अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाल रिहा

प्रहरीद्वारा पुनः गिरफ्तार गर्न खोज्दा झडप हुँदा ४ कानुन व्यावसायी घाईते


काठमाडौं : अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल रिहा भएका छन् । गत वैशाख २७ गते शुक्रबार ११ बिद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलनबाट गिरफ्तार अध्यक्ष ढकाल रिहा भएका छन् ।

शुक्रबार काठमाडौ जिल्ला अदालतले थुनछेकको बहसपछि ढकाललाई साधारण तारेखमा रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो । तर ढकाल जिल्ला अदालत काठमाडौको आदेशले छुटे लगत्तै प्रहरीले पुनः पक्राउ गर्न खोजेपछि अदालत परिसरमै झडप भएको थियो । काठमाडौ जिल्ला अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप भएको थियो । ललितपुर जिल्ला बार एसोसिएसनका कार्यसमिति सदस्यसमेत रहेका ढकाललाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको थियो ।

प्रहरीले ढकाललाई पुनः पक्राउ गर्न खोजेपछि कानुन व्यावसायीले पक्राउ गर्नुपर्ने कारणसहितको पक्राउ पुर्जी दिएर मात्रै पक्राउ गर्न भन्दै माग राखेपछि प्रहरीले धरपकड गरेको थियो । सो क्रममा ४ जना कानुन व्यवसायीहरु घाइते भएका छन् । प्रहरी र कानुन व्यावसायीबीच केहिबेर धकेला धकेलसमेत भएको थियो । कानुन व्यावसायीको बिरोधकाबीच प्रहरीले उनलाई पुन गिरफ्तार गरेको थियो ।

राजनीतिक आस्था र विचारका आधारमा कसैलाई पनि पक्राउ गर्न नपाइने आदेशमा उल्लेख छ । प्रहरीले ढकालविरुद्धको मुद्दा बिहीबार अदालतमा दर्ता गरेको थियो । शुक्रबार थुनछेकसम्बन्धी बहस भएको हो ।

बिद्यार्थी नेता तथा अधिवक्ता ढकालको पक्षमा नेपाल बार एसोसिएसनका उपाध्यक्ष इश्वरीप्रसाद भट्टराई, महासचिव लिलामणि पौडेल, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, नेपाल वार एसोसिएसनका सदस्य तथा अधिवक्ता भिमसेन बन्जाडा, अधिवक्ता कपिलचन्द्र पोख्रेल, अधिवक्ता कान्ति ढुंगानालगायत १६ जनाले बहस गरेका थिए ।

त्यसअघि ढकाललाई गैरन्यायीक रुपमा गिरफ्तार गरेको भन्दै रिहा गर्न माग गर्दै वैशाख ३१ गते ११ बिद्यार्थी संगठनका तर्फबाट मंगलबार नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी)का कोषाध्यक्ष बिनोद सुनामले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले जिल्ला अदालतमा मुद्दा दायर भइसकेको भन्दै आदेश जारी गरेपछि जिल्ला अदालतले बहसपछि साधारण तारेखमा रिहा गरेको छ ।

ढकाललाई रिहाई गर्न माग गर्दै नेपाल विद्यार्थी संघ, नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी), गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), अनेरास्ववियू (पाँचौं), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरम नेपाल, राष्ट्रवादी विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ आन्दोलित बनेका थिए ।

२०७६ जेठ ३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :