रुपन्देहीमा नेकपाका एक कार्यकर्ता बेपत्ता


बुटवल : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आफ्नो पार्टीका जिल्ला सदस्य युवराज न्यौपानेलाई प्रहरीले पक्राउ गरी बेपत्ता पारेको दावी गरेको छ । गत फागुन १४ गते राती साढे ८ बजे बुटवलको देविनगरबाट सेतो भ्यानमा आएका आफुहरुलाई राष्ट्रिय अनुसन्धान केन्द्रिय ब्युरोबाट आएको बताउने १२ जना सिभिल प्रहरीले न्यौपानेलाई मोटरसाइकल सहित गिरफ्तार गरेको तर वडा प्रहरी कार्यालय, ईलाका प्रहरी तथा जिल्लामा बुझ्दा समेत कसैले पनि आफुहरुले नल्याएको बताएपछि उनलाई बेपत्ता पारिएको नेकपाले दावी गरेको हो ।

नेकपा रुपन्देहीका इन्चार्ज शरद ओलीले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका जिल्ला सदस्य युवराज न्यौपानेको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन, –‘आफैंले बनाएको संविधानले लागु गरेको सुचनाको हकसमेत प्रदत्त नगरी नजरबन्द गर्ने र बेपत्ता पार्ने गैरकानुनी काम गरेकोले तत्काल हाम्रो कमरेडको अवस्था सार्वजनिक गर्न माग गर्दै ओली–प्रचण्ड सरकारको गृहप्रशासनले विनाकारण गिरफ्तार गर्ने, धरपकड, खानतलासी तथा मानसिक यातना दिने जस्तो अमानवीय र गैरराजनीतिक क्रियाकलाप गरिएको प्रति घोर निन्दा र भत्र्सना गर्दछौं ।’

विज्ञप्तीमा मानवअधिकारवादी, पत्रकार, नागरिक समाज तथा सम्बन्धित निकायहरुलाई अवस्था सार्वजनिक तथा तत्काल रिहाईको लागि पहल गर्न समेत आग्रह गरिएको छ । पछिल्लो समय एनसेललाई कारबाही गरेपछि नेकपाका नेताहरुलाई गृहमन्त्रालयको निर्देशनमा समात्ने गरिएको छ । समातेर सार्बजनिक नगर्ने नागरिक स्वतन्त्रताको हक समेत प्रहरीले ख्याल नगरेको र नजरबन्दमा राख्न नपाउने मानवअधिकारबादीहरु बताउछ्न् ।

२०७५ फागुन १८ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!