नेकपा र सेनालाई उत्तेजित पार्ने दुर्नियतपूर्ण समाचारको खण्डन

केपी वली सरकारले नेकपामाथि लगाएको कथित प्रतिबन्ध निष्प्रभावी बन्दै गएपछि र प्रतिबन्धको चौतर्फी आलोचना भई सरकार बदनाम बन्दै गएपछि नेकपाको लोकप्रियतादेखि आत्तिएको सरकारले दुष्प्रचारका विभिन्न हथकण्डा अपनाउन थालेको छ । पछिल्लो समयमा भोजपपुरमा नेकपाका जिल्ला नेता तीर्थ घिमिरे ‘राजु’ लाई निहत्था अवस्थामा गिरफ्तार गरी हत्या गरेपछि वली सरकार झन् बदनाम हुँदै गएको अवस्थामा काठमाडौँबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा सेनालाई भड्काउने किसिमको समाचार प्रवाह गराएर नेकपा र सेना दुवैलाई उत्तेजित पार्ने षड्यन्त्र गरिएको भन्दै नेकपाले आपत्ति प्रकट गरेको छ । ‘शम्भु कट्टेल’ नामका विवादास्पद व्यक्तिलाई प्रयोग गर्दै अन्नपूर्ण पोस्ट् नामको पत्रिका र अनलाइनले ‘सैनिक अपहरण, एक महिनासम्म गुपचुप’ शीर्षकमा प्रवाह गरेको समाचार पूर्ण रूपमा झूट्टा, कपोलकल्पित, निराधार र नेकपालाई उत्तेजित पार्ने योजनाबद्ध दुष्प्रचार भएको भन्दै नेकपाले आपत्ति प्रकट गरेको हो ।
उक्त कपोलकल्पित समाचारमा नेकपाले ‘नेपाली सेनाका एक जवानलाई अपहरण गरेको र अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको’ जनाइएको छ । नेकपाले भने उक्त समाचार खारेज गर्दै यसकिसिमका दुष्प्रचार रोक्न आग्रहका साथ अनावश्यक भ्रम फैलाएर उत्तेजित बनाउने षड्यन्त्र नगर्न चेतावनी दिएको छ ।


उक्त मिथ्या समाचारमा ‘रूपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेको, छुट्टीमा घर गएका शाहीलाई विप्लव समूहले जाजरकोट जुनिचाँदे गाउँपालिका २ स्थित आफ्नै घरबाट अपहरण गरेको, सैनिक जवान शाहीका बाबु वीरबहादुर कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष रहेको र अपहरणलगत्तै शाहीलाई विप्लव समूहले अज्ञातस्थलतर्फ लगेको’ जनाइएको छ । समाचार लेखाउने पक्षले नेपाली सेना, नेपाली काङ्ग्रेस, जनसमुदाय र नेकपाका बीच अन्तरविरोध उत्पन्न गराएर नेकपाको बढ्दो लोकप्रियतामा रोक लगाउने र सरकारी स्वेच्छाचारिताबाट अन्यत्र ध्यान मोड्न लगाउने उद्देश्य रहेको देखिएको नेकपा स्रोतले जनाएको छ । हावादारी र अपुस्ट स्रोतको हवाला दिँदै समाचारमा लेखिएको छ, ‘शाही परिवारसँग विप्लव समूहले दुई लाख रूपैयाँ चन्दा मागेको थियो । वीरबहादुरले चन्दा दिन अस्वीकार गरेका थिए । चन्दा नदिएकै कारण शाहीलाई कार्यकर्ताले अपहरण गरेका हुन् । विप्लव समूहले जुनिचाँदे गाउँपालिकालगायत जाजरकोटका अधिकांश गाउँमा २० हजार देखि ४ लाखसम्म चन्दा उठाउने गरेका छन् ।’ स्मरणीय छ वली सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध, दमन, यातना र अत्याचारको सेनाका विभिन्न निकायबाटै कडा रूपमा विरोध भएको थियो । कतिपय पूर्वजनरलहरूले विप्लव नेतृत्वको पार्टी देशभक्त र राष्ट्रवादी भएकाले सरकार दमनमा उत्रिएको भन्दै दमन र प्रतिबन्धको खुलेरै विरोध गरेका थिए । सेना नेकपाविरुद्ध परिचालित नहुने देखिएपछि यसप्रकारको सुनियोजित हल्ला र भ्रम फैलाइएको नेकपा स्रोतको विश्लेषण छ ।
उक्त प्रायोजित समाचारमा ‘शाही विप्लवका कार्यकर्ताको पञ्जाबाट भागेर तालिमरत स्थान सैनामैनास्थित श्री नम्बर दुई गणमा फर्केका, शाही कति दिन अपहरणकारीको कब्जामा रहे त्यो विषय भने खुलेको छैन’ भनिएको छ तर नेकपाको सम्बन्धित क्षेत्रका जिम्मेवार नेताहरूले पार्टीको त्यस किसिमको नीति नरहेको र त्यसप्रकारको कुनै पनि घटना नभएकाले नेकपा र सेनालाई उत्तेजनामा ल्याउने प्रायोजित प्रोपागान्डा भएको भन्दै खण्डन गरेका छन् ।
वली सरकारले गत वर्ष फागुन २८ गते नेकपालाई ‘आपराधिक समूह’ भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । कथित प्रतिबन्धपछि वली सरकारले घरमा बसेका, औधिउपचार गर्न हिँडेका, खेतबारीमा काम गर्दै गरेका, जनसमुदायसँग छलफल गर्दै गरेका नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थकसहित झन्डै तीन सयजनालाई गिरफ्तार गरी राज्यद्रोहको झूट्टा मुद्दा लगाउँदै जेल र हिरासतमा राखेको छ । सरकारी दमन, प्रतिबन्ध, गिरफ्तारी, झूट्टा मुद्दा, हिरासत र जेल पठाउने कार्यको मुलुकभित्रका विभिन्न पार्टीका साथै विदेशबाटसमेत व्यापक आलोचना भइरहेको छ । वली–प्रचण्ड सरकारको प्रतिबन्धलाई प्रतिरोध गर्दै नेकपाले देशका विभिन्न स्थानमा जनसङ्गठन र जनसेवाका कामहरू अघि बढाइरहेको समाचार प्राप्त भएको छ ।
उक्त पत्रिकाले कथित एक उच्च सैनिक अधिकारीको हवाला दिँदै समाचारमा लेखेको छ, ‘नेपाली सेनालाई उत्तेजित गराउने उद्देश्यले यस्ता गतिविधि गराइएको हुन सक्छ । सेनालाई उत्तेजित बनाई विप्लवका गतिविधिविरुद्ध परिचालित गराउने षड्यन्त्र त होइन भन्ने आशङ्का बढिरहेको छ । सैनिक नेतृत्व तहबाटै यसमा विश्लेषण पनि भइरहेको छ ।’
यसप्रकारको नियोजित समाचार लेखाएर सत्ता पक्षले अलोकप्रिय र बदनाम हुँदै गएको आफ्नो अनुहार ढाक्ने प्रयत्न गरेको तर वली सरकारको ज्यादतीबाट आजित मुलुकका सबै पक्षले यो रहस्य नजिकैबाट बुझेको नेकपा स्रोतले जनाएको छ । समाचारमा लेखाइएको छ, ‘सैनिक अधिकारीको अपहरण र तिनका परिवारबाट जबर्जस्ती चन्दा असुलीजस्ता आपराधिक गतिविधि सेनालाई कदापि स्वीकार्य हुँदैन । त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न सेनाले कसैको आदेश कुर्नु पर्दैन ।’
समाचार लेखाउनुको खास र निहित उद्देश्य यहीँ आएर प्रस्ट भएको नेकपा स्रोत बताउँछ । नेकपाले चन्दा असुल गरेको र अपहरण गरेको बनावटी घटना बनाएर नेकपाले सञ्चालन गरिरहेको राष्ट्रियता, जनतन्त्र र जनजीविका रक्षाको विद्रोहलाई नजिकैबाट समर्थन र सहयोग गरिरहेका जनता, नजिकैबाट हेरिरहेको सेनालाई उत्तेजित बनाई दमनमा उतार्ने नियोजित षड्यन्त्र र दुष्प्रचारको कडी रहेको नेकपा स्रोतको भनाइ छ ।
स्मरणीय छ, नेकपाको कुनै पनि सिद्धान्त, नीति र कार्यक्रममा व्यक्ति अपहरण, यातना वा हत्या गर्ने उल्लेख छैन तर नेकपालाई बदनाम गराउनृ उद्देश्य र उसको बढ्दो लोकप्रियता कमजोर गराउने षड्यन्त्रस्वरूप पुष्पकमल दाहाल, केपी वलीलगायतले नेकपाले आफूहरूको हत्या गर्ने योजना बनाएको सस्तो प्रचार गर्दै आफ्नो अस्तित्वरक्षा गर्ने गरेका छन् । स्मरणीय उक्त पत्रिकाका समाचार लेखक चर्चामा आउनका लागि जस्तोसुकै कपोलकल्पित समाचार पनि लेख्ने रहस्यमय र शङ्कास्पद व्यक्ति हुन् । चर्चामा आउनकै लागि उनले केही समयअघि जनगणतन्त्र कोरिया (उत्तरकोरिया) का जनता लुकेर नेपालमा श्रम गरिरहेको भ्रम प्रचार गरेका थिए । यो षड्यन्त्रपछि उत्तरकोरियाले उनलाई कालोसूचीमा राखेको कोरियाली स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :