सहिद दिवसको सन्दर्भमा

सहिद सप्ताह जनयुद्ध, माओवादी र जनसत्ताको घोषणा हो । जसले महान् जनयुद्ध र एकीकृत जनक्रान्तिमा नयाँ जनवाद—वैज्ञानिक समाजवाद—साम्यवादको महान् आदर्श र लक्ष्यका लागि बलिदान गरे, उनीहरूको गाथासँग यसको सम्बन्ध जोडिएको छ । पुँजीवादी सत्ताको अन्त्य हुँदै जानेक्रममा महान् सहिद तथा बेपत्ता योद्धाहरूको इतिहास अझै चम्किलो बन्दै जानेछ ।

नयाँ, सत्य, सभ्यताको खोज यसै पनि चुनौतीपूर्ण हुन्छ । त्यसमा पनि मान्छेलाई बदल्ने, परिवारलाई बदल्ने, समाजलाई रूपान्तरण गर्ने कार्य असल हुँदाहुँदै पनि निकै चुनौतीपूर्ण हुन्छ । असल कामको सफलता र चुनौतीहरूलाई सामना गर्नका लागि मिहिनेत र बलिदानको आवश्यकता हुन्छ । सहादत र सहिद तथा बेपत्ता योद्धाहरू त्यसैका अभिव्यक्ति हुन् । मानवजातिले नयाँ सभ्यताको निर्माण जति गर्दै जानेछ, त्यति नै महान् सहिद तथा बेपत्ता योद्धाहरूको इतिहास पनि चम्किँदै जानेछ ।

नयाँ जनवाद—वैज्ञानिक समाजवाद—साम्यवाद आजसम्मको सबैभन्दा उत्कृष्ट व्यवस्था हुन् । सामान्यतः यस्तो असल व्यवस्थामा जान कसैले पनि विरोध र अवरोध नगर्नुपर्ने, सबै सहर्ष सहमत हुनुपर्ने हो भन्ने लाग्छ । तर पुँजीवादी व्यवस्थाका शासकहरू यसमा सहमत हुँदैनन् । उनीहरूले यसलाई रोक्न बल प्रयोग गर्दछन् किनकि पुँजीपतिवर्ग भनेको अरूको रगत–पसिनामा बाँच्न रमाउने, अरूको जीवन चुसेर ऐसआराम गर्ने वर्ग हो । पुँजीवादको विचारमा म मुख्य हो, हामी होइन, मेरो र मलाई प्रमुख हो, हामीलाई मुख्य होइन । तर, जति नै कोसिस गरे पनि प्राकृतिक नियम र कम्युनिस्टको पहलमा पुँजीवाद धर्तीबाट समाप्त भएर जानेछ र साम्यवादले त्यसको ठाउँ लिनेछ । साम्यवादका लागि बलिदान गर्ने महान् सहिदहरू चम्किँदै जानेछन् ।

नेपालमा यतिबेला महान् सहिदका विरुद्ध केही सहिद परिवारलाई, ‘कम्युनिस्ट’ लाई कम्युनिस्टका विरुद्ध, ‘समाजवाद’ लाई वैज्ञानिक समाजवादका विरुद्ध उभ्याइएको विडम्बनापूर्ण अवस्था छ तर सहिदहरू पुँजीवाद—दलाल पुँजीवादको पक्षमा र वैज्ञानिक समाजवाद—साम्यवादका विरुद्ध कहिल्यै पनि प्रयोग हुन सक्नेछैनन् । सहिदहरू साम्यवादको सफलतासँगै इतिहास निर्माताका रूपमा सम्मानित हुनेछन् ।

आज सहिद तथा बेपत्ता योद्धाहरूका सपनामाथि हमला र घात भएको छ । तर, सहिदका सपनाहरू आकाशमा चम्किने ताराजस्तै हुन्, जसलाई कसैले पनि छोप्न सक्दैन । पुँजीवादी दुनियाँको समाप्तिसँगै सहिदहरूका सपनाहरू मानवजीवनमा परिणत हुनेछन् ।
सहिदहरूका रगतद्वारा सिंचिएको क्रान्तिको मार्गमा केही घुम्ती मोडहरू आए पनि, केही समय अबरुद्ध भए पनि, त्यो यस्तो गति हो, जो न पछि फर्किनेछ, न रोकिनेछ । त्यसले सबै बाधा–व्यवधानहरूलाई पञ्छाउँदै पुँजीवादलाई मिल्काउने गरी अगाडि बढ्नेछ र वैज्ञानिक साम्यवाद स्थापना गरी छाड्नेछ ।

झापा विद्रोह र महान् जनयुद्धका सहिदहरूको रगतमा तीनजना एकीकृत जनक्रान्तिका सहिदहरुको रगत थपिएको छ । हामी सहिद सप्ताहको गौरवपूर्ण क्षणमा महान् सहिदहरूप्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौँ, उनीहरूलाई सम्मान व्यक्त गर्दछौँ । महान् सहिद परिवारलाई सम्मानसहित गहिरो समवेदना प्रकट गर्दछौँ । साथै, महान् सहिदहरूका सुनौला सपना पूरा गर्न विजय नहुँदासम्म कम्युनिस्ट इमानदारितका साथ समर्पित हुने संकल्प गर्दछौँ । महान् सहिद, महान् साम्यवाद र कम्युनिस्टहरूको विजयलाई कसैले पनि रोक्न सक्नेछैन ।

२०७५ फागुन १६ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :