गाउँ र सहरमा एकैचोटि क्रान्ति हुन्छ : असल


जाजरकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य असल क्षत्रीले आफ्नो पार्टीको नेतृत्वमा हुने अबको जनक्रान्ति विगतको जनयुद्धजस्तो नहुने बताएका छन् । नेकपाको सङ्गठन सुदृढिकरण तथा विस्तार अभियान– २ अन्तरगत जाजरकोट छेडागाड नगरपालिका वडा नम्बर १३ गाँडेसालमा बिहबिर भएको कोणसभामा सम्बोधन गर्दै नेता क्षत्रीले गाउँ र सहरबाट एकैसाथ जनक्रान्ति हुने बताए ।

उनले अहिलेको पुरानो सत्तालाई ध्वस्त पार्न एकीकृत जनक्रान्तिको आवश्यकता भएको बताए । उनले भने, गाउँ र सहरबाट एकसाथ क्रान्ति हुन्छ । त्यसमा देशभक्त, वामपन्थी, प्रगतिशील, लोकतान्त्रिक र क्रान्तिकारी शक्ति एक हुनुपर्छ । दलाल पुँजीवादी सत्ता ध्वस्त बनाएर वैज्ञानिक समाजवाद लागू हुन्छ । यो हाम्रो कार्यभार हो ।”

नेता क्षत्रीले सबै राष्ट्रप्रेमी जनसमुदायहरू एकीकृत जनक्रान्तिमा गोलबद्ध हुनुपर्ने बताए । उनले भने, “दलाल संसदीय व्यवस्था, दलाल सत्ता र दलाल पँुजीपतिले नेपाली जनताको समस्या समाधान गर्न सक्दैनन् ।” अहिलेको राज्यव्यवस्थाले जनतालाई न्याय दिन नसक्ने भएकाले विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति अगाडि बढेको नेता क्षत्रीले बताए ।

वर्तमान सरकारले एकपछि अर्को राष्ट्रघात र जनघात गर्दै गएको भन्दै उनले अब अन्तिम र निर्णायक क्रान्ति हुने र त्यसले देशलाई स्वाधीन बनाउनुका साथै जनतालाई अधिकार सम्पन्न बनाउने बताए । अहिले मुलुकमा कम्युनिस्ट नामको सरकार भए पनि जनविरोधी हर्कत नरोकिएका कारण केपी ओली नेतृत्वको सरकार असफल हुँदै गएको उनको भनाइ छ ।

कार्यक्रम सञ्चालन नेकपा जाजरकोटका सदस्य दीप लामाले गरेका थिए । कोणसभामा भेरी ब्युरो सदस्य निलम, सङ्घर्षलगायत उपस्थित थिए ।

२०७५ फागुन १० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :