नेकपाद्वारा देशभरी भित्तेलेखन र जनश्रमदान अभियान सञ्चालन


सुनसरी : नेपाल कम्युनिस्ट पार्टीले ‘संगठन सुदृढीकरण तथा बिस्तार अभियान’ सरकारको दमन तथा धरपकडका बाबजुत बैठक, छलफल, भित्तेलेखन, जनश्रमदान, शहर तथा गाउँगाउँमा भेला तथा प्रशिक्षण लगायत नेता तथा कार्यकर्ताहरु अभियानमा होमिएका छन् । प्रहरी प्रशासनले नेकपाका नेता कार्यकर्ताको खोजी र गिरफ्तारी बढाइरहेका बेला उनीहरु भने अभियान लिएर नागरिकको घरदैलोमा पुगेका छन् ।

केहिदिन अघिमात्र काठमाडौंको काँडाघारीबाट नेकपाका केन्द्रीय नेता तथा जनप्रिय कलाकार माइला लामालाई प्रहरीले गिरफ्तार गरी जेल चलान गरिसकेको छ । देशभरबाट नेकपाका नेता कार्यकर्ता पक्राउ गर्ने क्रम जारी छ ।

नेकपाका महासचिव विप्लवले भने केहि दिन अघि एक विज्ञप्ति जारी गर्दै सरकारको यस्तो रवैयाप्रति सशक्त प्रतिरोध गर्ने बताएका थिए । यतिबेला नेकपाका नेता कार्यकर्ता भने सुरक्षा चुनौतिका बाबजुद प्रतिबन्धको सामना गर्दै संगठन सुदृढीकरण तथा बिस्तार अभियानमा तिव्र रुपले लागिपरेका छन् ।

यतिबेला सत्तामा रहेको दुईतिहाई बहुमतको कम्युनिस्ट सरकारले नै नेकपाका नेता कार्यकर्तामाथि गोली प्रहार गर्ने आदेश सुरक्षा निकायलाई दिइसकेको छ भने तीन जना नेता कार्यकर्ता प्रहरीको गोलीबाट मारिएका छन् । यता नेपाल कम्युनिस्ट पार्टी सुनसरीले जिल्लामा सांगठनिक अभियानलाई तिब्रताको साथमा जनताको घरघरमा गई सञ्चालन गरिरहेको छ ।

संगठन बिस्तार तथा सुदृढीकरण अभियान सँगसँगै भित्तेलेखनलाई पनि तिब्रताका साथ अघि बढाइएको जिल्ला सेक्रेटरी सन्देशले बताए । जनताले यो व्यवस्था र राज्यसत्ताको विकल्प खोजेको भन्दै अब सबै नेपाली जनताले वैज्ञानिक समाजवाद नै अबको विकल्प रहेको पनि उनले बताए ।

 

 

नेकपाले जिल्लाका सबै उप–महानगरपालिका, नगरपालिका र गाँउपालिकाका विभिन्न स्थानमा भित्तेलेखनसमेत गरिरहेको जिल्ला स्तरीय नेता क्षितिजले बताए । धरान उप–महानगरपालिका, इटहरी उप–महानगरपालिका, बराह नगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका र रामधुनी नगरपालिका लगायतका स्थानमा स्थानीय बासिन्दाको सक्रियतामा भित्तेलेखन गरिएको उनले बताए ।

 

नेकपाले भित्तेलेखनमा एकीकृत जनक्रान्ति – जिन्दावाद, दलाल पँुजीवादी सत्ताको विकल्प – बैज्ञानिक समाजबाद, जन हत्यारा सरकार – मुर्दाबाद, नेकपामाथि लागएको प्रतिबन्ध – खारेज गर, भ्रष्टाचारीहरुको सम्पत्ति – राष्ट्रियकरण गर, जनसत्ता – लागु गरौं, बैज्ञानिक समाजवाद – जिन्दावाद, संसदीय व्यवस्था – मुर्दावाद लगायतका दर्जनौं नाराहरु लेखेका छन् ।

२०७६ साउन ११ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :