जनयुद्ध दिवसमा महासचिव विप्लवको शुभकामना, ‘क्रान्ति अवश्यम्भावी बन्दै गएको छ’

काठमाडाैँ : २०५२ साल फागुन १ गते सुरु भएको जनयुद्धको स्मरण गरी नेपालमा विभिन्न कार्यक्रम गर्दै नेपाल कम्युनिस्टले देशैभरि बुधबार उत्सवका रूपमा मनाउँदैछ । नेपाल कम्युनिस्ट पार्टीले २०७१ मङ्सिर ८ गते पुनर्गठन गरेदेखि जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरेर उत्सवका रूपमा मनाउँदै आएको छ । यही क्रममा उक्त पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते, पार्टीका नेता, कार्यकर्ता र जनतालाई शुभकामना तथा बधाई दिएका छन् ।

विज्ञप्तिमा महासचिव विप्लवले भनेका छन्, ‘महान् जनयुद्धको २४ औँ वार्षिकोत्सवका सुअवसरमा सम्पूर्ण जनता, आदरणीय सहिद परिवार, जनक्रान्तिका बेपत्ता योद्धा परिवार, घाइते योद्धाहरू, पार्टीका नेता र कार्यकर्ताहरूमा गौरवपूर्ण एवम् भावपूर्ण शुभकामना व्यक्त गर्दछौँ ।’

उनले साम्यवादी विचार नै जनयुद्धको विचार थियो भन्ने उल्लेख गर्दै भनेका छन्, ‘महान् साम्यवादी उत्कृष्ठ एवम् अजम्मरी विचार महान् जनयुद्ध र जनयुद्धका सहिद, बेपत्ता र घाइते योद्धा, जनयुद्धमा विभिन्न प्रक्रियामा सहभागी जनताको त्याग त्यही आदर्श र सपनासँग जोडिएको छ । जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्नेछ ।’

उनले विज्ञप्तिमा सबैलाई एकीकृत जनक्रान्तिमा हातेमालो गर्न पनि अपिल गरेका छन् । उनले भनेका छन्, ‘तसर्थ महान् सहिद, बेपत्ता योद्धा परिवार र सम्पूर्ण घाइते योद्धा, जनमुक्ति सेना, जनता, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपतिवर्ग, देशभक्त शक्तिहरू कहिल्यै नटुट्ने हातेमालो गर्दै वैज्ञानिक समाजवाद, साम्यवादतिर अघि बढौँ भन्ने अपिल जनयुद्ध दिवसका अवसरमा गर्दछौँ ।’

वक्तव्यको अन्त्यमा विप्लवले ‘नेपाली क्रान्तिकारीहरूको भविष्य उज्ज्वल छ । क्रान्ति अवश्यम्भाबी बन्दै गएको छ’ भनेका छन् ।

यही सन्दर्भमा विप्लवले लामो समयपछि रातो खबर अनलाइन टेलिभिजनलाई अन्तर्वार्ता दिएर आफ्नो पार्टीका नीति, कार्यक्रम र योजना सार्वजनिक गरेका छन् । उनले जनयुद्ध दिवसका साथै फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह पनि आफ्नो पार्टीले विभिन्न कार्यक्रम गरी मनाउने बताएका छन् । नेकपाले सबै क्षेत्रमा जनयुद्ध दिवस र सहिद सप्ताह मनाउन निर्देशन दिएको बताइएको छ । अहिले नेकपा देशव्यापी रूपमा सङ्गठन सुदृढ तथा विस्तार अभियानमा रहेको छ । उनीहरूले चलाएको अभियानमा देशव्यापी रूपमा जनता सङ्गठित भैरहेका समाचार प्राप्त भएका छन् । काठमाडौंलगायत मुख्य सहर, जिल्ला र गाउँगाउँसम्म बुधबार जनयुद्ध दिवस सभा र जुलुस गरेर मनाइने नेकपाले जनाएको छ ।

प्रेस विज्ञप्तिको पूर्णपाठ-

२०७५ फागुन १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :