दाइजोमा मोटरसाईकल नल्याएको भन्दै दुलहीको हत्या

रौतहट : रौतहटमा दाइजो नल्याएको भन्दै एक महिलाको हत्या गरेको आरोपमा श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । बिहेमा मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका ७ अकोलवाकी २५ वर्षीया सन्जु देवीको हत्या गरेको आरोपमा श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

 मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा रामबाबु र ससुरा मोहनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । घटना शंकास्पद रहेकाले उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको उनले बताए । पोष्टमार्टमपश्चात् शव परिवारजनलाई जिम्मा लगाइएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।

सन्जुको बिहीबार साँझ हत्या भएको मृतकका बाबु अविलास सहनीले बताए । अविलासले प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख भएअनुसार रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै सन्जुलाई कुटपिट गर्दथे । केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाई छ ।

बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरूले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको मृतकका बुबा अविलासको दाबी छ ।
केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान् र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाब दिने गरेको कुरा आफूलाई जानकारी गराएको बुबा अविलासले बताए ।

२०७६ भदौ २२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :