मेचीमा नेकपाको अभियान घनीभूत बन्दै, साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध सङ्घर्ष उत्कर्षमा : पुन


इलाम : नेकपाले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान मेचीमा भव्य रूपमा चलिरहेको छ । अभियानको १४ औँ दिन इलामको फाकफोक थुम वार्ड नम्बर ४ आमचोक बजारमा ठूलो जनसभा सम्पन्न भएको छ । जनसभामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।

      सभालाई सम्बोधन गर्दै पार्टीका पोलिटब्युरो सदस्य तथा अभियान टोली प्रमुख ओमप्रकाश पुनले दलाल पुँजीवादका कारण देश इतिहासमै सर्वाधिक सङ्कटमा परेको बताए । सार्वभौमसत्ता सम्पन्न राष्ट्र भेनेजुएलामा अमेरिकी साम्राज्यवादले नाङ्गो हस्तक्षेप गर्दासमेत केही बोल्न नसक्ने नेपालका प्रधानमन्त्री केपी ओली र उनको सरकार साम्राज्यवादी पुँजीवादीहरूको घोषित दलाल भएको भन्दै नेता पुनले अब क्रान्तिकारी कम्युनिस्टहरूले अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवाद र राष्ट्रिय स्तरमा दलाल पुँजीवादका विरुद्ध सशक्त प्रकारको सङ्घर्ष गर्नुपर्ने बेला आएको बताए । नेता पुनले भने, ‘संसदीय व्यवस्थाको असफलता अहिले दलालहरूका बीच आपसी अन्तरविरोधमा अभिव्यक्त हुँदै गएको छ । उनीहरूले यसलाई क्रान्तिकारी शक्तिमाथि दमन गरेर वा गृहयुद्ध निम्त्याएर विषयान्तर गर्न खोजिरहेका छन् । यो हाम्रो पार्टी र नेपाली जनतालाई कदापि स्वीकार्य हुँदैन । बाबुरामको पलायन र प्रचण्डको विचलनले जनता र क्रान्तिकारीमा केही निराशा र अविश्वास खडा गरे पनि अहिले हाम्रो पार्टीका उदीयमान नेता कमरेड विप्लवको नेतृत्वमा अघि बढेको एकीकृत जनक्रान्तिले जनतामा पुनः नयाँ आशा र विश्वास पलाएको छ ।’आफ्नो पार्टी जनयुद्धको उत्तराधिकारी भएकाले आफूहरू अहिले जनतामा फर्किएको नेता बताउँदै पुनले अब देशमा छिट्टै समाजवादी क्रान्ति सम्पन्न हुने दाबी गरे ।

       नेकपाका इलाम जिल्ला सचिव प्रतिरोधको अध्यक्षता, सामना परिवारका आरोह नेपालीको सञ्चालन र इलाम जनपरिषद् प्रमुख छिरिङको स्वागतमा सम्पन्न कार्यक्रममा महाकाली ब्युरो सदस्य अग्नि, सगरमाथा ब्युरो सदस्य तथा अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य विज्ञान र इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठले सम्बोधन गरेका थिए । कार्यक्रममा सिंहदेवी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय बुद्धिजीवी, विद्यार्थी, सुरक्षाकर्मी र जनताको उल्लेखनीय उपस्थिति थियोे ।

२०७५ माघ १४ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :