फेक इन्काउन्टर

 

अचानक चर्को आवाज आयो । मकैबारीबाट चराहरू पनि भुरुरु उडेर माथिमाथि पुगे । आवाज सानो थिएन । बारीमा काम गर्न आएका सबैले एक पटक डिलमा पुगेर यताउता हेरे । तर कतै केही देखिएन ।

बर्खाको समय, सिमसिम पानी परिरहेको थियो । मानिसहरू आआफ्नै धुनमा थिए । छोड्नेले गाउँछोडे । बस्नेहरूकालागि खेतबारी महत्वपूर्ण थियो । काम गरेर खानुपर्ने वर्गकालागि काम प्यारो हुने नै भयो । चाहे त्यो कामको प्रकृति जस्तो सुकै किन नहोस् । बारीमा काम गर्दागर्दै एक्कासि आएको चर्को आवाजका विषयमा अनेकले अनेक लखकाट्दै थिए । जनयुद्ध सकिएर मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको परिवेशमा समेत बमको यति धेरै चर्को आवाजले मानिसहरूको मथिङ्गल खलबल्याइरहेको थियो । मानिसहरूले अनेक देखेर–भोगेर आएका थिए ।

चर्को आवाजसँगै सबै अनेक बहसमा थिए । मकैभित्रको झार गोड्दै जाँदा खेतालाहरू एक आपसमा विगतदेखि वर्तमानसम्मका विषयलाई कोट्ट्याउँदै समय बिताइरहेका थिए । धेरैले अनेक कुराहरू सम्झे । उनले पनि विगतलाई त्यसरी नै सम्झिन थालिन् । सायद उनको पीडालाई नबुझेका मानिसहरू यो मेलामा कमै थिए । तर ननिकालौँ भन्दाभन्दै पनि कुरा निक्लि हाल्यो । त्यही आवाज थियो कुरा कोट्ट्याउँदै लैजाने पनि । जनताकालागि भनेर देशमा सशस्त्र सङ्घर्ष र जनयुद्ध गरेकाहरू अनि भोकानाङ्गा जनताकालागि लडाइँ लडेकाहरूलाई सजिलै बिर्सन सक्ने अवस्था पनि त थिएन । अनेक डोबहरू यस्ता थिए जति कोट्ट्याउँदै गयो त्यति रक्ताम्य बन्दै जान्थे । न मलमले रगतबग्न रोकिन्थ्यो, न त पट्टीलगाएर रोकथाम गर्न सकिन्थ्यो । बल्लबल्ल बाक्लो पट्टी लगाएर बाँधिएका घाउहरूलाई यस्ता आवाजले निकै मर्माहत बनाइदिन्थे ।

सायद आज उनको बाक्लो पट्टीलाई त्यो आवाजले बढी नै च्यातिदियो । मनभित्रको सानो घाउ ठूलो बन्दै गयो । कल्पनाको महासागरमा पौडी खेल्दै जाँदा तैरिने उपाय नै नभेटिएपछि उनका आँखाका डिलहरू रसाउन थाले । बर्खाको समय, आकासे पानी बढ्दै गएपछि चौरमा फुटेका मूलहरू जस्तै उनका आँखाहरू पनि बग्न थाले । अनेक डिललगाएर रोक्ने प्रयास गरे पनि ती मूलहरू फुटिरहेका थिए । सँगै काम गरेका साथीहरूलाई पनि अप्ठ्यारो भयो । भुलाउन खोज्ने कुनै उपाय नै थिएन । यति दु्रत गतिमा खोलिँदै गए विगतका दस्ताबेजहरू । सायद जीवनले खेलेको खेल थिएन यो । यो एउटा जानेर र बुझेर गरिएको षड्यन्त्र नै थियो । यो इतिहासको मात्र होइन, देश र जनताको वर्तमान र भविष्यमाथिको पनि षड्यन्त्र थियो ।

भर्खरै दस कक्षा पढ्न झोला बोकेर स्कुल हिँडेको छोराले त्यो दिनको दोको ढिँडो चपाइचपाई खाँदा उनले उसको भोक भन्दा पनि आफूले पकाएको ढिँडोको स्वाद भनेर मक्ख परेकी थिइन् । चारचार छोरीपछि छोरा जन्मिँदा उनका ओठमा देखिएको खुसीको कुनै मूल्य नै थिएन । समाजले छोरा र छोरीप्रति गर्ने चरम विभेद र त्यसमा पनि एउटी आमाप्रति गर्ने घृणाको साक्षी हैनन् उनी । उनी त त्यसको भुक्तभोगी थिइन् र पनि छोरा पाउन सक्ने महान् आमामा नाम दर्ता गर्न सफल भएकी सुन्दर र सुखी आमा थिइन् । समाजका यी र यस्तै कारणहरूले पनि होला औँलामा दिन गनेर हुर्किएको छोरो आज दस कक्षामा पढ्ने भएको थियो । अस्ति मात्र नतिजा निस्केर स्कुलमा तेस्रो स्थान हासिल गरेको छोराकालागि उनी आफँै बजार गएर स्कुलको पोसाक सिलाइदिएकी थिइन् । देश सशस्त्र सङ्घर्षको उत्सर्गको बाटोमाथि यो । कमिजको कल्दर अलि नमिलेपछि मिलाइ दिँदै उनले छोरालाई भनिन्, आज त बाबुलाई ढिँडो बढी नै मिठो भयो है ?

ऊ पनि मुसुक्क मुस्कुरायो । सेतो मोजामा कालो जुत्ताको तुना लगाउँदै गर्दा आमाले एकटक उसको अनुहार हेरिरहिन् । छोराको मुहारमा आफ्नो सिङ्गो सपना सजाएकी उनले बेलुकी उसकालागि मिठो चामलको रोटी बनाइदिने भनेर बिदा गरिन् ।

न उनले राजनीति जानेकी थिइन् न त उनको परिवार नै सक्रिय राजनीतिमाथि यो । तर उनको छोरालाई स्कुल नपुग्दै बाटैमा गोली ठोकिएको थियो । घरबाट अलि पर बाटोमा धुवाँको मुस्लो निस्केको थियो । गाउँलेहरू डराएर भित्र पसे । बर्दीवाला रक्षकहरू स्कुलको बाटो हुँदै हिँडेका रहेछन् । स्कुल जान हिँडेको राम्रो कद भएको केटालाई सायद उनीहरूले आतङ्ककारी सम्झे । उसको झोलाभित्रका किताबलाई उनीहरूले बम र बारुद सम्झे । अनि उसले बोकेको कलमलाई राइफल सम्झे । केही भन्न नपाईकन ऊ युद्धको नायक बन्यो । घिरौँलाको झालमा झुन्ड्याइएको रेडियोले समाचार फुक्यो– इन्काउन्टर गरियो । पीडाले थिलथिलो बनेकी उनलाई इन्काउन्टर भन्ने शब्दसमेत थाहा थिएन । पछि मात्र थाहा पाइन् । यसरी उनका छोराको इन्काउन्टर भएको रहेछ त्यति बेला ।

आज फेरि पनि भिडन्त र इन्काउन्टर भन्दै अर्को मान्छे मारियो । चारपाँच ठाउँमा हात भाँचेर हात र टाउकोमा गोली दागेर उसको जीवन समाप्त पारियो । हिजो इन्काउन्टर भनेर मारिएको छोराले खासै राजनीति बुझेको थिएन । अहिले इन्काउन्टर भन्दै मारिएको युवकले राजनीति गरेको थियो । फरक यति मात्र हो त्यतिबेला देशमा युद्ध थियो, आज देशमा स्वघोषित शान्ति छ । अनि फरक यति मात्र हो–हिजो यथास्थितिवादीहरू मिलेर बनेको सरकार थियो, आज ‘कम्युनिस्ट’ नाउँ गरेको सरकार छ । आखिर इन्काउन्टर त इन्काउन्टर नै हो । पीडा एउटै छ, दुःख एउटै छ । अनि झूट्टा इन्काउन्टरको शैली एउटै छ ।
(लेखक शर्मा एबीसी टेलिभिजनकी निर्देशक हुन्– सम्पादक ।)

२०७६ असार १३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्