लुम्बिनीमा जनता जगाउँदै क्षितिज परिवार

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत लुम्बिनीमा जनकलाकारहरूले सांस्कृतिक कार्यक्रममार्फत गाउँगाउँमा जनता जगाउँदै हिँडिरहेका छन् । अभियानकै अवधिमा लुम्बिनीमा रहेको क्षितिज सांस्कृतिक परिवारले गुल्मीमा धमाधम सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरेको छ । जिल्लाको तम्घासमा मङ्सिर २१ गते, पीपलधारामा २२ गते, धुर्कोटमा २३ गते नेटा दर्लिङमा २४ गते, पौढी अमराईमा २४ गते खैरेनीमा २६ गते पीपलपाटामा २७ गते, अश्लेवामा २८ गते र ठूलो लुम्पेकमा २९ गते सांस्कृतिक कार्यक्रमसहित जनसभा सम्पन्न भएको छ ।

सबै ठाउँमा सम्पन्न सभालाई नेकपाका जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खेम खड्का र अखिल नेपाल जनसांस्कृतिक महासङ्घका खोमा तरामु मगरले सम्बोधन गरेका थिए ।

जनसभामा कलाकारहरूले चमचम गर्ने खुकरी सान लाउने बेला भो, म नेपालकी छोरी, अन्तिम युद्ध, आऊ साथी मृत्युलाई जित्ने कोसिस गरौैँ, कति राम्रो तराई पहाडलगायत गीतहरूमा क्षितिज परिवारका कलाकारहरू हिमाल, संयोग, आत्म, रेश्मा, ललिता, मुना, प्रकाश, बनीलगायतले नृत्य प्रस्तुत गरेका थिए ।

यसैबच गुल्मीमै पुस ५ गते कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तम्घासमा सम्पन्न कार्यक्रममा जिल्ला इन्चार्ज पूर्णवहादुर सिंह, सेक्रेटरी खेम खड्का, हालै नेकपामा प्रवेश गरेका सामाजिक अभियन्ता नरबहादुर कार्कीलगायतले प्रशिक्षण दिएका थिए । सोही दिन वर्तमान सन्दर्भमा रचनात्मक चिन्तनविषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा इन्चार्ज सिंहका साथै क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल गुल्मीका संयोजक शंकर भुसाल, रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल, रेसुङ्गा क्याम्पसका प्रमुख हरिबहादुर केसी र जनमोर्चा कमल अर्यालले बोलेका थिए । वीरेन्द्र विकको संयोजनमा सम्पन्न कार्यक्रमको अध्यक्षता शङ्कर भुसालले गरेका थिए ।

यसैबीच सर्लाहीका गाउँगाउँमा अभियान चलिरहेको छ । नेकपाका नेता–कार्यकर्ताहरू जनताका गाउँ–बस्तीमा पुगिरहेका छन् । अभियानका क्रममा पुस ६ गते बागमती नगरपालिकामा जनसभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलले जनसमुदायलाई प्रतिबद्ध भै एकीकृत जनक्रान्तिमा अघि बढ्न आह्वान गरे । विप्लवले नेतृत्व गरेको नेकपाले बाहेक अरू कुनै दलाल संसदीय पार्टीले वर्गीय मुक्ति गर्न नसक्ने ठोकुवासमेत गरे ।

२०७५ पुस १६ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :