नेकपाद्वारा सुराकीलाई चेतावनी

मोरङ : नेकपा मोरङ–धनकुटा संयुक्त जिल्ला समितिले पार्टी संयुक्त जिल्ला समितिकी सदस्य, अखिल नेपाल महिला सङ्गठन (क्रान्तिकारी) की केन्द्रीय सदस्य तथा जिल्लाकी संयोजक जमुनादेवी थापालाई प्रहरीले शुक्रबार आफ्नै घरमा बसिरहेको समयमा गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । जिल्ला समितिका इन्चार्ज प्रभातले शनिबार प्रेसविज्ञप्ति जारी गर्दै सुराकीहरूलाई चेतावनी दिएका छन् । उनले जमुनादेवी थापालाई बिनासर्त तत्काल रिहा नगरिए सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।

इन्चार्ज प्रभातको विज्ञप्तिमा भनिएको छ, ‘दलाल, सामाजिक फासिवादी, अलोकप्रिय र बदनाम केपी–पीके सरकारका लठैत प्रहरीहरूले हाम्रो पार्टी मोरङ–धनकुटा संयुक्त जिल्ला समिति सदस्य, अखिल नेपाल क्रान्तिकारी महिला सङ्गठनकी केन्द्रीय सदस्य तथा जिल्लाकी संयोजक कमरेड जमुनादेवी थापालाई हिजो मिति २०७६/०४/२४ गते केराबारी ६ डाँगीस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा गुण्डागर्दी शैलीमा गिरफ्तार गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी यो गुण्डागर्दी शैलीप्रति निन्दा र भत्र्सना गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यतिबेला दलाल पुँजीवादका पाल्तु कुकुरहरू आमनेपाली जनता र राष्ट्रलाई चारैतिरबाट लुछिरहेका छन् । त्यसको मुख्य नेतृत्व केपी–पीके नामका झापा विद्रोह र जनयुद्धका भगौडा, चाटुकारले गरिरहेका छन् । त्यसको मतियारी समाजमा बसेर जनतालाई झुक्याउंदै भ्रष्टाचारमा लिप्त भएका घृणित अनुहारहरू र एकीकृत जनक्रान्तिका भगौडाहरूले समेत गरिरहेका छन् । दलालहरूको लुटको सत्तामा जनताका बीचबाट प्रहार भइरहेको बज्रपात सहन गर्न नसकेर बहुला कुकुरजस्तो बरालिएका रेबिज सङ्क्रमितहरू यतिबेला जनताको आशा, विश्वास र भरोसा बनेको हाम्रो गौरवशाली पार्टीमाथि जथाभाबी जाइलागेका छन् । हत्या, गिरफ्तार र विभिन्न किसिमका दमन चौतर्फी लादिएको छ । सबै घटनाक्रमले स्पष्ट गरेको छ– दलालहरूको सत्ता खरानी हुने कुरा त्यति पर छैन ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो पार्टी मोरङ–धनकुटा संयुक्त जिल्लामा प्रहरी प्रशासनको दमन र ज्यादती बढ्न थालेको छ । सर्च अपरेसनका नाममा जनताको घरघरमा गएर जनतालाई अनावश्यक दुःख दिने, धरपकड गर्ने, कुटपिट गर्ने काम यतिबेला भैरहेको छ । हामी यस्ता जनदमन तुरुन्त बन्द गर्न सरकारलाई चेतावनी दिन चाहन्छौँ । हाम्रो पार्टीमाथि सुराकी गर्नेहरूलाई आफ्ना हर्कत बन्द गर्न गम्भीर चेतावनी दिन चाहन्छौँ र गिरफ्तार कमरेड जमुनादेवी थापालाई तुरुन्त रिहा गर्न माग गर्दछौँ । अन्यथा सशक्त प्रतिरोध गरिनेछ ।’

२०७६ साउन २६ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :