बेल्जियममा जनयुद्ध दिवस र सहिद सप्ताह सम्पन्न

 

बेल्जियम : नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमले २४ औँ जनयुद्ध दिवस आन्ट्वेर्पेन सहरमा विशेष कार्यक्रम गरी हर्षोल्लासका साथ मनाएको छ । मोर्चाले जनयुद्ध दिवस र सहिद सप्ताहको अवसर पारेर सङ्गठनको विस्तारित बैठक पनि सम्पन्न गरेको छ । सङ्गठनका अध्यक्ष मेख गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यसमितिका सदस्य तथा शुभेच्छुकहरूको उपस्थिति थियो ।

नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलको प्रमुख अतिथ्य, युरोप मोर्चाका उपाध्यक्ष बदन योङहाङ र सल्लाहकार मणि राई अतिथि रहेको कार्यक्रममा उपस्थित सबैलाई मोर्चाका उपाध्यक्ष रकेन्द्र घिमिरेले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सङ्गठनका महासचिव माकुना राईले गरेका थिए ।

२४ औँ जनयुद्ध दिवस र सहिद सप्ताहका अवसरमा सङ्गठनका पदाधिकारी वक्ताहरूले यस दिवसको महत्वका बारेमा प्रकाश पार्दै आआफ्ना धारणाहरू व्यक्त गरेका थिए । मोर्चाकी सदस्य मुना राईले भनिन्, ‘जनयुद्ध कालमा महिलाले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको थियो । अहिले बेल्जियम हामी जेजति छौँ, सबै दिदिबहिनीहरूले क्रान्तिका लागि उठ्ने बेला आएको छ । एकआपसमा हातेमालो गर्दै सङ्गठनलाई उचाइमा पु¥याउन सक्दो कोसिस गर्नुपर्छ र सक्रियता बढाउनुपर्छ ।’

सल्लाहकार मणि राईले जनयुद्धले देशमा आमूल परिवर्तन गर्न खोजेको तर नेतृत्वले धोका दिँदा बीचैमा तुहियो कि भन्ने लागे पनि सबैखाले कठिनाइलाई पार गर्दै क्रान्ति फेरि नयाँ शिरामा अगाडि बढेको बताए । उनले भने, ‘एउटा नयाँ आशाको किरण पुनः जगाउँदै एकीकृत जनक्रान्तिको कार्यदिशामा अगाडि बढिरहेको छ । हामी जहाँ भए पनि नयाँ जनक्रान्तिलाई सक्दो सहयोग जुटाउने कोसिस गर्नुपर्छ ।’

कार्यक्रममा बदन योङहाङले सङ्गठनको स्थापनाकालदेखिको इतिहास, गरिमा र महत्व प्रकाश पार्दै वर्तमान अवस्था र आगामी दिनमा सङ्गठनले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा चर्चा गरे । अर्का वक्ता ईश्वर पाठकले ‘हामीभित्र लुकेको क्रान्ति ः वैज्ञानिक समाजवादी क्रान्ति’ विषयक १६ पृष्ठको विचारोत्तेजक लेख पढेर सुनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बिष्णु भुजेलले नेपालको वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै दलाल संसदीय व्यवस्थाका विरुद्ध एकीकृत जनक्रान्तिले हासिल गर्दै गएको सफलता र उचाइका बारेमा व्याख्या गरेका थिए । उनले भने, ‘बेल्जियमलगायत युरोपमा सङ्गठित भैसकेको हाम्रो सङ्गठनले पनि एकीकत जनक्रान्तिलाई जोड्दै वैज्ञानिक समाजवादबारे बहस गर्नुपर्छ र स्थानीय तहमा नेपालीहरूले भोग्नुपरेका समस्या हल गर्न क्रियाशील रहनुपर्छ ।’

जनयुद्ध दिवस र सहिद सप्ताहका अवसरमा सम्पन्न सङ्गठनको विस्तारित बैठकले वर्तमान कार्यसमितिलाई निरन्तरता दिँदै एक कार्यकाल थप गरेको युरोपबाट प्राप्त समाचरमा जनाइएको छ ।

२०७५ फागुन ६ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :