अदालतको आदेशमा रिहा भएका पत्रकार हमाललाई जनपत्रकार संगठनद्धारा स्वागत

काठमाडौँ : सर्बोच्च अदालतको आदेशमा रिहा भएका जनपत्रकार संगठनका केन्द्रीय सदस्य ओम हमाललाई संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव राम प्रसाद दाहाल, संगठनका केन्द्रीय महासचिव हिम विष्टले स्वागत गरेका छन् । मंगलबार पत्रकार हमाल रिहा भएपछि जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले हमाललाई स्वागत गर्दै उनको रिहाईको लागि पहल गर्ने र दबाब सिर्जना गर्ने सबैलाई संगठनको तर्फबाट धन्यवाद दिएका छन् ।

हमाल सर्वोच्च अदालतको दोस्रो पटकको आदेशमा रिहा भएका हुन् । बन्दी प्रत्येक्षीकरणको रीटमा सुनुवाई गर्दै गत मंगलबार सर्वोच्च अदालतको आदेशमा रिहा भएपनि गेटबाटै प्रहरीले पक्राउ गरेको थियो । पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भन्दै जनपत्रकार संगठनकी सदस्य मोनिका गुरूङले पुनः बन्दी प्रत्यक्षीकरणको रीट दायर गरेकी थिईन् ।

रीटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले पत्रकार हमाललाई रिहा गर्न आदेश दिएको हो । भदौ ६ गते पक्राउ परेका हमाललाई मंगलबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि गेटबाटै प्रहरीले पक्राउ गरेको थियो । अघिल्लो पटक राज्य विरुद्धको मुद्दा लगाएको प्रहरीले दोस्रो पटक दुरव्यहार सम्बन्धी मुद्वा लगाएर थुनामा राखेको थियो ।

पत्रकार हमालको रिहाइको लागि देशभरका पत्रकार सम्बद्ध संघ संगठनहरुले दबाब दिदै आएका थिए भने जनपत्रकार संगठन नेपालका केन्द्रीय पदाधिकारीहरु हमालको गैरकानुनी गिरफ्तारीको विरुद्ध नेपाल पत्रकार महासंघ लगायत पत्रकार सम्बद्ध संघ संगठनहरु संग भेटघाट एवम् छलफल गरी विचार तथा आस्थाका आधारमा गिरफ्तार पत्रकारहरुको पक्षमा दबाब दिन अनुरोध गर्दै आइरहेका थिए ।

२०७६ भदौ २४ गते मंगलबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :