सरकार नागरिक हत्यामा उत्रियो : नेकपा (विज्ञप्तिसहित)


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले बुधबार भोजपुरमा एक जना आफ्नो पार्टीका नेता र एकजना सादा पोशाकको प्रहरीसहित दुई जनाको मृत्युको सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गरेको छ ।

नेकपा सगरमाथा व्युरो इन्चार्ज अधिकारले विज्ञप्ति जारी गर्दै मृतक संजिव राईको टोली नै तिर्थ घिमिरे हत्याको जिम्मेवार भएको आरोप लगाएका छन् ।

व्युरो इन्चार्ज अधिकारले ‘कमरेड तिर्थका हत्यारासँग जम्काभेट हुँदा प्रतिरोध गर्ने क्रममा कमरेड निरकुमार राई ‘प्रशान्त’को सहादत भएको’ बताएका छन् । सुरक्षाकर्मीमाथि आक्रमण नगर्ने पार्टी नीति रहेको र पार्टीको त्यही सदासयतालाई सरकारले दुरुपयोग गरेर देशलाई भिडन्ततिर धकेलिरहेको आरोपसमेत लगाएका छन् ।

इन्चार्ज अधिकारले विज्ञप्तिमा भनेका छन्, ‘यतिबेला सामाजिक फासिवादी जन हत्यारो केपी–पिके सरकार एकपछि अर्को गर्दै नागरिक हत्यामा उत्रिएको छ । भोजपुरका कमरेड तिर्थराज घिमिरेलाई गत जेठ ७ गते भोजपुर टेम्के मयुम गाउँपालिका वार्ड नं. २ दलसिंगेस्थित बाटो हिडिरहेका बेला गिरफ्तार गरी चरम यातना दिई हत्या गर्ने मध्यका मुख्य हत्यारो प्रहरी संजिव राई र उनको टोलीसँग असार २५ गते हाम्रो पार्टी सगरमाथा ब्युरो सदस्य एवंम् ओखलढुङ्गा जिल्ला समितिका सेक्रेटरी कमरेड निरकुमार राई ‘प्रशान्त’ भोजपुर सदरमुकाममा रहेका आफ्नो परिवारसँग भेटघाट सकेर फर्कने क्रममा जम्काभेट हुँदा कमरेड तिर्थराजका हत्यारा प्रहरी संजिव राइको प्रतिरोध गर्ने क्रममा पार्टीका होनहार कमरेड प्रशान्तको शाहदत भएको छ ।’

विज्ञप्तिमा अधिकारले भनेका छन्, ‘षडानन्द नगरपालिका वार्ड नं. १३ गोया घर भई ओखलढुङ्गामा कार्यरत हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरो सदस्य एवंम् ओखलढुङ्गा जिल्ला समितिका सेक्रेटरी नीरकुमार राई ‘प्रशान्त’ एक इमान्दार, जुझारु, जनप्रिय र क्रान्तिप्रति बफादार नेता हुनुहुन्थ्यो । उहाको शाहदतले हाम्रो पार्टीलाई अपुरणिय क्षति पुगेको छ । उहाको बलिदानले दलाल पुँजीवादी सत्ताको अवशानलाई अझ नजिक बनाउने काम गरेको छ भने वैज्ञानिक समाजवादी सत्ता स्थापनाको निम्ति सिङ्गो आन्दोलनलाई थप प्रतिबद्ध बनाएको छ । हाम्रो पार्टी उहाँप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा इन्चार्जले भनेका छन्, ‘यस स्थितिमा हाम्रो पार्टी उंहाको परिवारजन, पार्टी पंक्तिका सम्पूर्ण कमरेडहरुलाई शोकलाई शक्तिमा बदल्न र बदलाभावकासाथ मैदानमा खट्न आग्रह गर्दछ । देश र जनताको निम्ति निरन्तर संघर्षमा डटिरहनु भएका कमरेड प्रशान्तलाई महान् सहिद घोसणा गर्दै उंहाको सपना खेर जान नदिने प्रण गर्दछौं ।’ विज्ञप्तिको पूर्णपाठ….

 

२०७६ असार २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्