जनयुद्ध दिवसमा पार्टी प्रवेशको लहर


दाङ : नेपाल कम्युनिस्ट पार्टीले तुलसीपुर तथा नेकपा दङ्गीशरण गाउँपालिकाको आयोजनामा तुलसीपुर २ बालापुरमा फागुन १ गते २४ औँ जनयुद्ध दिवस भव्यताका साथ मनाइएको छ ।

कार्यक्रममा तीनजना नवप्रवेशीलाई नेकपा दाङका जिल्ला कार्यालय सदस्य प्रदीप ओलीले अबिर लगाएर पार्टी प्रवेश गराएका थिए । प्रवेश गर्नेहरूमा माओवादी जिल्ला सदस्य तथा स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका नवराज दाहाल, पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर राजकुमार चौधरी र पूर्ववाईसीएल झगबहादुर बस्नेत रहेका छन् ।

जनयुद्ध दिवसलाई सम्बोधन गर्न दाङ जिल्ला कार्यालय सदस्य प्रदीप ओली प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यसैगरी नेकपा दाङ सचिवालय सदस्य मेघराज, अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय सदस्य नारायणप्रसाद भण्डारी, युवा सङ्गठन दाङका अध्यक्ष मनोज पारियार र सचिव जीवनी चौधरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ राप्ती ब्युरो इन्चार्ज डिल्ली ओली, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ जिल्ला अध्यक्ष अतुल कवर, अखिल नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य सुधीर ओली, नेपाल दलित मुक्ति मोर्चा जिल्ला उपाध्यक्ष रिमबहादुर विक, नेकपा तुलसीपुर नगर सेक्रेटरी रुद्र ओली, अखिल क्रान्तिकारी दाङका जिल्ला सचिव अमर खड्का, कोषाध्यक्ष प्रकाश ओली, मावि बालापुरका विद्यार्थी, स्थानीय र पत्रकारहरूको उपस्थिति थियो । कार्यक्रममा नेकपा दाङ इन्चार्ज सविन पोख्रेल र नेकपा जिल्ला अध्यक्ष विक्रमले शुभकामनासन्देश पठाएका थिए । कार्यक्रमका वक्ताहरूले नेपालमा पटकपटक भएका आन्दोलनमा केही पार्टी र केही व्यक्ति सम्पन्न भए पनि जनताको प्रगति हुन नसकेको बताएका थिए । २००७ सालको आन्दोलनले काङ्ग्रेसलाई मालामाल बनाएको, पञ्चायतविरुद्धको आन्दोलनले एमाले र काङ्ग्रेसलाई मालामाल बनाएको र २०५२ सालको जनयुद्धले प्रचण्ड–बाबुरामको वर्ग बदलेको भन्दै अबको क्रान्ति जनताका पक्षमा हुने बताए । वक्ताहरूले दलाल संसदीय व्यवस्थाका विरुद्ध आफ्नो ज्यानको आहुति दिन तयार भएको र यसै अवसरमा वैज्ञानिक समाजवादका पक्षमा लाग्नका लागि सबैलाई एकीकृत जनक्रान्तिको माध्यमबाट जनयुद्धमा होमिन अपिल गरेका थिए । नेकपा जिल्ला सचिवालय सदस्य ईश्वरी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर नगर इन्चार्ज रुद्र ओलीको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण दङ्गीशरण गाउँपालिकाका इन्चार्ज विकास ओलीले गरेका थिए ।

२०७५ फागुन २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :