एनसेलको नालिबेली र ‘सिम बहिष्कार’ अभियान,


काठमाडौं : (समाचार टिप्पणी)  मोबाइल सेवाप्रदायक एनसेल संस्था अहिले विभिन्न कारणले चर्चामा छ । नेपाललाई कर नतिरेर बदमासी गरिरहेको एनसेललाई जनताले नै तह लगाउने संकेत देखिएको छ । सर्वोच्च अदालतले नै कर तिर्नकोलागि आदेश दिएपनि एनसेलले कर नतिर्ने अडान लिइरहेको छ । बम विस्फोट हुँदासम्म पनि एनसेल लाइनमा नआएपछि जनताले स्वतःस्फूर्त सिम फिर्ता गर्न थालेका छन् । सामाजिक सञ्जालहरुमा अहिले ‘नो ट्याक्स, नो एनसेल’ अभियानको लहर नै चलेको छ ।

अन्तर्र्रािष्ट्रय लाइफकोच नरबहादुर कार्कीले सामाजिक सञ्जालमा एनसेललाई तह लगाउन मौलिक आन्दोलन गर्नुपर्ने बताएका छन् । उनले भनेका छन् ‘एनसेलले ठगेको ७३ अर्ब रुपैयाले एकलाख नेपाली युवालाई मासिक ६०,८३३ तलब दिएर एक बर्ष देश निर्माणमा लगाउन सकिन्थ्यो ।’ विभिन्न कलाकार, सामाजिक अभियन्ता तथा सर्वसाधारण जनताले समेत यो अभियानलाई साथ दिएका छन् । जनस्तरमा एनसेलले असाध्यै लुट मच्चाइरहेको गुनासो रहँदै आएको छ । महँगो सेवाप्रदाय र आर्थिक एवम् नीतिगत भ्रष्टाचार गरेकाले उक्त संस्थामाथि कारबाही गर्नुपर्छ भन्ने धेरै नै गुनासो र सुझावका आधारमा नेपाल कम्युनिस्ट पार्टीले विभिन्न समयमा एनसेलमाथि कारवाही गर्दै आएको बताएको छ । एनसेललाई मात्र होइन, उसको संरक्षण गर्ने र साँठगाँठ गर्नेहरुलाई समेत कारवाही गर्ने नेकपाले बताउदै आएको छ ।

के हो एनसेल ?

२०५८ असार ७ गते यो कम्पनी दर्ता भएको थियो । यसको ८० प्रतिशत सेयर होल्ड गर्न सेन्ट किट्स एन्ड नेभिसमा रेनल्ड होल्डिङ स्थापना गरिएको थियो । ४ जुलाई २००१ मा नेभिस बिजनेस कर्पोरेसन अर्डिनेन्स जुन १९८४ मा एनभीसीओ अन्तर्गत दर्ता भएको यो कम्पनीसँग प्रति एक डलर मूल्यका एक लाख एक हजार कित्ता सेयर थियो । रेनल्ड होल्डिङ्सको १०० प्रतिशत सेयर टेलियासोनेरा नर्वे नेपालले होल्ड गथ्र्यो । त्यसको पनि १०० प्रतिशत सेयर नेदरल्यान्डको टेलियासोनेरा एसिया होल्ड गथ्र्याे । त्यसको सेयर दुईवटा कम्पनीमा विभाजित थिए । पहिलो टेलियासोनेरा यूटीए कम्पनी र दोस्रो एसईए टेलिकम इन्भेस्टमेन्ट कम्पनी थियो । टेलियासोनेरा यूटीएसँग टेलियासोनेरा एसियाको ७५.५ तथा एसईए टेलिकम इन्भेस्टमेन्टसँग २४.५ प्रतिशत सेयर थियो । टेलियासोनेरा यूटीए टेलियासोनेराको शतप्रतिशत लगानी भएको कम्पनी हो भने एसईए टेलिकम इन्भेस्टमेन्ट कजाख कम्पनी भाइजर समूहको लगानी भएको कम्पनी हो । भाइजर समूहमार्फत एसईएमा निजी व्यक्तिको लगानी थियो ।
सेन्ट किट्स एन्ड नेभिसमा दर्ता भएको रेनल्ड होल्डिङ्ससँग एनसेलको सय रुपैयाँ दरका १० लाख कित्ता सेयरमध्ये आठ लाख कित्ता सेयर थियो । यो हिसाबमा एनसेलमा टेलियासोनेराको ६०.४ तथा एसईए टेलिकमको १९.६ प्रतिशत सेयर हुन्थ्यो । पुस ६ को विज्ञप्तिअनुसार मलेसियाको एक्जियटाले सोझै एनसेल किन्ने नभई बेलायतको एक्जियटा इन्भेस्टमेन्ट यूके लिमिटेडमार्फत टेलियासोनेरा एसिया होल्डिङ्ससँग एनसेलको ८० प्रतिशत स्वामित्व होल्ड गर्ने टेलियासोनेरा नेपाल नर्वेको सेयर खरिद गर्ने थियो । यसरी कारोबार गर्दा रेनल्ड होल्डिङ्सको स्वामित्व एक्जियटा यूकेमा सरेको छ । प्यारेन्ट कम्पनी किनेपछि एनसेल उसैको हुन्छ । तर यस्तो कारोबार नेपालमा भएन ।

कसरी ब्रम्हलुट मच्चाएको छ एनसेलले ?

नेपाल टेलिकम र एनसेलका ट्यारिफ रेटलाई अध्ययन गर्ने हो भने मोबाइल सेवा वा डाटा सेवा दुवैमा लगभग ३ गुना फरक परेको देखिन्छ । नेपाल टेलिकम टु नेपाल टेलिकम र अन्यमा प्रतिकल केवल रु. १ मात्र पर्छ । देशभित्र कुनै पनि स्थानमा यसमा रोमिङ छैन । तर एनसेलबाट एनसेनको प्रतिकल रु. १ं९९ छ । अझ एनसेलबाट अन्यमा एकदमै फरक छ । एनसेल टु एनटीसीमा रु. २.५३ लाग्छ । यूटीएलमा रु.२.८३ लाग्छ । साथै एनसेलमा प्रत्येक जिल्ला र अञ्चलमा रोमिङ लगाइएको छ । एनटीसीबाट एनसेल वा एनसेलबाट एनटीसीमा क्रमशः १ करोड ३४ लाख ६२ हजार ९०७ र १ करोड ३४ लाख ३४ हजार ३१ जना ग्राहकहरूले कम्तीमा दिनमा ५ पटक मात्र फोन गरे भने पनि एनटीसीको ट्यारिफ रेटको तुलनामा एनसेलले २ करोड बढी कमाउँछ । यसलाई ब्रह्मलुट नभनेर के भन्ने ?

त्यस्तै एनसेलले प्याकेजका नाममा झनै ब्रह्मलुट गरेको छ । उसले एकदिने, सातदिने र एकमहिने (तीसदिने) प्याकेज ल्याएको छ । एकदिने प्याकेजलाई २४ घन्टाभित्र सक्नुपर्छ । अन्यथा कोल्याप्स हुन्छ । यी प्याकेजहरूलाई वैकल्पिक प्रयोगलाई पूर्ण रूपमा बन्देज गरिएको छ । फेसबुक भए भ्वाइस कल हुँदैन । एसएमएस भए अर्को हुँदैन । यसकारण ग्राहकको प्याकेज खरिदको पूर्ण रकम खर्च हुँदैन । त्यसले गर्दा ग्राहकको ठूलो रकम एनसेलले लुट्ने गरेको छ । डाटा चलाउँदा र प्याकेज कोल्याप्सबाट एक दिनमा १० करोडबराबरमा लुट गरेको छ । यसरी एक दिनमा २० करोडबराबरको लुटलाई यहाँका राज्य सञ्चालकले लुकाइदिएका छन् ।

यिनै कारणले गर्दा एनसेलले महँगो मात्र नभएर ब्रह्मलुट पनि मच्चाएको छ । यसरी ब्रह्मलुट गरेको अकुत पुँजी विदेशी कम्पनीले नेपालबाट लिएर विदेश पुग्छ । नेपाल सरकार, सरकारअन्तर्गतको दूरसञ्चार प्राधिकरणले एनसेललाई नीतिगत भ्रष्टाचारमा प्रोत्साहन गरेकाले उसले गर्न पाएको ब्रह्मलुट, विगतका अर्थमन्त्री रामशरण महत र सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालका कारण विदेश पलायन हुन पुगेको नेपाली खर्बौँ रुपैयाँलाई जोगाउने जिम्मा नेपाली जनतामा आएको छ । यसलाई कसैले नियन्त्रण वा रोक्ने प्रयत्न गरिराखेका छैनन् । त्यसैले एनसेलजस्ता ब्रह्मलुट गर्ने र नेपाली पुँजी विदेश पलायन गर्ने संस्थाका बारेमा सर्वत्र विरोध हुनु सिम बहिष्कार गर्नु अस्वभाविक होइन ।

२०७५ चैत २३ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :