नेकपाका नेता सुदर्शनसहित चारजना पुर्पक्षकालागि जेल चलान

रिहा लगत्तै प्रज्वलनलगायत चारजना पुनः गिरफ्तार

काठमाडौं : अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विजय श्रेष्ठ ‘प्रज्वलन’सहित चार जना नेताहरुलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

अदालतको आदेशमा रिहा भएका प्रज्वलनसहित नेकपा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी, जिल्ला नेता देवराज घिमिरे र सञ्जिव कार्कीलाई प्रहरीले अदालत परिसरबाटै पुन गिरफ्तार गरेको छ । नेता प्रज्वलनलाई काभ्रेमा अर्काे मुद्दा भएकोले त्यता लैजाने बुझिएको छ ।

ललितपुर जिल्ला आदालतले आज थुनछेक बहसपछि सुनुवाई गर्दै उनीहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशलगत्तै प्रहरीले स्वास्थ्य परिक्षणपछि मात्रै रिहा गर्ने भन्दै अदालत प्रांगणबाटै बा १ ग ३२९३ नम्बरको डिब्बावाला प्रहरी भ्यानमा राखेर लगेको हो ।

गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारीको खानीखोलाबाट उनीहरुलाई गिरफ्तार गरी हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि न्यायधिस धनसिंह महराको एकल इजलासले रिहा गर्न आदेश दिएको हो । तर, रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

यसअघि सोही मुद्दामा नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन), नेताहरु रामकृष्ण खतिवडा, लोकेन्द्रबहादुर कार्की र बुद्धिबहादुर स्याङतानलाई भने अदालतले पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको थियो ।

ललितपुर जिल्ला अदालतले नेता सुदर्शनसहित ४ जनालाई पुर्पक्षकालागि भन्दै नख्खु जेल चलान गरेको छ ।
आठै जना नेतालाई शुक्रबार अदालतमा उपस्थित गराईएको थियो । बन्दीको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता खिमानन्द अधिकारी लगायतले बहस पैरवी गरेका थिए ।

२०७६ जेठ ११ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :