नेकपाद्वारा कैलालीका ४५ वडा कार्यालयमा तालाबन्दी


कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा गयराती कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधीहरुलाई कार्यालयभित्रै थुनेर तालबन्दी गरेका छन् । गाउँ, नगर र उप–महानगरपालिका गरी ४५ वडा कार्यालयमा तालाबन्दी गरेका छन् । धनगढी उप–महानगरपालिका, गोदाबरी नगरपालिका, गौरीगंगा नगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिका लगायत वडा कार्यालयहरुमा तालाबन्दी गरेको कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले बताएका छन् ।

वर्तमान सरकारले राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार बनाउने निर्णय गरेको र त्यसकाविरुद्ध पार्टीले सुरु गरेको अभियान अन्तर्गत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ । आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिबन्धका विरुद्ध पनि चरणवद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ ।

गयराती साढे आठ बजेको समयमा कार्यालयमै काम गरिरहेको अवस्थामा भेटिएका दुई जना कर्मचारी र जनप्रतिनिधिलाई नेकपाले बाहिरबाट ताला लगाएर थुनेको थियो । स्रोतका अनुसार नगरपालिकाका लेखापाल सरोज चौधरी र कार्यालय सहयोगी बगेन्द्र सुनारसहित केही जनप्रतिनिधि रातीको समयमा लेखा फाँटमा काम गरिरहेका थिए ।

नियम अनुसार कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म भएपनि लम्कीचुहा नगरपालिकामा भने नेकपाका कार्यकर्ताहरुले मध्यरातमा शंकास्पद काम गरिरहेको अवस्थामा कर्मचारी सहितका जनप्रतिनिधिहरुलाई थुनेको हो । तर हिजो भने शनिबार भएकाले सबै सरकारी कार्यालय बन्द रहे पनि लम्कीचुहा नगरपालिकामा भने मध्य रातमासमेत काम भइरहेको भेटिएको हो ।

२०७६ असार २२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :