दलाल संसदवादकाे विकल्प वैज्ञानिक समाजवाद

सन् १८४८ मा कार्ल माक्र्सद्वारा प्रतिपादित कम्युनिस्ट घोषणापत्र जारी भएपछि आदिम साम्यवाददेखि यता विश्वभरमा स्थापित सत्ताको चरित्र र त्यहाँभित्रका वर्गसङ्घर्षहरू सूत्रबद्ध भए । विश्वमा निरन्तर हुँदै आएका सङ्घर्षहरू सत्ताको दमनात्मक रबैया र शोषणहरूविरुद्ध केन्द्रित छन् । सामन्तवाद, पुँजीवाद हुँदै दलाल निगम पुँजीवादको नेतृत्व साम्राज्यवाद र उत्तरसाम्राज्यवादले गरिरहँदा विश्वमा देखापरेका विभिन्न प्रकृतिका सङ्कटको समाधानका विषयमा गम्भीर बहसहरू उठेका छन् । ती सबै बहसहरू माक्र्सवादद्वारा समाज विज्ञानमा उद्घाटित तथ्य र मर्महरूका वरिपरि छन् । माक्र्सले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादमा उजागर गरेको तथ्यअनुसार निरन्तर नयाँले पुरानोलाई निषेध गर्दै आइरहेको छ जसअनुसार सामन्तवादलाई पुँजीवादले निषेध ग¥यो र पुँजीवादको चरम सङ्कट आजको विश्वमा स्पष्ट रूपमा पुँजीको अतिकेन्द्रीकरण हुँदै निगम पुँजीवादमा आइपुगेको छ जसकारण आजको विश्वसङ्कटको समाधान अब समाजवाद हुँदै साम्यवाद हुने कुरामा अब कुनै विवाद छैन ।

सत्ताको अनेकौँ प्रताडना बेहोर्दै यहाँसम्म आइपुगेको नेपाली समाजले आफ्ना दुःखहरूबाट मुक्ति पाउनका निम्ति समाजवाद साम्यवादले प्रदान गर्ने उन्मुक्त सभ्यता र समाज निर्माणका निम्ति सङ्घर्ष गर्दै आइरहेको छ र त्यो सङ्घर्ष नेपाली समाजको सपनासँग जीवन्त जोडिएको छ । २० औँ शताब्दीको वरिपरि विश्वभरि ज्वालामुखी भएर उदाएको समाजवादी जागरण र साम्यवादको उत्कट सपनाहरूलाई पछ्याउने क्रममा २००६ सालमा पुष्पलाल श्रेष्ठलगायतको नेपाली युवाहरूको समूहले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे । के नेपालजस्तो अर्धऔपनिवेशिक र राणाशाहीहरूको जगजगीमा कम्युनिस्ट पार्टी निर्माण गर्न सम्भव छ ? भन्ने प्रश्नको व्यावहारिक जबाफ पार्टी स्थापनाको पहलले दिएको थियो ।

कम्युनिस्ट पार्टी स्थापना भएपछिको अर्को महत्वपूर्ण सवाल थियो के नेपालजस्तो सामन्तवाद र उपनिवेश भएको मुलुकमा जनताले सशस्त्र युद्ध गर्न सम्भव छ ? भन्ने प्रश्नको जबाफ ०२८ सालको झापाकाण्डले दियो । ख्रुस्चोभ र माओ त्सेतुङको लाइनमा विभाजित विश्वकम्युनिस्ट आन्दोलन (महाविवाद) को प्रभावको बीचबाट नौलो जनवादी खेमामा ध्रुवीकृत युवाहरूले ‘सामन्तलाई ६ इन्च गिराऊ’ भनेर टाउको काटेका थिए झापामा । हो व्यावहारिक रूपमा नेपालमा जनताले सशस्त्र क्रान्ति गर्न सम्भव छ भन्ने विषय पुष्टि भयो । त्यसबेलाको प्रमुख अन्तरविरोध किसान र सामन्त जमिनदारहरूको बीचमा थियो । यद्यपि प्रकारान्तरमा तत्कालीन नेतृत्व जनताको बहुदलीय जनवाद भन्ने संशोधनवादी आत्मसमर्पणमा पतन भएर गयो ।

नेपालमा अर्को प्रश्न बाँकी थियो के नेपालजस्तो सामन्ती राजतन्त्र र भारतीय उपनिवेश रहेको मुलुकमा सशस्त्र युद्ध गरेर जनतालाई जिताउन सम्भव छ भन्ने काँचो र पेचिलो सवालको जबाफ ०५२ सालबाट सुरु गरिएको महान् जनयुद्धले दियो । ७ बुँदे प्रतिबद्धतापत्र जारी गरेर लडाइँको निर्मम प्रक्रियामा सामेल तत्कालीन नेकपा माओवादीले दीर्घकालीन जनयुद्धको कार्यदिशालाई लिएर ८०५ भूभागमा जनसत्ता चलाएर देखायो । जनयुद्धको महान् प्रक्रियाको जागरणमा हज्जाराँैको बलिदानी भयो । त्यो बलिदानीपूर्ण आन्दोलनको जगमा उठेको विशाल जागरण २०६२–०६३ को जनआन्दोलनमा अभिव्यक्त भयो । अन्ततः राजाहरूको लामो विरासत तोड्दै जनताहरू विजयी बने । यसबाट के कुरा पुष्टि भयो भने नेपालमा सत्ताको जस्तोसुकै फोर्टिफिकेसन तोड्न सम्भव छ अर्थात् जित्न सम्भव छ । तर दुर्भाग्य तत्कालीन नेतृत्व प्रचण्डहरूमा देखापरेको आत्मसुरक्षावाद, आत्मसमर्पणवाद र परिस्थितिअनुकूल कार्यदिशा निर्माणको अभावमा प्राप्त उपलब्धि तिनै क्षुब्ध, निकृष्ट, संसद्वादी कुकुरहरूलाई सुम्पन पुगे । यहाँसम्म आइपुगेको नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली जनताहरूका बीचमा अझ उग्र रूपमा विकसित समाजवाद–साम्यवाद प्राप्तिको चाहना, सपनाको बीचमा आजको दिनमा विकसित सामाजिक अन्तर्विरोध, अन्तर्राष्ट्रिय परि स्थितिलगायत तमाम विषयहरूको गहिरो अध्ययन गरेर एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि आएको छ । यसका अध्येता महासचिव विप्लव हुनुहुन्छ । के अब यो परिस्थितिमा यो आन्दोलन र कार्यदिशाले कुनै प्रश्नको जबाफ दिनु पर्दैन त ? सवालहरू छन् तर त्यसो होइन, यसले जबाफ दिनुपर्छ । त्यो जबाफ भनेको पार्टीलाई कसरी जीवन्त राख्ने ? बदलिँदो परिस्थितिअनुसार कार्यदिशाहरूको विकास कसरी गर्ने र प्राप्त उपलब्धिलाई कसरी बचाउने ? अर्थात् समाजवादलाई कसरी टिकाउने भन्ने प्रश्नको जबाफ अब नेपाल कम्युनिस्ट पार्टीले दिनुपर्ने छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना ०७१ साल मङ्सिर ८ गते भयो । पार्टी महासचिव क. विप्लवले प्रस्तुत गर्नुभएको एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि आयो जसकारण संसदीय सत्ता सङ्कटको बीचमा अगाडि आएको कार्यदिशाका विषयमा आलोचना र समर्थनसहित प्रसस्तै बहस सञ्चालन भए । विकसित राजनीतिक घटनाक्रमसँगै सत्ता सङ्कटको विकल्प वैज्ञानिक समाजवाद आवश्यक छ भन्ने विषय आजको नेपाली समाजमा जबर्जस्ती स्थापित हुन पुगेको छ । नेपाल कम्युनिस्ट पार्टीले अगाडिको सारेको वैज्ञानिक समाजवादी–साम्यवादी सत्ता स्थापनाको पहल सुरु भैसकेको छ र यो कसरी सम्भव छ भन्ने प्रश्नको जबाफ प्राप्त गर्न एकीकृत जनक्रान्ति भनेको के हो भनेर बुझ्न आवश्यक छ । अति केन्द्रीकरण, अति उत्पादन, बजारको विस्तार र एकाधिकार आजको साम्राज्यवादको मूलभूत विशेषता हो । आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक क्षेत्रमा भएको विकास र प्रभावको कारण यसको प्रभाव विश्वभर पर्न गएको छ ।
आजको दुनियाँमा साम्राज्यवाद भूमण्डलीकृत चरित्रको बन्न गएको छ । साम्राज्यवादको प्रभाव र सम्बन्धबाट कुनै पनि देश अछुतो रहने स्थिति छैन । त्यसकारण जुनकुनै मुलुकमा गरिने क्रान्तिले साम्राज्यवादी अन्तर्विरोधलाई पनि समाधान गर्नुपर्ने हुन्छ ।

एकीकृत जनक्रान्तिको अध्यता महासचिब विप्लव लेख्नुहुन्छ, ‘साम्राज्यवादले यान्त्रिक प्रविधि र सूचनाप्रविधिको विकासलाई युद्ध प्रविधिमा बदल्दै सबैमा एकाधिकार कायम गरिरहेको छ । भूउपग्रह, कम्प्युटर, टेलिभिजन, मोबाइल सेलफोन सबैलाई एकलौटी नियन्त्रण गरिरहेको छ । साम्राज्यवादका उल्लिखित नयाँ विशेषताहरूले गर्दा देशहरूको चरित्र स्वतन्त्र देशमा हुनेखालको नभई साम्राज्यवादसँग गुजुल्टिएर रहेको अवस्थामा छ । यो हिजोको जस्तो सीधा उपनिवेश पनि छैन । स्वतन्त्र र स्वाधीन पनि छैन । यसले देशहरूलाई परम्परागत सामन्तवादमा पनि रहन दिएको छैन । स्वतन्त्र प्रगतिशील पुँजीवादमा पनि विकास हुन दिएको छैन । यसको चरित्र नयाँ छ जसलाई हामीले दलाल पुँजीवादी राज्यव्यवस्था भनेर संश्लेषण गरेका छौँ ।’ हो, त्यसकारण नेपालमा पुँजीवादी देशको जस्तो सहरी सशस्त्र विद्रोह पनि होइन र सामन्तवादी देशको जस्तो लामो दीर्घकालीन जनयुद्ध पनि होइन । यहाँ विकसित विशेषताका आधारमा मध्यकालीन चरित्रको विद्रोह हुनेछ । नेपाल हिजोको जस्तो सामन्तवादी पनि नरहेको र पुँजीवादी पनि नरहेको तर दुवै स्थितिमा पाइने मिश्रित विशेषता रहेको परि स्थितिमा नेपाली विशेषताहरूको संश्लेषण यसरी गरिएको छ ।

१. गाउँ र सहर २. राजनीतिक सत्तामा दलाल पुँजीवाद ३.मध्यम वर्ग ४. भौगोलिक रूपले सानो र भूपरिवेष्ठित ५. जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडनजस्ता विशेषताहरू आजको नेपालमा विद्यमान रहेका छन् जसअनुसार साम्राज्यवादी भूमण्डलीकृत सम्बन्धका कारण दलाल सत्ताका रूपमा रहेको नेपाली संसदीय सत्ता पुँजीवादी मुलुकको जस्तो उद्योग, मजदुर र सहरमा हुने विशेषता जस्तो पनि नरहेको र सामन्तवादी मुलुकमा जस्तो किसान, जमिन र सोही प्रकारको उत्पादन सम्बन्ध मात्र रहेको अवस्थामा पनि नभएको हुनाले यहाँ सहरी जनविद्रोहजस्तो वा दीर्घकालीन जनयुद्धजस्तो प्रकारले क्रान्ति हुन नसक्ने, बरु विकसित नेपाली विशेषताहरूका आधारमा एकीकृत जनक्रान्ति हुनेछ । हामीले यसलाई एकीकृत जनक्रान्ति भनेर बुझ्नु पर्ने र त्यसको मर्मलाई आत्मसातीकरण गरेर कार्यदिशाअनुसार तय भएका योजनाहरूलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

विश्व–साम्राज्यवादको प्रभाव र त्यसको भूमण्डलीकृत चरित्र र नेपालमा विद्यमान दलाल राज्यसत्ताको वस्तुवादी संश्लेषणसहित नेपालजस्तो मुलुकमा गरिने क्रान्तिको योजना र त्यसको कार्यान्वयनको बीचबाट नेपालमा हामीले दलाल राज्यसत्तालाई खारेज गरेर वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सम्भव छ भन्ने निष्कर्ष त छँदैछ तर नेपाली कम्युनिस्ट आन्दोलनलाई वस्तुवादी ढङ्गले सिंहावलोकन गर्दा प्राप्त सत्तालाई कसरी टिकाउने र व्यवस्थित गरेर सञ्चालन गर्ने भन्ने मात्र मुख्य विषय छ ।

यस विषयमा विश्व कम्युनिस्ट आन्दोलनबाट हासिल सैद्धान्तिक ज्ञान दुनियाँलाई बुझ्ने, बदल्ने जो थियो त्यति मात्र होइन, बदलेको दुनियाँको रक्षा र विकासलाई दरोसँग पकड्ने विषय एकीकृत जनक्रान्तिको भावभूमिबाट उद्घाटित प्रमुख विषय हो । यसर्थ हामीले स्थापना गर्ने वैज्ञानिक समाजवादी सत्तालाई बचाउन र टिकाउन उल्लिखित मर्मलाई हाम्रो समाजवादी कम्युनिस्ट संस्कृतिभित्र सेकेन्डसेकेन्ड रक्तसञ्चार गराइरहनु पर्दछ । दोस्रो विषय मूल दृष्टिकोणको सुरक्षाको कुरा जसरी जनयुद्धले स्थापित नेतृत्वमा आत्मसुरक्षावाद, वैचारिक मतभेद, अन्तर्विरोध, पलायनजस्ता समस्याहरू देखापरे जसको कारण सिङ्गो जनयुद्ध पछि पर्न गयो । अब त्यस्तो हुन्न र त्यो हुन दिनु हुँदैन भन्ने विषय पनि प्रमुख विषय हो । यो सन्दर्भमा द्वन्द्ववादी दर्शनशास्त्रमा व्याख्या भएअनुसार विपरीतहरूबीचको एकता र सङ्घर्ष भन्ने थियो । यो नियमलाई नेपाली कम्युनिस्ट आन्दोलनमा सार्वभौम लागू गर्ने भुल भएको थियो । यो समस्याको सैद्धान्तिक हल खोज्ने विषय समाज विज्ञानमा महान् खोज भएको छ । त्यसमा भनिएको छ विपरीतहरूबीचको एकता र सङ्घर्षको विषयलाई सार्वभौम ढङ्गले आत्मसात गरिनु हुन्न । पार्टीको हकमा यो सजातीयबीचको एकता र विजातीयबीचको सङ्घर्ष हो । यसको अर्थ पार्टी भनेको निश्चित उद्देश्य प्राप्तिका निम्ति तयार गरिएको साधन हो । त्यहाँ एक मत, एक विचार र दृष्टिकोण रहन्छ । त्यसकारण पार्टीमा फरक दृष्टिकोण र विचार रहनु विज्ञानसम्मत हुँदैन भनिएको छ । यसले के देखाउँछ भने एकीकृत जनक्रान्तिलाई लागू गर्ने, स्थापित समाजवादी सत्ता सञ्चालनमा मूल दृष्टिकोणलाई तोडमोड हुन नदिने विषय रहेको छ जसकारण समाजवादी सत्ता टिकाउने सन्दर्भमा यो विषय महत्वपूर्ण रहेको छ ।

महासचिव कमरेड विप्लवका कृतिहरू एकीकृत जनक्रान्ति, वैज्ञानिक समाजवाद, महापतन, दस्ताबेजहरू र विभिन्न समयमा लेखिएका रचनाहरूलाई गहिरो गरी अध्ययन गर्दा लाग्छ विश्व कम्युनिस्ट आन्दोलनका विजय र पराजयहरू र समाजवादी सत्ताहरूको विघटनलाई अत्यन्तै सूक्ष्म ढङ्गले खोज–अनुसन्धान गरिएको छ । विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा भएका कमजोरीहरू अब दोहोरिने छैनन् मात्र होइन, परिस्थितिको ठोस विश्लेषण गर्दै कार्यदिशालाई थप उचाइमा उठाउँदै नेपालबाट समाजवादी सत्ताको झन्डा फहराएर विश्वलाई साम्यवादमा प्रवेशको आह्वान गर्ने परिस्थिति निर्माण हुनेछ । त्यसकारण नेपाली कम्युनिस्ट आन्दोलनसँग रहेका तमाम सवालजबाफको बीचबाट हामी सगौरव भन्न सक्छौँ– नेपालमा दलाल संसदीय राज्यसत्तालाई मिल्काउने विषय ठूलो कुरा छैन । यो विषय नेपालमा प्रयोग भैसकेको छ । सम्भव साबित भैसकेको विषय हो । बरु अब हामीले स्थापना गर्ने समाजवादी सत्ताको प्रयोग, रक्षा र विकासमा हामी आमकार्यकर्ता चनाखो हुनुपर्नेछ ।

२०७६ जेठ ३० गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्