे आगामी दिनमा झन् सशक्त रूपमा अगाडि बढ्ने, यस्ता गतिविधि नरोके भौतिक रूपमा नै अघि बढ्न तयार भइसकेको’ बताएका थिए ।

सङ्घर्षका कार्यक्रम
कात्तिक ३ गते जुलुस र प्रदर्शन
५ गते कोणसभा र पिँढीसभा
७ गते केपी वलीको पुतलादहन
९ गते विरोध प्रदर्शन
१५ गते मशाल जुलुस
१७ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम ।

२०७६ कार्तिक ४ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :