नेकपाका केन्द्रीय नेता आदर्शसहित ४ जना रिहा, पि.वि.एम. जिवन्त पुनः गिरफ्तार


काठमान्डौ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेतासहित ४ जना रिहा भएका छन् । ईलाका प्रहरी कार्यालय धरान सुनसरीमा रहेका नेकपा केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’, केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’, धनकुटा इन्चार्ज बाबुराम राई ‘विवश’ र मिनबहादुर राई सोमबार रिहा भएका छन् । उनीहरु सँगै रिहाइ भएका पोलिटब्यूरो सदस्य जिवन्तलाई भने प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

बैशाख ७ गते गिरफ्तार भएका केन्द्रीय सदस्य आदर्श र असल ८० दिनको हिरासत बसाईपछि जिल्ला अदालत सुनसरीले सोमबार रिहा गरेको छ । उनिहरुलाई जिल्साला अदालत सुनसरीले साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो । रिहाको आदेशपछि अदालत परिसरबाटै पोलिटब्यूरो सदस्य जिवन्तलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ भने अन्य ४ जना रिहा भएर आफ्न्तको सम्पर्कमा आइसकेको बताइएको छ ।

पुनः पक्राउ परेका जिवन्तलाई नुवाकोट लिने तयारी गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । गत बैशाख ७ गते सल्यानबाट दाङ जाँदै गर्दा केन्द्रीय नेता आदर्श, असल र रोल्पाका स्थानीय नेता लालबहादुर ओली ‘विश्व’सहित ३ जना सँगै गिरफ्तार परेका थिए । गिरफ्तार भएका विश्व हाल रोल्पाको लिबाङ्ग हिरासतमा राखिएको छ ।

गिरफ्तार तिनै जनालाई दाङ प्रहरीले हिरासतमा राखेपछि सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर प्रहरीले पुनः गिरफ्तार गरी २ जनालाई धरान र एक जनालाई रोल्पा पुर्याएको थियो ।

नेकपाको न्याय विभाग प्रमुखसमेत रहेका ‘आदर्श’ रोल्पाको गंगादेव गाउँपालिका –३ झ्याम निवासी माओवादी आन्दोलनका पुराना नेता हुन् । उनलाई गाउँमा विकासप्रेमी नेताको रुपमा पनि लिइन्छ । भौगोलीक हिसावले दुर्गम मानिएको रोल्पाको पश्चिम क्षेत्रले उनकै पहलमा विकासको गति लिएको स्थानीयहरु बताउछन् । सिंगो तत्कालिन माओबादी पार्टीको बेला उनी रोल्पा जिल्ला सेक्रेटरी भएर काम गरेका थिए ।

त्यसैगरी सल्यानको दार्मा घर भएका ‘असल’ नेकपाका प्रभावशाली युवा नेता हुन् । उनी सहिदका छोरा पनि हुन् । सशस्त्र जनयुद्वका समयमा उनका बुबालाई सरकार पक्षले मारेको थियो । उनी जनयुद्वकै समयदेखि माओबादीमा क्रियाशिल नेता हुन् ।

सरकारले प्रतिबन्ध घोषणा गरेपछिको पहिलो निशानामा परेका पीवीएम तथा जनवर्गीय संगठनका इन्चार्ज जीवन्तलाई सोमबार सुनसरी जील्ला अदालतले रिहा गरे लगत्तै प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको हो ।

चैत १ गते ललितपुरको च्यासलबाट कोठाबाटै गिरफ्तारमा परेका उनलाई पटकपटक गिरफ्तार गर्दै बिभिन्न जिल्ला पुर्याएको छ । नेता जीवन्तलाई नुवाकोट लैजाने तयारी गरिएको बुझिएको छ । जीवन्तमाथि राजद्रोह र संगठित अपराधको मुद्दा चलाइएको थियो । तर चैत्र २४ गते सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै नेता जीवन्तमाथि लगाइएको अभियोग पुष्टि नभएको भन्दै तत्काल रिहा गर्न सरकारको नाममा आदेश दिएको थियो ।

रिहा भएलगत्तै फेरी अदालत गेटबाटै प्रहरीले पुनः गिरफ्तार गरी संखुवासभा लागेको थियो । त्यहाँ उनीमाथि ‘मुलुकी फौजदारी कार्यविधि (संहिता), २०७४ को रिच्छेद ३ को दफा ३२ अन्तर्गत कसुरमा मुद्दा चलाइयो । बम विष्फोट तथा संगठित अपराधलगायतको कसुरमा मुद्दा चलाइएको थियो ।

त्यसपछि उनलाई अर्को संगठित अपराध तथा विष्फोट र राजद्रोहको अभियोगमा काठमाडौंको कमलपोखरी प्रहरी वृत्तको हिरासतमा बन्दी बनाई मुद्दा चलाइयो । त्यसमा काठमाडौं जिल्ला अदालतले बैशाख ३० गते साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । तर उनलाई अदालत परिसरबाटै पुनः गिरफ्तार गरी सुनसरी जिल्ला ल्याइयो । त्यहाँ उनीमाथि संगठित अपराध तथा विष्फोट, राजद्रोह र हातहितयार तथा खरखजना कसुरमा मद्दा चलाइएको थियो ।

२०७६ असार २४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :