रिहा भएलगत्तै पराजुली लगायत ३ जना पुनः गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाका तात्कालीन सेक्रेटरी गोकुल पराजुली लगायत चार जना नेताहरूलाई ठूलो रकम धरौटी माग गर्ने जिल्ला अदालत स्याङ्जाको आदेशलाई उच्च अदालत पोखराले उल्ट्याउँदै साधारण तारेखमा रिहा गर्न आदेश दिएपनि रिहा भएलगत्तै गोकुल लगायत ३ जना पुनः गिरफ्तार परेका छन् भने मिसिरा नेपाली भाग्न सफल भएकि छिन् ।

जिल्ला अदालत स्याङ्जाले जिल्ला सेक्रेटरी पराजुली, सागर अर्याल, गोविन्द ओली र मिसिरा नेपालीलाई एनसेल टावरमा क्षति पुर्याएको भन्दै प्रति व्यक्ति दुई लाख रूपैयाँ र विष्फोटक पदार्थ सम्बन्धि मुद्दामा प्रति व्यक्ति दुई लाख २० हजार धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको थियो तर नेकपाका नेताहरूले अदालतको आदेशलाई अस्वीकार गर्दै स्याङ्जा जिल्ला कारागार गएका थिए ।

आफुहरूलाई अस्वाभाविक धरौटी माग गरिएको भन्दै जिल्ला अदालत स्याङ्जाको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै नेताहरू उच्च अदालत पोखरामा रिट दिएका थिए । उनीहरूको रिट निवेदनका बारेमा फैसला गर्दै उच्च अदालत पोखराले सो धरौटी रकम माग अस्वाभाविक भन्दै साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

गोकुल पराजुली, सागर अर्याल र गोविन्द ओलीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको शाखा बैदाममा लगिएको समाचार प्राप्त भएको छ ।

२०७६ भदौ २८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :