सरकारको प्रतिक्रान्तिकारिता र प्रतिगामिता

केपी वली–पीके दाहाल–रामबहादुर थापामण्डलीको सरकारले देशभर हत्याशृङ्खला मच्चाउनुका साथै राज्यआतङ्क उत्पन्न गरेर प्रतिक्रान्तिकारिता र प्रतिगामिताको निकृष्ट स्वरूप प्रदर्शन गरेको छ । वली सरकारको रामबहादुर गृहप्रशासनले भोजपुर सदरमुकाममा आफ्नो परिवारका सदस्यसँग भेटघाट गरेर कार्यक्षेत्र फर्कने क्रममा बाटोमा जम्काभेट हुँदा भोजपुरमा गत जेठ ७ गते कमरेड तीर्थराज घिमिरे ‘राजु’ लाई गिरफ्तार गरी हत्या गर्ने समूहका हत्यारा प्रहरी सञ्जीव राईको प्रतिरोध गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य एवम् ओखलढुङ्गा जिल्ला सेक्रेटरी कमरेड निरकुमार राई ‘प्रशान्त’ को हत्या गरेर आफ्नो फासिवादी चरित्र देखाएको छ । कमरेड कमरेड निरकुमार राई ‘ प्रशान्त’ एकीकृत जनक्रान्तिका दसौँ महान् सहिद बन्नुभएको छ । मुलुकलाई दलाल पुँजीवादको चङ्गुलबाट मुक्त गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने क्रममा एकीकृत जनक्रान्ति तीव्र रूपमा अघि बढिरहेको छ भने यसै सिलसिलामा योद्धाहरूको बलिदानीको सङ्ख्या र घनत्व पनि बढिरहेको छ । असार ५ गते प्रहरीले गिरफ्तार गरी कायरतापूर्ण हत्या गरेका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेलको रगत नसुक्दै रक्तपिपासु वली सरकारले फेरि अर्का एकजना होनहार क्रान्तिकारी योद्धाको रगतले नेपाली धरती सिँचेको छ । फासिवादी सत्ताको प्रतिरोधमा क्रान्तिकारी शौर्य, त्याग र साहसका साथ उत्सर्ग प्राप्त गर्ने कमरेड प्रशान्तप्रति उच्च सम्मान प्रकट गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु क्रान्तिकारीहरूको दायित्व र कर्तव्य हो । महान् जनयुद्धको बलिदानीलाई प्रतिगामी सत्ताको पाउमा सुम्पिएर नेपाली जनताको विद्रोहको अधिकार समाप्त पार्ने केपी वली– पीके दाहाल र रामबहादुरहरूको दुःस्वप्न नेपाली जनताले कहिल्यै पूरा हुन दिने छैनन् । क्रान्तिको ज्वारभाटाले तिनका दुःस्वप्नहरूलाई छिट्टै धूलीसात गरिदिनेछ ।

केपी–पीकेमण्डली आफ्नो इतिहास र गौरवप्रति पनि निरन्तर कृघ्न बन्दै गएको छ । तत्कालीन प्रचण्डलाई जनमुक्ति सेनाको सुप्रिम कमान्डर बनाउने जनमुक्ति सेनाका योद्धाहरुलाई अपमानपूर्ण विघटन गरेर मात्र उनीहरुको सपना पूरा भएको छैन, ‘ जँघार त¥यो, लौरो बिस्र्यो’ र ‘हिँड्दैछ, पाइला मेट्दैछ’ को शैलीमा जनमुक्ति सेनाका योद्धाहरुलाई अपराधी करार गर्दै जेल पठाउने निर्णय गराएर वली र दाहालमण्डलीले इतिहासमा कहिल्यै नमेटिने अर्को कलङ्कको टीका लगाएका छन् । महान् जनयुद्धको समयमा तत्कालीन शाही अमेरिकी सेनाबाट विद्रोह गरी महान् जनमुक्ति सेनामा लामबद्ध भएका कमरेड झलकुमार भगत र सिंहबहादुर शाहीलाई केपी वली–पीके दाहालको फासिवादी सत्ताको निर्देशनमा यही असार २४ गते दण्डित गर्ने र जेल हाल्ने फैसला गरिएको छ । यिनै पुष्पकमल दाहाल, रामबहादुर थापाहरूले प्रचण्ड र बादलका नाउँमा तत्कालीन शाही सेना र प्रहरीका विभिन्न निकायका सैनिक र अधिकारीहरूलाई विद्रोह गरी राजतन्त्र ढाल्ने र जनतन्त्र स्थापना गर्ने जनयुद्धमा लामबद्ध हुन आह्वान गरेका थिए । उनीहरूकै आदेश र निर्देशनमा कयौँ सैनिक र प्रहरी विद्रोह गरी जनमुक्ति सेनामा लामबद्ध भएर तत्कालीन सत्ताका विरुद्ध लडेका थिए । उनीहरुले युद्धमैदानमा जनताका तर्फबाट बलिदानसमेत गरेको गौरवशाली इतिहास छ । जनयुद्धमा दसौँ हजार नेपालीको रगत बगेकैले सामन्तवादको प्रतिनिधि संस्था राजतन्त्र धराशयी बनेको थियो । तिनै योद्धाहरूको त्याग, शौर्य, साहस र बलिदानीका कारण आज केपी, पीके र रामबहादुरहरू कथित सङ्घीय गणतन्त्र नेपालमा सत्तासीन बनेका छन् । तर हिजोको आततायी सत्ताबाट विद्रोह गरी जनयुद्धमा लामबद्ध भएर बलिदान हुन तयार भएका योद्धाहरूमाथि दण्डित गर्ने अन्यायपूर्ण निर्णय गर्नु भनेको राजनीतिक प्रतिक्रान्तिको नाङ्गो रूप हो । यसप्रकारको लज्जास्पद निर्णय गराउनुअघि पुष्पकमल दाहाल र रामबहादुर थापाहरूले हिजो आफूहरूले विद्रोह गर्न गरेको अपिललाई सम्झिनु पथ्र्यो तर उनीहरूको विद्रोहचेत र इतिहासस्मृति शून्यमा मात्र होइन, उल्टो गतिमा दौडिइरहेको छ । त्यसैले उनीहरू जनयुद्धमा लामबद्ध हुँदा पार्टीको निर्णय कार्यान्वयन गराउने बालकृष्ण ढुङ्गेलहरूलाई जेल हाल्दै माफी मगाएर जेलमुक्त गराउने दुष्कार्य गराइरहेका छन् भने हिजो शाहीसत्ता ढाल्न त्यहाँबाट विद्रोह गरी जनयुद्धमा लामबद्ध भएर जनमुक्ति सेना बनेर लड्ने झलकुमार भगत र सिंहबहादुर शाहीहरुलाई दण्डित गर्ने फैसला गराइरहेका छन् । यो उनीहरूको नैतिक पतनको पराकाष्टा हो । सत्ताको प्रतिक्रान्तिकारिता र प्रतिगामिताको निकृष्ट रूप हो । यस कार्यको जति निन्दा र भत्र्सना गरे पनि कमै हुन्छ ।

केपी–पीकेको निर्देशनमा गराइएको यसप्रकारको निकृष्ट निर्णयप्रति जनयुद्धको उत्तराधिकारी नेपाल कम्युनिस्ट पार्टीले खेद एवम् भत्र्सना गरेको छ । नेकपाले योद्धाहरूलाई विभिन्न आरोप लगाउँदै जेल हाल्ने सर्वोच्च अदालतको फैसलाप्रति आपत्ति जनाउँदै मुद्दा तुरुन्त फिर्ता गरी ससम्मान रिहा गर्न जोडदार माग गरेको छ । न्यायका पक्षपाती सबैले यो अन्यायपूर्ण फैसला दुत्कार्दै बिनासर्त दुवैजनालाई रिहा गर्न माग गर्नुपर्दछ । उक्त निन्दनीय एवम् भत्र्सनायोग्य घटनालाई लिएर पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश हुने विषय जनयुद्धको विषय हो र त्यसप्रकारका प्रश्नहरूको समाधान विस्तृत शान्तिसम्झौतामा गरिसकिएको दाबी गरिएको छ । तर प्रचण्ड–बाबुरामको नेतृत्वमा भएको जनयुद्धमा सहभागी कमरेडहरू झलकुमार भगत र सिंहबहादुर शाहीलाई प्रचण्डकै नेतृत्वको सरकार भएको समयमा दण्डित गर्ने अदालतको फैसला खेदजनक र अस्वीकार्य छ । तसर्थ असार २४ गते सर्वोच्च अदालतले निजहरूका सम्बन्धमा गरेको फैसला फिर्ता गर्न र उहाँहरूलाई ससम्मान रिहा गर्न पार्टी जोडदार माग गर्दछ ।’ सम्पादकीय

२०७६ साउन १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :