केन्द्रीकृत अभिव्यक्ति एकीकृत जनक्रान्ति

१) प्रारम्भ

प्रचण्ड–बाबुरामको आत्मसमर्पणवाद, संसद्वाद, विसर्जनवादका विरुद्ध किरणको नेतृत्वमा हामीले २०६९ साल असारमा सम्बन्धविच्छेद ग¥यौँ । किरणको अकर्मण्यतावादका विरुद्ध क. विप्लवको नेतृत्वमा २०७१ मङ्सिर ८ गते फेरि सम्बन्धविच्छेद ग¥यौँ । एकीकृत जनक्रान्तिको कार्यदिशाद्वारा वैज्ञानिक समाजवाद प्राप्तिको महान् उद्देश्यका लागि हामी अभियानमा छौँ । यतिखेर हाम्रो नेपाल कम्युनिस्ट पार्टी वैकल्पिक शक्तिका रूपमा गतिवान् छ । सही विचारको अभिव्यक्ति वैज्ञानिक कार्यदिशा व्यवहारको कसीले समृद्ध भैरहेको छ । हामी मौलिक क्रान्तिलाई विजयको लक्ष्यमा पु¥याउने गति पैदा गरिरहेका छौँ । हामीलाई थाहा छ, कुनै पनि वस्तु गतिशील भयो भने रूपान्तरण हुन्छ र विकसित हुन्छ । हाम्रो गति भनेको फगत डाँडाकाँडा घुम्ने र सहरको रङ्गीविरङ्गी रूपमा लट्ठिने खालको हुँदैन । बरु जनसम्बन्धका लागि माहुरी बन्ने खालको हुन्छ । जुन वर्गका लागि सचेत क्रान्ति गरिन्छ त्यो वर्ग, राष्ट्र, समुदाय र लैङ्गिक सहभागिताबिना क्रान्ति गर्न खोजियो भने गल्ती हुन जान्छ । एकीकृत जनक्रान्तिको उद्देश्य भनेको श्रमिकमाथिको उत्पीडन, विभेद र राष्ट्रिय पराधीनतालाई अन्त्य गर्नु हो । अर्थात् दलाल पुँजीवादी राज्यसत्ता र नेपाली जनताबीचको अन्तरविरोध हल गर्नु हो । अर्कोतिर राष्ट्रिय स्वाधीनताका लागि विभिन्न साम्राज्यवाद विशेषतः भारतीय साम्राज्यवादी हस्तक्षेपवाट नेपाललाई स्वाधीन बनाउनु हो । यति मात्र कहाँ हो र ! यतिखेर विश्वपुँजीवाद भूमण्डलीकृत रूपमा आइरहेको छ । विज्ञान र प्रविधिको विकासले कुनै पनि कदमलाई सीमाले रोक्न नसक्ने तुल्याइदिएको छ । अमेरिकाले हरक्षेत्रमा आफूलाई श्रेष्ठ बनाउने भूमण्डलीकृत सर्वसत्तावादी नीति अख्तियार गरिरहेको छ । त्यसका विरुद्ध रुस, चीनलगायत बहुध्रुव खडा भैरहेका छन् । यतिखेर मुनाफाका लागि विश्व ट्रेड वार चलिरहेको छ । विश्व साम्राज्यवादको उत्पीडनमा परेका राष्ट्र, समुदाय भयावह स्थितिमा पुग्ने हुँदा उनीहरू भरपर्दो विकल्प रोज्न र आफूलाई रक्षा गर्न विवश हुने अवस्था देखिन्छ । प्रतिरोध आन्दोलन नै सबैभन्दा उत्तम हुने भएकाले विश्वप्रतिरोध आन्दोलनको सम्भावना बढेको छ भने नेपाली जनता राज्यसत्ताको जनविरोधी क्रियाकलापले आजित छन् । नेपाली जनताले पनि भरपर्दो विकल्प खोजिरहेका छन् । अत्याचारी दलाल राज्यसत्ताको विकल्प वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिकै चौतर्फी सम्भावना मुखरित भइरहेको यस घडीमा केन्द्रीकरणको सर्वाधिक महत्व र आवश्यकता हुन आएको छ ।

२) के हो केन्द्रीकरण ?

आदर्शवादी (अध्यात्मवादी) विश्वदृष्टिकोणका विरुद्ध भौतिकवादी विश्वदृष्टिकोणमा स्पष्ट हुनु केन्द्रीकरणको पहिलो सर्त हो । कुनै पनि बहानामा कुनै पनि धर्म र त्यसका सांस्कृतिक स्वरूप, देवीदेवता, भगवान् मान्नु अन्ततः आदर्शवाद नै हो । एउटा असल कम्युनिस्ट द्वैध चरित्रको हुँदैन । हुन्छ भने त्यो अवसरवाद हो । तसर्थ कम्युनिस्टले हरहमेसा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणलाई अविचलित आत्मसात गर्नु भौतिकवादी केन्द्रीकरण हो । भौतिकवादीहरू अवश्य एक ठाउँमा केन्द्रीकृत हुन पुग्ने हुन्छ । त्यसैगरी राजनीतिक विचारमा केन्द्रीकरण कम्युनिस्टको दोस्रो सर्त हो । संसारका श्रमिक तथा उत्पीडित जनताको मुक्तिका लागि सही विचार आवश्यक हुन्छ । सही विचार भनेको माक्र्सवादको विकासशीलता र गतिशीलता हो । जसले राजनीतिक समस्याको समाधान दिन्छ र मानव जीवन समृद्ध हुन पुग्छ । सही विचारको केन्द्रीकृत अभिव्यक्ति वैज्ञानिक राजनीतिक कार्यदिशा हो । सही विचार, राजनीतिक कार्यदिशा जब कार्यान्वयन हुन थाल्छ, त्यसको वैज्ञानिकताले व्यक्ति वा समुदायलाई आकर्षित गर्छ तब अवश्य केन्द्रीकरण जन्मन्छ । तसर्थ एउटा कर्तव्यनिष्ठ कम्युनिस्ट विचार र राजनीतिक कार्यदिशामा इच्छाशक्ति पोख्नु र परिणाममुखी क्रियाशीलता र कार्यकुशलता प्रदर्शन गर्नु केन्द्रीकरणको उदाहरण हो ।

तेस्रो सर्त हो, साङ्गठनिक केन्द्रीकरण । व्यक्ति सङ्गठनमा, तल्ला समिति माथिल्ला समितिमा, कार्यकर्ता तत्सम्बन्धित समितिको नेतृत्वमा विश्वस्त हुनु र चित्त प्रसन्न भई प्रवाहमा हेलिनु केन्द्रीकरणको वैज्ञानिकता हो । तथ्यमा आधारित सत्य मतको प्रभावकारी जनवादको प्रयोगले केन्द्रीयता जन्माउँछ । आफैँले जन्माएको केन्द्रीयतामा जनवाद केन्दीकृत हुनु अनिवार्य हुन्छ । सत्य पनि यही हो र अनुशासन पनि त हो । कतैकतै हिजोको विचलित नेतृत्वको आँखाले आजको विकासशील नेतृत्वलाई हेरेर आफँै पदविचलित भएको पाइन्छ । त्यो गलत तरिका हो । लक्ष्यको बाधक तरिका पनि हो त्यो । आफूलाई कुनै कुरामा चित्त नबुझेमा तलतल, वरपर ओकल्ने वा थपक्क घर बस्ने, अर्को पार्टीसँग बार्गेनिङ गर्ने तरिकाले पनि केन्द्रीकरणको मर्म पक्रन सक्दैन, बरु विकेन्द्रीकरण र आत्मकेन्द्रित व्यक्तिवादी अराजकतावादलाई सेवा गर्ने अवस्थामा पुग्ने खतरा हुन्छ । कुनै विषय प्रस्ट नभए वा नयाँ छलफलको विषय भए आफ्नो पद्धतिमा मौखिक वा लिखित दर्ज गरी तथ्यमा आधारित छलफल, बहस गरी सत्य निरूपण गर्नु पर्दछ । कहिल्यै र कुनै पनि हालतमा केन्द्रीकरणलाई आफूबाट बाधा नहाल्नु एउटा असल कम्युनिस्टको कर्तव्य हो । केन्द्रीकरणको चौथो सर्त हो– भावनात्मक एकता । सही विचारमा आधारित भावनात्मक एकता भएन भने केन्द्रीकरण यान्त्रिक हुन जान्छ । भावनात्मक एकताबिनाको औपचारिक वा यान्त्रिक एकताले कहिलेकहीँ ठूलो छिन्नभिन्न हुने अवस्था पैदा गर्ने खतरा हुन्छ । रचनात्मकताबिना भावनात्मक एकता पैदा हुनै सक्दैन । योजनाबद्ध सहकार्य गर्दै जाँदा एकापसी अन्तरसम्बन्ध बढ्दै जान्छ र पारिवारिकताको अनुभूति हुन पुग्छ । सुखदुःखमा एकाकार हुनुले रचनात्मकता पैदा गर्छ वा विचारमा सुस्पष्ट ,लक्ष्यमा दृढ हुँदा रचनात्मकता पैदा हुन्छ । जनयुद्धको गौरवमय इतिहासका वीरगाथालाई फर्केर हे¥यौँ भने त्यहाँ फेला पर्छ उत्कृष्ट भावनात्मक एकता । त्याग, तपस्या समर्पणभावले अर्कोलाई आकर्षित गर्छ । एकजना सहयोद्धा रणमैदानमा वीरगति प्राप्त गर्दा अर्को सहयोद्धालाई असीम पीडा हुन जाने, मुटु चोइटिएको महसुस हुने चानचुने रचनात्मकता, भावनात्मकता, पारिवारिकता हो त ! अर्को कुरा सामूहिक श्रमले पनि भावनात्मकता पैदा गर्छ । तसर्थ केन्द्रीकरणका लागि सामूहिक अभ्यास व्यक्तिगत उत्तरदायित्वको महत्व अनिवार्य हुन आउँछ । त्यसले भावनात्मक एकतालाई सुदृढ र नवीकरण गर्दै जान्छ । टिम एकतालाई जनभावनात्मक एकतामा जोड्नु र लहर–उभार पैदा गर्नु एकीकृत जनक्रान्तिको सर्वाधिक महत्वपूर्ण पक्ष हो । एउटा व्यक्तिको सोचाइ, क्रियाकलाप अंश हो भने केन्द्रीकरण समग्र हो । तसर्थ अंशको अन्तरसम्बन्ध समग्रसँग जरुर हुन्छ । वास्तविक रूपमा केन्द्रीकरण भनेकै तागत, जोस, जाँगर र आत्मविश्वासको उत्तम उपायमध्येको जीवनशील पक्ष हो । यसले छिद्रहरूलाई अन्त्य गर्दछ । एकलकाटे अवस्थाबाट माथि उठाउँछ । निराशाबाट आशावादमा फड्को मार्न केन्द्रीकरणले पुलकै काम गर्छ । यो निष्ठावान् क्रान्तिकारीहरूको अनुभव पनि हो ।

३) एकीकृत जनक्रान्तिमा कदम चाल्ने तरिका

नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनद्वारा पारित राजनीतिक कार्यदिशाले कदम चाल्ने वैज्ञानिक तरिका हामीलाई प्रदान गरेको छ । अझै अघि बढेर महासचिव क. विप्लवले वैज्ञानिक समाजवादनामक किताबमा सविस्तार सार्वजनिक गर्नुभएको छ । यी तरिका १९१७ को लेनिनको नेतृत्वमा सफलता प्राप्त रुसी जनविद्रोह (अक्टोबर क्रान्ति), १९४९ को माओ त्सेतुङको नेतृत्वमा सफलता प्राप्त चिनियाँ दीर्घकालीन जनयुद्धका सार्वभौम पक्षलाई दह्रोसँग पक्डेर नेपालको मौलिकता र विशेषतामा आधारित विकसित तरिका हुन् । यिनै तरिकालाई यथार्थमा बदल्नु एकीकृत जनक्रान्तिका शुभचिन्तक, समर्थक, सहयोगी र नेता–कार्यकर्ताको केन्द्रीकृत अभिव्यक्तिको मर्म हो । ती तरिका यहाँ उल्लेख गर्नु सन्दर्भिक नै हुनेछ । जस्तो क) गाउँ र सहर दुवैलाई जोड्ने । ख) मध्यम वर्ग र किसान, मजदुर मिलाउने । ग) जनता र जनसेना मिलाउने । घ) वैज्ञानिक प्रविधि र सचेत मानवशक्तिलाई मिलाउने । ङ) वर्ग, राष्ट्र, समुदाय र लैङ्गिक एकता कायम गर्ने । च) देशभक्त र कम्युनिस्टहरूलाई जोड्ने । छ) कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिका । यी तरिका मौलिक पनि हुन् । अझ भनौँ विकसित अवस्थाका क्रान्तिचेत हुन् । नेतृत्व विचार विकासका सुस्पष्ट पहिचान पनि हुन् । यिनै तरिका वा विशेषताअनुसार केन्द्रीकृत अभिव्यक्तिका साथ योजनाबद्ध र परिणाममुखी क्रियाशीलता आजको आवश्यकता हो । यसका लागि उच्चस्तरको र प्रभावकारी जनशैली जनताको अपेक्षा छ । बाघचालझैँ जनसङ्गठनको सञ्जाल तयार पारी दलाल, भ्रष्ट, तस्कर, बलात्कारी हत्यारा, राष्ट्रघाती, जनघाती, सीआईडी, सुराकीलाई जनकारबाही गर्नु एकीकृत जनक्रान्तिको अभीष्ट हो । जनसङ्घर्ष र वर्गसङ्घर्षलाई एकीकृत गरेर चालू वैज्ञानिक समाजवादका प्रारूप रक्षा र विकास गर्नु सच्चा नेपाली र क्रान्तिकारीहरूको दायित्वको विषय हो ।

४) सम्भावना र चुनौती

आज नेपाली जनता दलाल संसदीय व्यवस्थादेखि आजित भएका छन् । आफ्ना कलकलाउँदा छोराछोरीहरूलाई विदेशका गल्लीगल्लीमा मजदुरीका लागि नुनिला आँसुका ढिक्का चुहाउँदै उडाउन विवश छन् । महँगी बढेर आकाश छुँदैछ । गरिबी र आवश्यकता परिपूर्ति गर्न साह्रै गारो परेका कारण रोजगारीका लागि युवाहरू बिदेसिन बाध्य छन् । दलाल, सामाजिक दलाल सत्ता, सरकारप्रति यतिविधि घृणा र आक्रोश देखिन्छ त्यसको अब लेखाजोखा गरी साध्यै छैन । सेकेन्डभर पनि यो जनविरोधी, भ्रष्टाचारी, तस्कर, काण्डैकाण्डले बदनाम र ज्यानमारा सत्ता चाहिँदैन भन्छन् स्वाभिमानी जनसमुदाय । श्रमजीवी जनता भरपर्दो विकल्पको खोजीमा छन् । गाउँगाउँ, बस्तीबस्ती एकढिक्का भएर थोकमा सङ्गठित भैरहेका छन् नेपाल कम्युनिस्ट पार्टीमा । एकीकृत जनक्रान्तिको लहर दिन दुई गुना रात चौगुना फैलिरहेको छ । एकीकृत जनक्रान्तिमा विजयको सम्भावना नै दृष्टिक्षितिजमा चमचमाइरहेको कुरामा दुईमत छैन जनसमुदायको मन छाम्दा । हाम्रासामु खडा भएका चुनौतीका काला पहाडलाई नियाल्दा फासिवादकै चुनौती मुख्य देखिन्छ । भ्रष्ट र गतिछाडा सरकारले कुनै नयाँ कदम चाल्ला भनी आस गर्नु बेकार हुनेछ । बरु षड्यन्त्रपूर्ण फासिवादी हर्कत गर्ने र तर्साउने खतरालाई वैचारिक, वैज्ञानिक र बलशाली क्रान्तिद्वारा परास्त गर्न उदार भैयो भने नजिक आएको वैज्ञानिक समाजवादको सुन्दर भविष्यमा ग्रहण लाग्ने चुनौती त्यत्तिकै छ । जनचाहना र जनजीविकासम्बन्धी जल्दाबल्दा आवश्यकता परिपूर्तितर्फ कदम चल्ने सकारात्मक चुनौती पनि कर्तव्यनिष्ट कम्युनिस्टका लागि सामना गर्नुपर्ने विषय बनिसकेको छ । अर्को चुनौती भनेको नानाथरीका भातमाराहरूको भ्रमका खेती, विभिन्न धर्मका नाममा उत्तरसाम्राज्यवाददेखि साम्राज्यवादीको घुसपैठ हो । च्याउजस्तै एनजीओ÷आईएनजीओका कनिकाछराइ बिकासे नाराले जनतालाई खण्डीकृत गरिरहेका छन् । यिनीहरूका चाल र जाललाई नाकाम पारेर जनताको स्वाभिमानलाई रक्षा गर्न सकिएन भने राष्ट्रिय स्वाधीनता र जनमुक्तिको कदममा पलपल ठेस लाग्ने खतरा छ । बिचौलियाहरूको दलाल पुँजीवादको खेतीले भ्रान्ति मौलाइरहेको छ । यसलाई भन्डाफोर र गोडमेल गर्ने चुनौती पनि त्यत्तिकै छ ।

५) निष्कर्ष

जनता दलाल र सामाजिक दलाल पुँजीवादी राज्यसत्ताको अत्याचारका कारण असाध्य असन्तुष्ट छन् । चालू राज्यसत्ताको सर्वसत्तावादी र फासिवादी रबैयामा भ्रष्टाचार मौलाइरहेको छ । भ्रष्टाचार र कमिसनका कारण जनजीविका सङ्कटमा परेको छ । विकास निर्माणको हबिगत देख्दा कसको मन खिन्न नहोला र । बलात्कार, हत्याहिंसा, तस्करी, महँगीले जनताको ढाड सेकाएको यस परिवेशलाई एकीकृत जनक्रान्तिबाहेक कुनै तरिकाले समाधान दिन सक्दैन । वैज्ञानिक समाजवादबिना नेपाल र नेपालीको भविष्य समुज्ज्वल हुनै सक्दैन । उत्पादनबिना समृद्धिका सपना पानीका फोकासरह हुने कुरामा दुईमत छैन । बेरोजगारीको महामारीले युवा वर्ग थिल्थिलिएको छ । कस्तुरी बिना खोज्दै भौँतारिएझैँ युवाहरू भविष्यको बिनाको खोजीमा परदेसिन विवश भएको समस्याको समाधान एकीकृत जनक्रान्तिले दिनैपर्छ । वास्तविक अर्थमा कस्तुरीको बिना त स्वयम् युवकयुवतीहरूमै छ । आफ्नै पाखापखेरीमा पौरख पोखे नेपाल संसारकै नमुना अवश्य बनाउन सकिनेछ । यसकारण केन्द्रीकृत अभिव्यक्तिका साथ सचेत हस्तक्षेप बढाऔँ । परिणाम एकीकृत जनक्रान्तिको विजयध्वजा फहराउन कसलाई मन नपर्ला र ! वैज्ञानिक समाजवादको अमृतमय स्वादले कुन नेपाली आनन्दित र आशावादी नहोला र ! त्यही हो एकीकृत जनक्रान्तिको उद्देश्य । जब वैज्ञानिक समाजवाद हाँस्नेछ तब मानव जातिले मानव जातिलाई शोषण गर्ने परम्परा सदासर्वदा अन्त्य गर्न साम्यवाद हाम्रै आँगनीमा झलमलाउनेछ ।

२०७६ वैशाख २२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!