हल्लामै सीमित वार्ता प्रयास


काठमाडौं : सरकार र नेपाल कम्युनिस्ट पार्टी बीचमा वार्ताको भित्रभित्रै प्रयास भैरहेको चर्चा बिस्तारै सेलाउँदै गएको छ । वार्ताका पक्षपातीहरूलाई त्यसले निरास पारेको छ ।

सरकारले विद्रोही पक्षसँग सर्तहरू तेस्र्याएर वार्ता नचाहेको सन्देश प्रवाह गरिरहेको बेला पछिल्लो समयमा सरकारमाथि नेकपासँग बिनासर्त वार्तामा बस्न दबाब बढिरहेको छ । वार्ताको वातावरण बनेमा आफ्नो पार्टी वार्तामा बस्न तयार रहेको सन्देश नेकपाले प्रवाह गरिरहेको छ ।

त्यसो त नेकपाले आफ्नो पार्टी सत्तारूढ पक्षसँग वार्तामा बस्न नीतिगत रूपमा तयार रहेको धारणा यसपूर्व नै सार्वजनिक गरेको थियो । संसदीय व्यवस्थामा फर्कने भए मात्र वार्तामा बस्ने अन्यथा दमन गरेर जाने सरकारी रणनीति देखिन्छ । नेकपा भने राजनीतिक प्रणालीमै बहस गर्न चाहन्छ र उसले परम्परागत संसदीय व्यवस्था अस्वीकार गर्दै आएको छ । सरकार सर्तसहित र नेकपा बिनासर्त वार्ताको पक्ष र विपक्षमा देखिन्छन् । वार्ताका विषयमा प्रम केपी वली पक्ष र नेकपाका बीचमा बहस चलिरहेको बेला सरकारले सर्लाहीमा नेकपाका नेता कुमार पौडेलको योजनाबद्ध रूपमा नियन्त्रणमा लिएर हत्या गर्यो भने काठमाडौँबाट नेकपाका केन्द्रीय सदस्य माइला लामालाई मध्यरातमा गिरफ्तार गर्यो । सरकारले एकातिर वार्ताको हल्ला तीव्र पार्ने र देशव्यापी दमन, हत्या, झूट्टा मुद्दा, गिरफ्तारी तीव्र पारेको छ । नेकपाले सरकारी हर्कतलाई ‘वार्ताको हल्ला गरेर दमन गर्ने षड्यन्त्र’ भनेको छ । नेकपाले यसप्रकारको राजनीतिक अन्योललाई शान्तिप्रक्रियाको असफलता भनेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै उक्त दाबी गरेका हुन् । शनिबार जारी विज्ञप्तिमा भनिएको छ–

‘साउन ४ गते राति सुतिरहेको समयमा काठमाडौँ काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’ लाई राष्ट्रघाती, व्यभिचारी, लुटेरो, दलाल, हत्यारो, गुण्डा नायक प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको छ । यसले आफ्नै काठमाडौँ अदालतसमक्ष गिरफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेस गर्न पनि सकेन । त्यसपछि नाङ्गो झूट र नक्कली बहानामा जेल चलान गर्यो । वली–वादलमण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरूको हर्कत माथ गर्ने निरङ्कुश र आततायी गिरफ्तारी एवम् दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।’

‘२०६२/०६३ सालमा भएको शान्तिवार्ताका नाममा प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसद्वादीहरूको यथास्थितिवादी चिन्तन र विदेशी शक्तिकेन्द्रको हस्तक्षेपमा देश र जनतामाथि प्रतिक्रान्ति लादियो । त्यसका विरुद्ध हाम्रो पार्टीले लगातार सङ्घर्ष गर्दै आएको छ । देश राजनीतिक सङ्कटतिर झन्झन् फस्दै गएको छ । हाम्रो पार्टीमाथिको प्रतिबन्धले वली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपले नाङ्गिएको र सङ्कटमा परेको छ । त्यही सङ्कटमाथि पर्दा हाल्न वार्ताको हल्ला गरेको छ । सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्रबाहेक अरू केही छैन । त्यसकारण दमन, षड्यन्त्र र हत्या बन्द गर्न चेतावनीसहित सङ्घर्षका कार्यक्रम घोषणा गर्दछ ।’

२०७६ साउन १६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :