नेपाली जनप्रगतिशील मोर्चा युरोप र जर्मनीको संयुक्त विस्तारित बैठक


मुन्स्टर/जर्मनी : नेपाली जनप्रगतिशील मोर्चा युरोप र नेपाली जनप्रगतिशील मोर्चा जर्मनीको संयुक्त विस्तारित बैठक सम्पन्न भएको छ । नेपाली जनताको वैज्ञानिक समाजवादी आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्दै आएको मोर्चाको बैठकमा नेपालको राजनीतिक परिस्थिति, युरोपमा रहेका नेपालीहरूमा मोर्चाको गतिविधिप्रति बढ्दै गएको सकारात्मक चासो, मोर्चामा सङ्गठित हुन चाहने नयाँ साथीहरूको अवस्था र विविधखाले स्थानीय शक्तिहरूसँग आगामी दिनमा गरिने सहकार्यका विषयमा छलफल भयो ।

मोर्चाको युरोपका अध्यक्ष विष्णु भुजेलको अध्यक्षतामा सम्पन्न बैठकले दुवै सङ्गठनको आगामी एक कार्यकाल थप गर्ने निर्णय गरेको छ । त्यस्तै गरेर युरोप मोर्चामा जर्मनीबाट रामदास श्रेष्ठ, गङ्गालाल श्रेष्ठ, किरण श्रेष्ठ, बेल्जियमबाट दिल आले, रकेन्द्र घिमिरे, पोर्चुगलबाट टङ्क खड्का र प्रकाश बस्याललाई केन्द्रीय सदस्यमा चयन गरेको छ । साथै जनअधिकार अभियान नेपालका महासचिव राम भण्डारीलाई सल्लाहकारमा चयन गरेको छ ।

नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापोले स्वागत मन्तव्य राखेको उक्त बैठकले नेपाली जनप्रगतिशील नेपाली जनप्रगतिशील मोर्चा जर्मनीको केन्द्रीय सदस्यको जिम्मेवारीमा भीम सुनुवार र दीपक देवकोटालाई चयन गरेको छ भने गङ्गालाल श्रेष्ठलाई केन्द्रीय सल्लाहकारको रूपमा चयन गरेको छ । युरोपको व्यस्तताका कारण भौतिक रूपमा उपस्थित हुन नसकेका मोर्चाका सङ्गठित सदस्यहरूलाई स्काइपबाट सहभागी गराइएको थियो । उक्त बैठकको समापनलगत्तै मोर्चाको आयोजनामा भव्य समर बार्बेक्यु कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त बार्बेक्यु कार्यक्रममा मोर्चाको निमन्त्रणालाई स्वीकार गरेर आएका नेपाली सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले मोर्चाको आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । शुभकामना व्यक्त गर्नेमा प्रवासी एकता मञ्च जर्मनी प्रतिनिधि तथा चौतारी समाज जर्मनीका अध्यक्ष कृष्णप्रसाद गौतम, नेपाली जनसम्पर्क समिति जर्मनीका शिखर खड्का, किराँत याक्थुङ चुम्लुङ जर्मनीका विक्रम कन्दङ्वा तथा एकता समाज मुन्स्टर जर्मनी तथा मुना म्याग्दी जर्मनीका अध्यक्ष शिव श्रेष्ठ थिए ।

उक्त कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेखबहादुर गुरुङ, नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका महासचिव प्रदीप अधिकारीको पनि उपस्थिति थियो । नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि विष्णु भुजेलले विभिन्न सङ्घसंस्था तथा व्यक्तित्वहरूको जिज्ञासा तथा सुझावहरूलाई समेट्दै मन्तव्य दिएका थिए । भुजेलले नेपालमा दलाल पुँजीवादी सत्ताका कारण देश राष्ट्रिय सङ्कटतर्फ उन्मुख भएको र यसको समाधान कुनै संसद्वादी दलले दिन नसक्ने हुनाले व्यवस्थामा नै परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे । सबै मिलेर देशलाई वैज्ञानिक समाजवादी बाटोमा लैजाने निर्णय गर्नुपर्ने र त्यस विषयमा केन्द्रित वार्तामा मात्र विप्लव नेतृत्वको नेकपा सहभागी हुने मोर्चाको बुझाइ रहेको कुरा राख्दै उनले मोर्चा पनि त्यो अभियानमा रहेको प्रस्ट्याए ।

कार्यक्रममा उपस्थित सबैलाई नेपाली जनप्रगतिशील मोर्चा युरोपका केन्द्रीय सदस्य तथा नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका सल्लाहकार भक्त श्रेष्ठले स्वागत गरेका थिए भने मोर्चाका महासचिव सुवर्णबाबु सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

२०७६ साउन २२ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :