जीवन्तलाई बिना आधार देशद्रोहको मुद्दा, ५ दिनको म्याद थप

 काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य मोहन कार्की “जीवन्त“लाई जिल्ला प्रहरी कार्यालय काठमाडौँले आधार बिनाको राजद्रोहको मुद्धा लगाएको छ । शुक्रबार राती ललितपुरस्थित कोठाबाट पक्राउ गरि विशेष ब्युरो नक्सालमा यातना दिएर राखेको थियो । आइतबार अदालतमा उपस्थित गराई पुर्जी थमाइएको छ । प्रहरीले ४८ घण्टासम्म बिना पुर्जी, झुट्टा मुद्दामा फसाउन देशद्रोहको आरोप लगाएको छ । नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध गरेपछि पक्राउ परेका नेतालाई राजद्रोहको मुद्धा लगाएको यो पहिलो पटक हो ।

सरकारले प्रतिबन्ध घोषणा गरे लगत्तै पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका पोलिट ब्युरो सदस्य जीवन्तलाई आइतबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरमा राखेर सो मुद्धा दायर गर्न अदालत ल्याएको हो । जिल्ला अदालत काठमाडौँले जीवन्तलाई पाँच दिनको म्याद थपेको छ । आइतबार म्याद थपेपनि ३ दिन पूरा भइसकेकाले चैत ५ गते मंगलबार अदालतमा हाजिर गर्न जिल्ला न्यायधीश रमेशराज पोखरेलले आदेश दिएका छन् ।

न्यायधीस रमेशराज पोख्रेलको १ नं. इजालासमा निवेदक जीवन्तको तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरुले गैर कानुनी पक्राउ, बिना आधार र प्रमाणबिना देशद्रोहको मुद्दा लगाउनु नेपालको संविधान, कानुन र शान्तिप्रक्रिया विरोधी भएकाले अदालतबाट रिहाको आदेश हुनुपर्ने जिकिर गरेका थिए ।

त्यसैगरी अखिल किसान महासंघ (क्रान्तिकारी)का संयोजक राजु कार्की, अर्का युवा नेता केदार अतिवडालाई थप ४ दिन म्याद थप गरेको छ भने युवा संगठनका जयराम दंगोललाई तीन दिन म्याद थप गरेको छ । चारै जनालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

२०७५ चैत ३ गते  आइतबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :