महान् सहिद कुमार पौडेल


सत्ता, शासक, सरकार यी सबै जनताको सामाजिक सम्झौताबाट निर्माण भई कायम रहन्छन् । जब शासकहरूले जनता र समाजमा कबुलियत गरेका आश्वासनहरू न्यायसंगत समाज, भेदभावविहीन समाज, उत्पादनमा सामान वितरण, स्वाधीनता, स्वतन्त्रता, हत्याहिंसाविहीन राज्य, नैसर्गिक अधिकारविरुद्ध शासकबाट हुने भ्रष्टाचार, हत्या, हिंसा, भेदभावरहित समाज, बलात्कार, महँगी, झूट्टा आश्वासन, भ्रम, अन्याय, अत्याचार असमान वितरण, दलाली, नैसर्गिक अधिकारबाट वञ्चित हुन थालेपछि शासक र जनताबीचको सम्झौता भङ्ग हुन्छ र जनताले क्रान्तिमार्फत सत्ता शाषकलाई ढाल्छ । यस्तै परिणामले राणा शासकहरू ढले र १० बर्से जनयुद्धले पञ्चायती व्यवस्थाका राजा– महाराजा पनि ढाले । १० वर्षको जनयुद्ध स्थापना कालदेखि नै मालेमावादका सैद्धान्तिक जगबाट सुरुआत भएको थियो । यसको नीति सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य थियो । जसअन्तर्गत निःशुल्क शिक्षा, निःशुल्क उपचार, गाँस, बास, कपास, रोजगारीको ग्यारेन्टीको लक्ष्य थियो ।

प्रचण्ड–बाबुरामको आत्मसमर्पण र विसर्जनले वैज्ञानिक समाजवादी व्यवस्था लागू हुन सकेन । उल्टै कम्युनिस्टको सरकार, समाजवादको नाम दिई राष्ट्रको सम्पत्ति केही मुठ्ठीभर दलाल मालिकहरूलाई वितरण गरी निजीकरण गरिरहेका छन् । १० वर्षको जनयुद्ध र गणतन्त्रको विरोधी एमालेसँग कुममा कुम मिलाएर फासिवादी चरित्र केपी वली–प्रचण्ड–बादल कम्पनीले जनताका सच्चा सपूतहरूमाथि हत्याहिंसा गरी नरसंहार मच्चाइरहेको छ ।

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीका नीति, झापा आन्दोलनको नीति र १० बर्से जनयुद्धको नीति पनि वैज्ञानिक समाजवादी व्यवस्था लागू गर्न कमरेड विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन गरियो । मध्यम वर्ग पनि श्रमिक वर्गमा परिणत भएको, पुँजीवादमा परिणत भएको हुँदा एकीकृत जनक्रान्तिको कार्यदिशाबाट वैज्ञानिक समाजवाद लागू गर्ने र फासिवादी चरित्रको दक्षिणपन्थी सामाजिक दलाल संसदीय व्यवस्थाको अन्त्य गरी लासालपन्थीका मतियार केपी वली– प्रचण्ड–बादल कम्पनीको अत्याचार अन्त्य गर्ने उद्घोष गरेका हाम्रो पार्टीका नेता–कार्यकर्ताहरूलाई थुनछेक, हिरासतमा राख्ने, पार्टीमाथि प्रतिबन्ध लगाउने र अघोषित हत्या गर्ने गरेका छन् ।

श्रमजीवी जनताको रगतपसिनाबाट पालितपोषित प्रहरी महानिरीक्षकदेखि प्रवक्तासम्मले जनताको सामुन्ने झूटो बोलिरहेका छन् र हत्याहिंसाको मतियार बनिरहेका छन् । त्यसैको परिणामअनुसार २०७६ साल जेठ ७ गते नेकपाको युवक सङ्गठनका नेता तीर्थराज घिमिरे ‘राजु’ लाई भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा झुठो मुठभेडको नाममा निःशस्त्र अवस्थामा गिरफ्तार गरी बीभत्स हत्या गरे ।

२०७६ साल असार ५ गते जनकपुर ब्युरो सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १ लखन्ती खोलामा नियन्त्रणमा लिई गोली प्रहार गरी बीभत्स हत्या गरे ।

पार्टी पीबीएम कमरेड ओमप्रकाश पुन ‘ निर्माण’ जनकपुर ब्युरो इन्चार्ज रहेको समयमा कमरेड कुमार पौडेलको नेतृत्वमा आर्थिक सहयोग अभियानअन्तर्गत म सिराहा जिल्लाबाट धनुषामा आएर धनुषा जिल्ला नापी कार्यालय प्रमुखसँग पार्टीका विचार र आर्थिक सहयोगबारे धारणा व्यक्त गर्नुभयो । उहाँले हाम्रो पार्टीलाई सहयोग गरेबापत जनताबाट घुस लिनु नपरोस्, भ्रष्टाचार गर्नु नपरोस्, अख्तियार नलागोस्, तपाईंका छोराछोरीको गाँस काट्नु नपरोस् । मात्र तपाईं र तपाईं मातहतका सहयोगी कर्मचारीहरूले ३० दिनमा नास्ता खर्चको १ दिनको नास्ता खर्च सहयोग खुसीराजीपूर्वक सहयोग गरिदिएमा श्रमजीवी जनतामाथिको अन्याय र विभेद अन्त्य गर्न हाम्रो पार्टीले लिएको सङ्घर्षलाई उचाइमा पु¥याउन सकिन्छ भन्नुभएको थियो ।

तर आज श्वेतआतङ्क मच्चाउने जल्लादहरूले चन्दा आतङ्कको झूठो अभियोग लगाइरहेका छन् । चन्दाकै सवाल हो भने चन्दा दिनेले प्रमाणका आधारमा बुर्जुवा अदालतमा गई मुद्दा दायर गर्नुपर्यो । दोषी ठहरेमा बुर्जुवा कानुनअनुसार काराबासको सजाय दिनुपर्छ कि बाटोमा कुरेर नियन्त्रणमा लिई हत्या गर्नुपर्छ ? १० बर्से जनयुद्धको आंशिक उपलब्धिको संविधान भन्छन्, के यही हो उपलब्धि निहत्थालाई हत्या गर्ने । संविधानको कुन धारा–उपधारामा राज्यले हत्या गर्ने उल्लेख गरिएको छ ?

कमरेड अमर धमलालगायत हामी तीनैजना जनकपुरमा नै बस्थ्यौँ । कमरेड कुमार पौडेल भन्नुहुन्थ्यो– यो दलाल संसदीय व्यवस्थाबाट मुठीभर राजनीतिक दलालबाहेक केही पनि सन्तुष्ट छैनन् । श्रमिक मजदुर, किसान, व्यापारी, कर्मचारी, प्रहरी, सेना कोही पनि सन्तुष्ट छैनन् । सबैले आमूल परिवर्तनको आवश्यकता महसुस गरेका छन् र सम्पूर्णले हाम्रो पार्टीले लिएको सही विचार र नीतिमाथि विश्वास गर्छन् । केही मुठीभर राजनीतिक दलालबाट जनताको ढाड सेक्ने गरी लागू गरिएको करप्रणाली, महँगी, भ्रष्टाचार, कमिसनबाट थोरै दिनमा अकुत सम्पत्ति जम्मा गरिहाल्ने स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार भनी राजनीतिक दलालहरूले निमुखा जनताको सामुन्नेमा सरकार हुँ भन्दै जब जमिन, जङ्गल, जडीबुटी, यार्सागुम्बा, बोधिचित्त, बालुवा, गिट्टी, पिच सडक, बाटोघाटो, पुल पँधेरी, तटबन्ध निर्माणसम्बन्धी सम्पूर्ण ठेक्कापट्टाहरूलाई निजी कारोबार र सम्पत्ति बनाएका छन् । अनि यो गणतन्त्र दलालहरूका लागि मात्र भयो । इमानदार श्रमिक जनतालाई आकाशको फल आँखा तरी मर् भनेजस्तो भयो । जनताका छोराछोरीले कहिले निःशुल्क शिक्षा, निःशुल्क उपचार पाउनु ? साबैमा माफियातन्त्र लागू गरिएको छ । दलालबाहेक कसैको पनि भविष्य राम्रो छैन । सबैले खाडी मुलुक पुग्नुपर्छ । युवकयुवतीले बेचिनुपर्छ भन्नुहुन्थ्यो ।

२०७५ साल जेठमा हरिवनबाट कमरेड कुमार पौडेलसँगै सिन्धुली जिल्लाको हरिहरपुरगढी गई फर्किंदा एक दिन सँगै बस्यौँ । उहाँले बागमती खोलामा जाऊँ भन्नुभयो । हामी त्यहाँ पुग्यौँ । लगभग २ घण्टाजति बस्यौँ । उहाँले भन्नुभयो– यति ठूलो फाँटको बीचबाट यति धेरै पानी बगिरहेको छ । यो दुवै किनारको फाँटमा पोखरी बनाई तटबन्ध गर्ने हो भने लाखौँ पोखरी निर्माण गर्न सकिन्छ । मेचीदेखि महाकालीसम्म खोलाको छेउछाउ करोडको हाराहारीमा पोखरी निर्माण गर्न सकिन्छ । त्यसबाट माछापालन, बङ्गुरपालन, हाँसपालन गर्दा अन्तर्र ाष्ट्रिय बजार ओगट्न सक्छ । त्यस पानीबाट सिँचाइ गरी अन्न उत्पादन गर्न सकिन्छ । यसबाट बेरोजगारी समस्या हल गर्न सकिन्छ । ८ घन्टा काम गरेबापत मासिक ३ देखि ४ लाख रुपैयाँ आम्दानी गर्न सकिन्छ । तर केही मुठीभर दलाल शासकले गर्दा श्रमजीवी जनताका छोराछोरीहरू २०÷३० हजारका लागि खाडी मुलुकमा गई १२ घन्टा काम गर्नुपर्छ । केही बेचिनुपर्छ ।

बसोबास र सुकुमबासीको समस्या हल गर्ने सवालमा उहाँ भन्नुहुन्थ्यो– हिमाली भेगको १५ प्रतिशत भूभागमा २० देखि ३० तल्लाको भवन २० हजार मात्र निर्माण गर्दा सम्पूर्ण जनताको बसोबासको व्यवस्था आधुनिक तरिकाले व्यवस्थित रुपमा गर्न सकिन्छ । चिसो हावापानीको वातावरणमा कोही बिरामी पनि हुँदैन । स्वस्थ रहन सकिन्छ । आयु पनि लम्बिन्छ भन्नुहुन्थ्यो । यस्ता महान् विचारका श्रमजीवी जनताका सच्चा योद्धा सपूत हाम्रासामुन्ने महान् सहिद हुन पुग्नुभएको छ । यसबाट एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद स्थापनाका निम्ति, भावी कम्युनिस्ट आन्दोलनका निम्ति अपूरणीय क्षति भएको छ । जहाँसम्म जननेता महान् सहिद कमरेड कुमार पौडेलको हत्यारा भनी श्वेतआतङ्ककारीलाई जनकारबाही होस् भन्ने श्रमजीवी जनताको चाहना छ त्यसलाई एकीकृत जनक्रान्तिको माध्यमबाट बदला लिनेछ भनी हाम्रा पार्टीका श्रद्धेय महासचिवबाट विज्ञप्ति आइसकेको छ ।

२०७६ असार ३० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :