इन्डोप्यासिफिक रणनीतिमा नेपाललाई सहभागी नहुन विज्ञहरुको चेतावनी


काठमाडौं : विभिन्न क्षेत्रका विज्ञहरुले अमेरिकाको इन्डोप्यासिफिक रणनीतिमा नेपाललाई सहभागी नहुन चेतावनी दिएका छन् । साथै नेपाल आफ्नो विदेश नीतिमा स्पष्ट हुनुपर्नेमा पनि जोड दिएका छन् । शनिबारमा काठमाडौंमा विश्वमामिला प्रतिष्ठानले गरेको हिन्द प्रशान्त रणनीति र नेपाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल विभिन्न शक्ति राष्ट्रको क्रिडास्थल हुने गम्भीर खतरा रहेको, नेपाललाई शक्ति राष्ट्रहरुले अनावश्यक रुपमा प्रयोग गर्न खोजेको भन्दै सरकारले स्पष्ट रुपमा आफ्नो विदेश नीति बनाउनुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा प्रगतिशील लेखक संघका समिर सिंहले साम्राज्यवादी शक्तिहरुले आफ्नो शक्ति कसरी प्रर्दशन गर्ने भन्ने विषयमा हिन्द प्रशान्तको नाममा हाम्रो देशलगाएतका देशहरुलाई कब्जा गर्ने साम्राज्यवादी रणनीति हो भन्दै नेपालमा प्राकृतिक, आर्थिक, सांस्कृतिक र राजनितिक रुपमा कसरी प्रभुत्व कायम गर्न सकिन्छ भनेर शक्ति राष्ट्रहरुबीच चलखेल भइरहेको बताए । उनले उदयमान शक्तिका रुपमाअघि बढेको चीनलाई एक्ल्याउनकालागि अमेरिकाले हिन्द प्रशान्त रणनीतिलाई अघि सारेको बताउँदै साम्राज्यवादी मुलुकहरुको चपेटामा नेपाल पर्न नहुनेमा जोड दिए । अहिले चीनले अघि सारेको बिआरआई को विपरित रुपमा इन्डोप्यासिफिक रणनीति अघि आएको बताउँदै त्यसबारेमा नेपाल स्पष्ट हुनुपर्नेमा जोड दिए ।

सुरक्षाविद् एवं नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्नेतले नेपाल सिध्याउनका लागि नेपाली संस्कृतिमाथि प्रहार हुन थालेको बताए । उनले भने, जतिखेर जुन देशको धर्मसंस्कृति ध्वस्त पारिन्छ, त्यसपछि त्यो देश नै ध्वस्त पार्न सकिन्छ भन्ने मान्यताका साथ नेपालमाथि आक्रमण भइरहेको छ । विश्वमा अमेरिकाले जति पनि गतिविधी गरिरहेको छ, त्यो प्राकृतिक स्रोतमाथी कब्जा जमाउनका लागि गरिरहेको टिप्पणी गरे ।

डा. नन्दबहादुर सिंहले हिन्द प्रशान्त नीति भनेको प्राकृतिक स्रोत साधन कब्जाको नीति भएको भन्दै नेपालको परराष्ट्र नीतिको सवालमा सबैदलहरु एकैठाउँमा आएर राष्ट्रिय परराष्ट्र नीति बनाउनुपर्ने बताए । उनले भारतका विभिन्न पार्टीको आफ्नो सिद्धान्त विचार भएपनि राष्ट्रिय नीतिमा एक ठाँउमा भएको बताउदै नेपालमा यस्तो किन हुन सकिरहेको छैन भन्दै प्रश्न गरे । उनले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनका लागि थिङ्क ट्याङ्कको निर्माण गर्नुपर्नेमा जोड दिए ।

डा. मृगेन्द्रबहादुर कार्कीले इन्डोप्यासिफिक रणनीति चीनको बिआरआई कार्यक्रमलाई शान्तिपूर्ण रुपमा हत्याउने गरी आएको उल्लेख गरे । उनले नेपालको आफ्नो स्पष्ट विदेश नीति हुनुपर्ने बताउँदै पार्टी र आफ्नो स्वार्थबाट पर रहेको थिङ्क ट्याङ्कहरुको विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अर्का वक्ता देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष नेता सिपी गजुरेलले इन्डोप्यासिफिक रणनीति नेपालको स्वाधिनता र राष्ट्रियतासँग जोडिएको विषय भएको बताउँदै यो रणनीतिमा संलग्न भए नेपालको असंलग्न परराष्ट्र नीति खारेज हुने उल्लेख गरे । उनले अमेरिकाले उदयमान शक्ति राष्ट्र चीनलाई लक्षित गरेर यो रणनीति ल्याएको हो । अमेरिकाद्वारा प्रायोजित इन्डोप्यासिफिक रणनीतिले तत्काल प्रभाव नपारेपनि भविष्यमा यसले नेपालमा ठुलो प्रभाव पार्छ । यो रणनीतिमार्फत अमेरिका नेपालमा आर्थिक, राजनीतिक र फौजी रुपमा प्रवेश गर्न लागेको भन्दै त्यसलाई नेपाली जनताले रोक्नुपर्ने बताए । उनले सत्ताधारी पार्टीले दुईथरी नीति लिएको बताउँदै चीन गएको बेला राष्ट्रपतिले बिआरआई भनेर भोज खाएर आउने यता आए पनि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएर इन्डोप्यासिफिक रणनीतिमा हस्ताक्षर गरेर अमेरिका र चीनलाई खेलाउने काम गरेको आरोप लगाए ।

कार्यक्रममा नेता नरबहादुर कार्कीले स्वागत मन्तव्य राख्दै नेपालीको काँधमा बन्दुक राख्नकालागि नेपाल इन्डोप्यासिफिकमा संलग्न नबनोस् भन्दै स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता विश्वमामिला प्रतिष्ठानका अध्यक्ष खगेश्वर केसीले गरेका थिए भने नारायण न्याैपानेले सञ्चालन गरेका थिए ।

२०७६ असोज ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :