नेकपाका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनसहित ९ जना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) गिरफ्तार हुनुभएको छ ।  जनताको घरमा बसिरहेका नेता सुदर्शनलाई शुक्रबार राती घर घेरा हाली गिरफ्तार गरेको हो । काभ्रेकाे खानीखाेला गापा ३ स्थित डाँडा गाउँबाट जनतासँग बसेर छलफल गरिरहेका बेला प्रहरीको विशेष ब्युरो र काभ्रे प्रहरीको संयुक्त टोलीले घेरा हाली सुदर्शनसहित ९ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालको नेतृत्वको टोलीले पक्राउ गरेर काठमाडौँमा ल्याउँदैछ । नेता सुदर्शनसँगै विजय श्रेष्ठ, शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, ललित लामा, सन्जीव कार्की, बेद घिमिरे र लोकेन्द्र खड्का पनि पक्राउ परेका छन् ।

पक्राउ परेका नेताहरुलाई भेट्न मानवअधिकारीवादीको टोली टेकुस्थित महानगरीय प्रहरी बृतमा पुगिसकेको छ । ९ जना नेताहरुलाई प्रहरीले झुट्टा मुद्दामा फसाउने तयारी गरिहेको श्रोतले बतायो । नेताहरुलाई पक्राउ गर्न प्रहरीले सिंगो गाउँलाई नै घेरा हालेर सर्च अपरेशन नै चलाएको थियो ।

सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाएपछि चौतर्फी त्यसको विरोध भएपनि सरकार भने बल प्रयोग गरेरै भएपनि दमन गर्ने नीतिमा छ ।

राजनीतिक स्वतन्त्रतामाथि नै हस्तक्षेप गरी प्रतिबन्ध नलाउन र वार्तामार्फत राजनीतिक हल गर्न पनि सबै स्तरबाट माग भएपनि सरकार भने नाङ्गो रुपमा दमनमै उत्रिएको छ । अहिलेसम्म पक्राउ परेकामध्ये सुदर्शन पार्टीका उच्च स्तरका नेता हुनुहुन्छ ।

२०७५ चैत ९ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :