अखिल (क्रान्तिकारी) ले सरकारलाई दियो चेतावनी, एक साताभित्र माग पूरा नगरे कडा आन्दोलनमा उत्रिन्छौँ : शाही

काठमाडाैँ : नेकपा निकट अखिल (क्रान्तिकारी) ले स्वास्थ्य शिक्षा क्षेत्रमा रहेका विकृति–विसङ्गति अन्त्य गर्न सरकारसँग चारबुँदे माग राखेको छ । अखिल क्रान्तिकारीले त्रिविबाट सम्बन्धन प्राप्त अधिकांश मेडिकल कलेजहरूले तोकेको भन्दा विभिन्न शीर्षकमा बिनारसिद लाखौँ रकम बढी अवैधानिक तवरले विद्यार्थीबाट लिएकाले उक्त रकम तत्काल फिर्ता गरी मापदण्डविपरीत चल्ने मेडिकल कलेजहरूलाई कारबाही गर्न माग गरेको छ ।

यसैगरी नेपाली विद्यार्थीहरूका लागि भनी खोलिएका मेडिकल कलेजहरूले आर्थिक मुनाफालाई मात्र केन्द्रमा राखी मनपरी सङ्ख्यामा विदेशी विद्यार्थी भर्ना गरेकोमा आगामी वर्षदेखि बढीमा दस प्रतिशत मात्र विदेशी विद्यार्थी भर्ना गर्न पनि अखिल (क्रान्तिकारी) ले माग गरेको छ ।

अखिल (क्रान्तिकारी) ले छात्रवृत्तिमा भर्ना भएका विद्यार्थीबाट विभिन्न शीर्षकमा लाखौँ रकम असुल्ने गरेको र सोही कारण गण्डकी मेडिकल कलेज, नेसनल मेडिकल कलेजलगायत कलेजमा विद्यार्थी पढ्न नसक्ने अवस्था आएकोमा त्यस्ता कलेजहरूको सम्बन्धन खारेजी प्रक्रिया सुरु गर्न र विश्वविद्यालयको नियमावलीअनुसार मेडिकल कलेजको शैक्षिक तथा भौतिक गुणस्तर कायम गर्न पनि माग गरेको छ ।

सङ्गठनका महासचिव प्रकाश शाहीले बुधबार पेस गरेको मागपत्रमा यसअघि सङ्गठनसँग गरिएको सम्झौता एक साताभित्र पूरा नगरिए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ ।

२०७५ माघ २ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :