दैलेखमा नेकपाको भव्य कार्यक्रम, ज्वाला सहिद स्मृति सांस्कृतिक परिवारको धमाका

जनकलाकारमय बन्यो राखम कर्णाली महोत्सव


दैलेख : नेकपाको पश्चिम कमान्डअन्तर्गत दैलेखमा भव्य रूपमा जनयुद्ध दिवस मनाइएको समाचार प्राप्त भएको छ । ढिला गरी प्राप्त समाचारअनुसार दैलेखमा नवगठित ज्वाला सहिद स्मृति सांस्कृतिक परिवारका कलाकारहरूको विशेष सांस्कृतिक कार्यक्रमसहित जनसभा सम्पन्न भएको हो । सभामा पश्चिम कमान्डअन्तर्गत कर्णाली ब्युरो सदस्य भीष्मकुमार शाही र सङ्गमले बोलेका थिए । वक्ताहरूले राज्यका राजनीतिक दलालहरूलाई खबरदारी गरेका थिए । एकीकृत जनक्रान्तिले सबैखाले शोषण, दमन र विभेद अन्त्य गर्ने र दलालहरूलाई ठेगान लगाउने उनीहरूको भनाइ थियो । कार्यक्रममा जिल्ला सचिवालय सदस्य मदन शाहीले पनि बोलेका थिए ।

दैलेखमा ३५ सदस्यीय सांस्कृतिक परिवार गठन भएपछि कर्णालीमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान भव्य बन्दै गएको जानकारी नेकपाका कर्णाली ब्युरो सदस्य भीष्मकुमार शाहीले रातो खबरलाई दिएका छन् ।

दैलेखबाट प्राप्त समाचारअनुसार नेकपाको पाँचदिने राजनीतिक प्रशिक्षण हालै चामुण्डा बिन्द्रासैनी नगरपालिकामा सम्पन्न भएको छ ।

जनकलाकारमय बन्यो राखम कर्णाली महोत्सव

यसैबीच दैलेखको राखम कर्णाली सांस्कृतिक महोत्सव नेकपाको ज्वाला सहिद स्मृति सांस्कृतिक परिवारका कलाकारहरूको जनवादी सांस्कृतिक कार्यक्रमका कारण नेकपामय बनेको समाचार प्राप्त भएको छ । रातो पोसाक लगाएका जनवादी कलाकारहरूले चमचम गर्ने खुकुरी बोलको गीतमा क्रान्तिकारी नृत्य गरेपछि दर्शकहरू झुम्मिएका थिए । महोत्सव सामूहिक कार्यक्रम भए पनि सांस्कृतिक कार्यक्रमका कारण नेकपामय बनेको दैलेखबाट प्राप्त समाचारमा जनाइएको छ ।

२०७५ फागुन ९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :