‘महापतन’ पुस्तकको सङ्क्षिप्त समीक्षा

सामान्यतया विश्व कम्युनिस्ट आन्दोलनमा र विशेषतः नेपाली कम्युनिस्ट आन्दोलनमा नेपाली नयाँ संशोधनवादका विरुद्ध सैद्धान्तिक, राजनीतिक एवम् सङ्गठनात्मक प्रतिवादको आवश्यकता थियो । जनयुद्धको नेतृत्व गरेका प्रमुख नेता प्रचण्ड र उनका सहधर्मी बाबुरामले आधारभूत रूपमा माक्र्सवाद–लेनिनवाद–माओवादका आधारभूत प्रस्तावनाहरू परित्याग गरी संसद््वादी बाटो समातेका कारण नेपाली कम्युनिस्ट आन्दोलनमा र विश्व–कम्युनिस्ट आन्दोलनमाठूलो विभ्रम पैदा भयो । उनीहरूको हर्कतले नेपालको कम्युुनिस्ट आन्दोलनमा फुट र विभाजन मात्र पैदा गरेन, त्यसको असर स्वाभाविक रूपमा विश्व–कम्युनिस्ट आन्दोलनमा पनि नपर्ने कुरा थिएन । विश्वका तमाम क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूभित्र सुषुप्त अवस्थामा रहेको संसद््वादी रुझान उचित प्रकारको वातावरण पाउनेबित्तिकै हैजाको भाइरसजस्तै फैलन पुगे र तीव्र रूपमा क्रान्तिप्रतिविश्वासघात गर्न पुगे ।टर्कीको कम्युनिस्ट पार्टी माओवादीमा नेपालको प्रभाव प¥यो र पार्टीनै विभाजित हुन पुग्यो । टर्कीमा पार्टीको एउटा हिस्साले प्रचण्डको नीति सही भएको मान्दै कुर्दिस राष्ट्रियताकालागि लडिरहेको पीकेके (कुर्दिस वर्कर्स पार्टी) सँग सहकार्य गरी त्यहाँको संसद््मा भाग लियो र त्यहाको संसद्मा केही सिट हासिल पनि ग¥यो । इरानको कम्युनिस्ट पार्टी माओवादीका केही कार्यकर्ताहरू प्रचण्डको नीतिलाई सही मान्छन् । पेरूको दक्षिणपन्थी अवसरवादी कार्यदिशा भएकाहरू प्रचण्डको विचलनबाट उत्साहित भएका थिए । अमेरिकामा संसदीय बाटो समातेका कम्युनिस्ट समूहहरू प्रचण्ड–बाबुरामहरूको बुद्धि फिरेको मान्छन् । भारतमा मोदी र भारतीय काङ्ग्रेस मात्र होइन, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीसमेत विश्वका कम्युनिस्ट पार्टीलाई उपदेशको उर्दी जाहेर गर्छन् । प्रचण्ड–बाबुरामहरूको बाटोले उनीहरूको संसद्वादी बाटोको पुष्टि गर्छ । नेपालका दक्षिणपन्थीहरूको भुइँमा खुट्टा छैन । उनीहरू प्रचण्ड–बाबुरामका हरेक दक्षिणपन्थी कदमबाट प्रसन्न छन्र उनकालागि ‘नोबेल पुरस्कार’ को इन्तजाम गरिरहेका छन् ।

क्रान्तिकारी अन्दोलनको नेतृत्वको पलायन र विघटनले वर्गसङ्घर्षमा भिडेका प्रतिक्रियावादी वर्गलाई कति फाइदा हुन्छ भन्ने तथ्य नेपालको अन्दोलनको विघटनबाट अझ स्पष्ट भएको छ । विश्वभर वैचारिक र राजनीतिक क्षेत्रमा प्रभाव जमाएको, विश्वभरका मुक्तिकामी जनतालाई क्रान्तिको पथप्रदर्शन गर्ने अन्तर्राष्ट्रिय सङ्गठनहरूमा नेपालको प्रभावले क्षतविक्षत हुने स्थिति पैदा ग¥यो । प्रचण्ड–बाबुरामको संसद्वादतर्फको प्रतिगमनले क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन रिममा विखण्डन पैदा भयो । दक्षिणएसियामा प्रभावकारी भूमिका निर्वाह गरेको कोम्पोसा विघटित भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट उभारमा पानी हाल्ने काम भयो । नेपालका नेताहरूको पतनको एउटा परिणाम के पनि देखाप¥यो भने नेपाली जनयुद्धको विस्थापनका कारण शिथिल भएको क्रान्तिकारी अन्तर्रायिट्रयतावादी आन्दोलन ‘रिम’ को अघोषित विघटनसँगै यसको प्रतिस्पर्धा र बहसमा आउने अन्तर्राष्ट्रिय सङ्गठनहरू आईसीएमएल र ब्रसेल्स सेमिनार पनि निष्क्रिय र विघटन भए । समग्रमा माओवादी आन्दोलनमा पैदा भएको प्रचण्ड–बाबुरामको संशोधनवादी पलायनले नेपाली कम्युनिस्ट आन्दोलन र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा क्षतविक्षतको अवस्था पैदा भयो ।

यसकारण प्रचण्ड–बाबुरामको नवसंशोधनवादको प्रतिवाद सबै हिसाबले गर्नु आवश्यक थियो । राष्ट्रिय रूपमा नेपालका माओवादीहरूले प्रचण्ड–बाबुरामको आत्मसमर्पणको विभिन्न कोणबाट विरोध गरे । प्रतिगामी कित्तामा उभिने दलाल पुँजीवादका पिट्ठुहरूले प्रचण्डका खराब चरित्रहरूलाई सिङ्गो माओवादी आन्दोलनको बदनाम गर्ने साधनका रूपमा प्रयोग गरे । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रिमभित्रका माओवादी पार्टीहरू, आईसीएमएलभित्रका माओवादी पार्टीहरू र ब्रसेल्स सेमिनारमा भागलिने गरेका कम्युनिस्ट क्रान्तिकारीहरूले प्रचण्ड–बाबुरामको संसद्वादमा भएको पलायनको वैचारिक र राजनीतिक प्रतिवाद गरे ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा बहसका रूपमा गरिने प्रतिवादको आवश्यकता र औचित्य रहे पनि नेपालभित्र यसप्रकारको प्रतिवाद पुस्तकहरूको प्रकाशन र विगतमा भएका कमीकमजोरीहरूको मूल्याङ्कनबाट मात्र सम्भव हुन सक्दैनथ्यो । आफ्नो देशभित्र यसप्रकारका मूल्याङ्कन, आलोचना र समालोचनाहरू चिली कम्युनिस्ट आन्दोलनको पतन, इन्डोनेसियाको घटना, रुस र चीनमा भएका प्रतिक्रान्तिका सन्दर्भमा पनि नभएका होइनन् । यी घटनाहरूका बारेमा सयौँ पुस्तकहरू नछापिएका होइनन्, करोडौँ टन कागज खर्च नगरिएका पनि होइनन् र लाखौँ पाठकहरूले नपढेका पनि होइनन् । तरत्यसले मात्र ती देशहरूमा माओवादी आन्दोलनको संश्लेषण गर्ने, एकत्रित गर्ने, वैज्ञानिक समाजवाद र साम्यवादको बाटो त्यहाँकाजनतालाई नेतृत्व गर्न सकेन । त्यति मात्र होइन, विगतको इतिहासलाई हेर्ने हो भने संशोधनवादी दलालकारूपमा पतन भएका नेताहरूको आवश्यक विरोध र प्रतिवादले मात्र सिङ्गो कम्युनिस्ट आन्दोलनमा समेत नकारात्मक असर पारेको देखियो । जति संशोधनवादीहरूकोभण्डाफोर र प्रतिवाद गरिन्छ त्यतिनै त्यो आन्दोलनसँगै जोडिएर आउने अवस्था बन्यो । यसको परिणाम पार्टीमा रहेका इमानदार कम्युनिस्टहरूप्रति जनताको साथभन्दा सहानुभूतिमात्र पैदा हुने र कठिन आन्दोलनप्रति परोक्ष रूपमा नकारात्मक दृष्टिकोण बन्दै आएको थियो । आन्दोलनमा जीवन अर्पण गर्ने व्यक्तित्वहरू, क्रान्तिका निम्ति रगत बगाउने महान् योद्धाहरू र क्रान्तिको सफलताकालागि बलिदान दिने सहिदहरूप्रति अपमान गरेको देखापथ्र्यो । यो क्रमबाट नेपाल पनि अछूत रहन सक्दैनथ्यो र त्यसको प्रभाव स्वतः नेपालका अवसरवादी, दक्षिणपन्थी र दलाल पुँजीवादीहरूका प्रवृत्तिमा समेत देखाप¥यो । आफूलाई अब्बल दर्जाको माओवादी भन्ने बुद्धिजीवीहरूले समेत प्रचण्ड–बाबुरामको विरोध गर्ने नाममा माओवादी आन्दोलनप्रति वितृष्णा फैलाउने गरेको पाइयो । क्रान्तिकारी आन्दोलनको उछित्तो काढ्ने, सिद्धान्तको रक्षा वा इतिहासको बिँडो थाम्ने नाममा क्रान्तिकारी आन्दोलनको बदनाम गर्ने र जनतालाई क्रान्तिकारी आन्दोलन, क्रान्तिप्रतिको सकारात्मक बहस र क्रान्तिप्रति नेतृत्व गर्ने तागत निर्माणमा अवरोध पैदा गर्ने रह्यो ।

विगतको निरन्तरतामा क्रमभङ्ग गर्दै एकातिर प्रचण्ड–बाबुरामको पतनको सही प्रकारले भण्डाफोर सम्प्रेषण गर्नु थियो र अर्कोतिर विभिन्न रङ र रूपमा देखापर्ने संशोधनवाद, जडसूत्रीय संशोधनवादको प्रतिवाद गर्नु थियो जसको परिणाम क्रान्तिकारी आन्दोलनप्रति जनतामा सहानुभूति मात्र पैदा हुने अवस्था नरहोस्, बरु सहभागिता बढोस् र क्रान्तिकारी आन्दोलनको विकास होस्, त्यसप्रकारको नयाँ उचाइमा वैचारिक, राजनीतिक, सङ्गठनात्मक र वर्गसङ्घर्षको एकीकृत प्रतिवाद गर्नु आवश्यक थियो । इतिहासले यो तथ्यलाई प्रमाणित गर्नेछ–विगतको निरन्तरतामा क्रमभङ्ग गर्दै कम्युनिस्ट आन्दोलनलाई माथि उठाउने काम नेपाल कम्युनिस्ट पार्टीले गरेको छ । यो तथ्यको उजागर गर्नु कुनै अतिशयोक्ति हुनेछैन ।

नयाँ कार्यदिशा, सङ्घर्षको नयाँ तरिका अपनाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई ठम्याउँदै नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवले प्रचण्डको महापतनसँग असहमत हुने माओवादीहरूको प्रयत्नमा पार्टी पुनर्गठन गर्नुभयो । कम्युनिस्ट आन्दोलनमा मुख्य नेतृत्वको विचलनपछि पार्टी र आन्दोलन नै विघटन हुने विश्व कम्युनिस्ट आन्दोलनमा एउटा क्रमभङ्ग भयो ।पार्टीको पुनर्गठनबाट सङ्गठनात्क क्षेत्रमा प्रचण्डको महापतनको प्रतिवाद भएको थियो । वैचारिक क्षेत्रको प्रतिवाद एकीकृत जनक्रान्तिको निर्माणबाट भयो । परम्परागत कम्युनिस्ट आन्दोलनमा ‘क्रान्तिको पुनरावृत्ति हुँदैन’ भन्ने लेनिन र माओका दार्शनिक मान्यता र भनाइहरूलाई जडसूत्रीय शैलीमा रटान गरिँदै आइएको अन्तर्राष्ट्रिय परिवेश थियो र यही तर्कको आडमा क्रान्तिकारी आन्दोलनको परित्याग गर्ने प्रवृत्ति हाबी भएको थियो । क्रान्तिको पुनरावृत्ति हुँदैन भन्दै अन्ततः क्रान्तिको परित्याग गर्ने अवसरवाद अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा जस्तै नेपालमा पनि जबर्जस्त रूपमा प्रवेश गरेको थियो । यस प्रवृत्तिबाट नेपाली कम्युनिस्ट आन्दोलन पनि विषाक्त नहुने कुरै थिएन । हरेक क्रान्ति र क्रान्तिकारी वर्गसङ्घर्षले समय, परिस्थिति र समाजको विकासअनुसार वर्गसङ्घर्षमा नयाँको माग गरेको हुन्छ । एकीकृत जनक्रान्तिले क्रान्ति र क्रान्तिकारी वर्गसङ्घर्षको पुनरावृत्तिलाई इन्कार गरेन । यसले क्रान्तिकारी वर्गसङ्घर्षका विधिहरूको मात्र पुनरावृत्ति हुन सक्दैन भन्ने मान्यता स्थापित ग¥यो । क्रान्ति र क्रान्तिकारी वर्गसङ्घर्षको पुनरावृत्ति नहुने हो भने कुनै पनि मुलुकमा क्रान्ति हुने नै भएन । क्रान्तिकारी पनि देखिने, क्रान्ति पनि गर्नु नपर्ने अवसरवादकालागि क्रान्तिको पुनरावृत्ति हुँदैन भन्ने वाक्यांश सुरक्षित गुप्तवास भएको थियो । एकीकृत जनक्रान्तिले क्रान्तिको र क्रान्तिकारी वर्गसङ्घर्षको पुनरावृत्तिको होइन, क्रान्तिकारी वर्गसङ्घर्षको विधिको पुनरावृत्ति नहुने तथ्यलाई उजागर ग¥यो । दार्शनिक क्षेत्रमा प्रचण्ड र मोहनविक्रमबीच दुई धारका एउटा नदीजस्तो सम्बन्ध थियो । पुस्तकमा औँल्याइएको छ, ‘जनयुद्धदेखि जनयुद्धकालभरि प्रचण्डले विपरीतको एकत्वको सम्बन्धमा विभिन्नव्याख्या र प्रयोग गर्ने कार्य गरे । उनले पहिले अन्तरसङ्घर्ष र दुई लाइन सङ्घर्ष एउटै नभएको धारणा दिए तर जब बाबुरामसँग सङ्घर्ष बढ्दै गयो वा बढाइयो तब उनले अन्तरसङ्घर्ष र दुई लाइन सङ्घर्ष भनेको एउटै हो भन्नेसम्मको व्याख्या गरे ।’ पृ १३८ ।

माक्र्सवादी दर्शनको द्वन्द्वात्मक भौतिकवादी दर्शनमा विपरीतहरूको एकत्वलाई बुझ्ने मोहनविक्रमको जडसूत्रले विपरीतलाई पार्टीमा टिक्न दिँदैनथ्यो । त्यही नदीको अर्को धार प्रचण्डले दुईको एकमा संयोजनको नीति अपनाउन पुगे । पार्टीको धरोहरका रूपमा देखापरेका यी दुवै प्रवृत्तिहरूलाई सच्याउने काम पार्टीको आठौँ महाधिवेशनले ग¥यो । यसले प्रचण्ड–बाबुरामहरूको राजनीतिक महापतनको प्रतिवाद भयो । यिनै विषयहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्नु र प्रचण्ड–बाबुरामहरूकहाँ र कसरी पतनको बाटोमा चिप्लन पुगे भन्ने विषय महासचिव विप्लवबाट लिखित ‘महापतन’ प्रकाशनबाट पूरा भएको छ र यो पुस्तकको प्रकाशनले मूलभूत रूपमा ऐतिहासिक घटनाक्रमहरूसहित प्रचण्ड–बाबुरामहरूको वैचारिक प्रतिवाद भएको छ ।

महापतन प्रचण्डको पतनको अन्तरकथाका रूपमा प्रकाशित भयो । यो पुस्तकमा २६ शीर्षक रहेका छन् । यी शीर्षकहरूले प्रचण्ड–बाबुरामहरूको पतनको बाटोलाई समग्र रूपमा उजागर गरेको छ । प्रचण्डको महापतन विचारधारात्मक तथा दार्शनिक, राजनीतिक तथा कूटनीतिक, सङ्गठनात्मक तथा व्यवस्थापनका हिसाबले समग्र विषयहरू समेटिने गरी २६ विभिन्नशीर्षकहरूमा उजागर गरिएको छ ।

यो पुस्तक ‘महापतन’ मा प्रचण्डको वैचारिक पतनले राजनीतिक पतन, राजनीतिक पतनले सङ्गठनात्मक पतनर सङ्गठनात्मक पतनले आन्दोलनमा पतन भएको समुच्च शृङ्खला व्यक्त गरिएको छ । माओवादी आन्दोलनको समयमा माक्र्स–एङ्गेल्स–लेनिन–स्टालिन–माओ सबैको सच्चा अनुयायीकारूपमा प्रस्तुत गरेका प्रचण्ड कथित शान्तिप्रक्रियामा प्रवेश गरेपछि सांस्कृतिक पतनको पराकाष्ठामा पुगेका छन् । यस विषयमा कटाक्ष गर्दै महासचिव विप्लवले प्रचण्डले कहिले क्रिस्चियन, कहिले मुस्लिम, कहिले हिन्दु धर्मावलम्बीहरूको धार्मिक पहिरनमा भाषण गरेको (पृ १४) इङ्गित गर्नुभएको छ । कम्युनिस्टहरूले हमेसा धर्मको विरोध गरेका छन् । यसका बारेमा व्यापक व्याख्या सबै कम्युनिस्टहरूले गरेका छन् । तरसंसदीय व्यवस्थाका मालिकहरूलाई रिझाउनकालागि धार्मिक पहिरनमा सजिनु यो अवसरवाद हो । यो जनताप्रति, सिद्धान्त र राजनीतिप्रतिको धोखाधडी हो ।

राज्यसत्ताकाविषयमा लेनिनले भन्नुभएको थियो, ‘राज्यसत्ताबाहेक सबै कुरा भ्रम हो ।’ यसलाई माओ र माओपछिका सबै कम्युनिस्टहरूले मूलमन्त्र बनाउँदै आए । प्रचण्डले पनि स्वाभाविकरूपमा राज्यसत्ताबाहेक सबै कुरा भ्रम हुन् भन्ने कम्युनिस्ट मन्त्र युद्धकालभरि कहिल्यै छाडेनन् । राज्यसत्ताबाहेक केही होइन भन्ने प्रश्नमा पछिल्ला दिनहरूमा कथित सिर्जनात्मक माक्र्सवादीहरू, व्यवहारवादीहरू, अकर्मण्यतामा फसेकाहरू, नवसंशोधनवादीहरू, अवसरवादीहरू, अर्थवादीहरूमा एउटा छलछाम देखापरेको थियो । उनीहरूले यो मन्त्रलाई सामन्तवादी, सुधारवादी तथा संसद्वादी सत्तामा प्रवेश गर्ने चोर बाटो बनाएका थिए । राज्यसत्ताबाहेक सबै चीज भ्रमहो भन्दै सर्वहारा राज्यसत्ताका लागि गरिने सङ्घर्षलाई भ्रम र दलाल पुँजीवादी सत्तामा समाहित हुने आत्मसमर्पणको प्रक्रियालाई माक्र्सवाद र त्यसमा पनि सिर्जनात्मक माक्र्सवाद भन्दै संसद्वादमा प्रवेश गरेका थिए । यही कुरा प्रचण्डमा पनि लागू भयो । पुस्तकको पृष्ठ २३ मा प्रचण्डको ‘राज्यसत्ताबाहेक सबै कुरा भ्रम हो’ भन्ने मन्त्रको गुह्य कुरा उजागर गरिएको छ ।

पुरानो राज्यसत्तामा प्रबेश गर्ने चोरबाटो चुनबाङ बैठकको निर्णय र लोकतान्त्रिक गणतन्त्रलाई बनाइयो । पुस्तकमा चुनबाङ बैठकको सन्दर्भ (पृृ १९८) लाई र लोकतान्त्रिक गणतन्त्रको कार्यदिशाका बारेमा (पृ १९१) विस्तृत रूपमा औँल्याइएको छ । चुनबाङ बैठकको निर्णयमा मूलतः केन्द्रीय समिति विश्वस्त भएको तथ्य दुई कुरामा थियो : पहिलो कुरा, कार्यनीतिक हिसाबले संविधानसभाको कार्यनीति बुर्जुवा माग भएपनि समाजको विकासकाक्रममा यसको आवश्यकतालाई मनन गरिएको थियो । दोस्रो, यो बुर्जुवा कार्यनीति हुने र यसले बुर्जवा जनवादतिर जबर्जस्त रूपमा आकर्षित गर्ने भएपनि प्रचण्डको नेतृत्वबाट देश र जनतामाथि विश्वासघात हुनेछ भन्ने कुरामा कसैलाई शङ्का थिएन । यसरी हेर्दा महापतनमा भनिएको छ, ‘यो कार्यदिशाका दुईधार थिए : एउटा वैरीतिर फर्किएको थियो र अर्को आफैँतिर ।’ (पृ १९१ ।) संविधानसभाको बुर्जुवा कार्यनीति क्रान्तिकारी आन्दोलनमा आवश्यक हुँदाहुँदै पनि नेतृतवको वैचारिक राजनीतिक समस्याकाकारण त्यो क्रान्तिकारी आन्दोलनकानिम्ति आफैँतिर फर्कने बुम¥याङजस्तो भयो ।

प्रचण्ड–बाबुरामहरूले पुरानो सत्तामा प्रवेश गर्ने चोर बाटो ‘एक्काईसौँ शताब्दीको जनवाद’ (पृ १८३) र ‘जनवादी अधिनायकत्व र प्रतिस्पर्धा’ (पृ१८५) लाई बनाए । एक्काईसौँ शताब्दीको जनवादको व्याख्या केन्द्रीय समितिमा भिन्न तरिकाले भएको थियो । रुस र चीनमा भएका प्रतिक्रान्तिहरूलाई रोक्नकालागि राजनीतिक विधिआवश्यक छ भन्ने पार्टीभित्र बहस भएकै विषय थियो । त्यसमा एक्काईसौँ शताब्दीको जनवाद भन्ने शब्दको रचना गरियो । त्यसको व्याख्या बाबुराम र प्रचण्डमा फरक थिए । बाबुरामको व्याख्या थियो, जनगणतन्त्रमा पुग्नका लागि गणतन्त्रपछि हुने निर्वाचनमा कम्युनिस्टहरूले भाग लिनुपर्छ र चुनावमा विजय हासिल गरी जनगणतन्त्रमा पु¥याउनुपर्छ । पार्टीभित्रका माओवादीहरूको तर्क थियो, एक्काईसाँै शताब्दीको जनवाद भनेको कम्युनिस्टहरूको समाजवादी प्रतिस्प्रधा हो । समाजवादी राज्यसत्ताभित्र विभिन्न कम्युनिस्ट पार्टीहरूले प्रतिस्पर्धा गरी समाजवादलाई साम्यवादको दिशामा लैजान वैचारिक, राजनीतिक र दार्शनिक रूपमा सक्षम नेतृत्वको छनोट गर्ने, त्यसप्रकारको नेतृत्व जनताबाट अनुमोदन गर्ने प्रक्रिया एक्काईसौँ शताब्दीको जनवाद हो । यसरी चुनावी प्रतिस्पर्धा कोसँग गर्ने भन्ने प्रश्न खडाहुन्थ्यो । यी तर्कहरूमा प्रचण्डको भूमिका प्रायः मध्यपन्थी नै देखापथ्र्यो । बाबुरामसँग उनकै तर्कमा सहमत हुने र माओवादीसँग माओवादीको तर्कमा सहमत हुने नीति प्रचण्डको थियो । बाबुरामको तर्क थियो, एउटा देशमा एउटामात्र कम्युनिस्ट पार्टी हुने कुरा माक्र्सले नै भनिसकेका कारण कम्युनिस्टहरूले बुर्जुवा पार्टीहरूसँग प्रतिस्पर्धा गरी चुनावमा हराउनुपर्छ र राम्रो काम गरी चुनावमा जितिरहने वातावरण बनाउनुपर्छ । त्यसका विपरीत माओवादीहरूको तर्क थियो– पुँजीवादी सत्तालाई बलपूर्वक ध्वंस गर्नुको तात्पर्य पुँजीवादी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मूल्य र मान्यताहरूमाथि सर्वहारा वर्गको अधिनायकत्व लागू गर्नु हुन्थ्यो । यसप्रकारको अधिनायकत्व लागू गर्ने सक्षम नेतृत्व कम्युनिस्टहरूबाट चुनिनुपर्ने हुन्थ्यो जुन पार्टीबाट मात्र होइन, जनताको बीचबाट निर्वाचित भएर जनअनुमोदित हुनुपथ्र्यो । त्यसो गर्दा सर्वहारा वर्गको अधिनायकत्वको रक्षाका लागि बुर्जुवा वर्गको अधिनायकत्वको राजनीतिक, वैचारिक, दार्शनिक रूपमा दमन गर्न सक्ने र समाजवादलाई साम्यवादको बाटोमा हिँडाउन सक्ने नेतृत्व विभिन्न कम्युनिस्ट पार्टीहरूको बीचबाट मात्र छान्नुपर्ने हुन्थ्यो । तर अन्ततः व्यावहारिक रूपमा प्रचण्डले बाबुरामको बाटो समात्न पुगे र अहिले उनको पार्टी संशोधनवादीहरूसँग वा पुँजीवादीहरूसँग प्रतिस्पर्धा गर्ने होइन, उनै प्रतिक्रियावादी पार्टीमा विलय गर्ने अवस्थामा पु¥याए र पार्टीको पूर्ण विघटन पनि भयो ।

 

उनीहरू संसद्वादमा प्रवेश गरेपछि अहिले त्यही धन्दामा लाग्न विवश भएका छन् जो माओवादी आन्दोलनको समयमा सटिक तरिकाले विश्लेषण गर्थे र संसद्वादविरुद्ध कटाक्ष गर्थे । बाबुरामले भनेका थिए, बहुदलीय प्रतिस्पर्धा वास्तवमा ‘गन, गुन र गोल्ड (अथवा बन्दुक, लठैत र धन) को व्यवस्था हो ।’ (पृ १२९ ।) अहिले उनीहरू त्यही गुन, गन र गोल्डको प्रतिस्पर्धालाई जोरसोरले प्रचार गरिरहेका छन् । त्यसैको संस्थागत विकास गर्ने र नेपाली जनताले गरेकोे क्रान्ति भन्दै त्यसको विकल्प नभएको, देशमा राजनीतिक क्रान्ति पूरा भएकोे, लोकतान्त्रिक गणतन्त्र जनताको व्यवस्था भएकोे, शान्तिपूर्ण तरिकाले आर्थिक क्रान्ति गर्नुपर्ने, अब राजनीतिक क्रान्ति गर्नुपर्ने दुस्मन कोही नभएको, संसद्वादबाटै समाजवाद ल्याइने (पृष्ठ १२२) प्रचार गरिरहेका छन् । प्रचण्डले त भन्ने गरेका छन्, ‘क्रान्ति गर्ने भन्नुको अर्थ शान्ति भाँड्नु र अड्चन पैदा गर्नु हो । त्यसलाई परास्त गरिन्छ, छाडिनेछैन ।’ (पृ ४१) । यहाँ प्रचण्डले क्रान्तिकारीविरुद्ध अझ जोड दिँदै भन्ने गरेका छन्, ‘क्रान्तिको कुरा गर्ने र शान्ति भाँड्नेलाई निर्ममता कासाथ दमन गर्नुपर्छ ।’ कम्युनिस्ट आन्दोलनबाट बिग्रेका र साम्राज्यवादको दलाल बनेका सबै प्रतिक्रियावादीहरू भारतमा ज्योति बसु, जर्मनीमा सिदेमानलगायत तत्वहरूले क्रान्तिकारीविरुद्ध निर्ममताका साथ दमन गरेको इतिहास छ ।

महापतनमा पार्टीहरू र त्यसका नेताहरूप्रतिको मूल्याङ्कनका विषयमा प्रचण्डका हिजोका भनाइ र संसद्वादमा पतन भएपछिका गराइहरूका बारेमा जीवन्त उजागर भएको छ । महापतनमा भनिएको छ, ‘आज एमालेलाई प्रतिक्रियावादी, मसाललाई प्रतिक्रियावादी उन्मुख र घोर दक्षिणपन्थी भन्ने प्रचण्ड–बाबुरामहरू धेरैले कल्पना गरेको भन्दा कैयौँ गुणा टाढा पुग्दै दलाल पुँजीवादी संसदीय व्यवस्थाको समर्थक, व्याख्याता, रक्षक र मालिक बन्न पुगेका छन् ।’ (पृ १३६) । प्रचण्ड र उनले नेतृत्व गरेको पार्टी संशोधनवादमा भासिएको तथ्य उनको माओवादी हुँदाखेरि गरेको मूल्याङ्कनबाट पनि प्रस्ट छ । उनले भनेका थिए, ‘संशोधनवादविरुद्धको सङ्घर्षलाई कुनै पनि बहानामा अलिकति पनि कमजोर पार्ने प्रयत्न आफैँमा स्वयम् संशोधनवाद नै हो । …शंशोधनवादसँग केवल शास्त्रीय बहसद्वारा मात्र लड्न खोज्नु मूर्खता हुने कुरा लेनिनले बडो मार्मिक ढङ्गले बताउनुभएको छ । वैचारिक बहसका साथै मुख्यतः वर्गसङ्घर्षको विकासले नेपाली संशोधनवाद परास्त गर्न सकिन्छ ।’ (पृ १२३) ।

नेपालमा देखापरेको पार्टी विघटन गर्ने प्रक्रिया अन्य देशहरूको भन्दा फरक रह्यो । वैचारिक एवम् राजनीतिक रूपमा पार्टी विघटन गर्ने निष्कर्षमा प्रचण्ड–बाबुरामहरू पुगेपछि पहिलो समस्या सांस्कृतिक क्षेत्रमा देखापर्दै गयो । प्रचण्डले पार्टीभित्र क्रान्तिको आवश्यकताको कुरा गरिरहने र क्रान्तिको अपेक्षा गरेका कार्यकर्ताहरूलाई शब्दजालमा जेलिरहने तर व्यवहारमा भ्रष्ट, तस्कर, व्यभिचारी र पैसाका लागि नागरिकमाथि हमला र हत्यासम्म गर्ने बनाइयो जसको कारण क्रान्तिका लागि जीवन बलिदान दिन तयार बनेको जनमुक्ति सेना प्रचण्डको वैचारिक पतनपछि यसरी सङ्गठनात्मक पतन हुन पुग्यो कि पार्टी र सेनाका कमान्डरहरूले ‘मुखले क्रान्तिका कुरा गरे पनि त्यो केवल प्रचण्डसँग फाइदा लिनका लागि मात्र बोल्ने खालको देखियो । जब उपल्लो दर्जाका कमान्डरहरू आर्थिक र सांस्कृतिक रूपले अकल्पनीय रूपले भ्रष्ट र अनैतिक हुन थाले । उनीहरूले त जनमुक्ति सेनाभित्र करोडौँको भ्रष्टाचार गर्न र निजी फाइदा सोहोर्न पुगे र जनमुक्ति सेनालाई प्रचण्ड–बाबुरामसँग मिलेर कमिसन खाने साधन बनाए ।’ (पृ ८७) । पैसाका निम्ति उनीहरूले ठूलाठूला राष्ट्रघातहरू गरे र ‘प्रचण्ड–बाबुराम दुवै मिलेर माथिल्लो कर्णाली, अरुण तीन, कोसी उच्च बाँध भारतलाई सुम्पन पुगे ।’ (पृ ९५) । जनयुद्धको विकास गर्न जनतामा एउटा आदर्श समाजको कल्पना मात्र गरिएन, त्यसलाई पूरा गर्ने वस्तुगत आधार पार्टी र पार्टीको नेतृत्वबाटै सुरुआत गरिएको थियो जसको परिणाम ‘सम्पत्तिबाट पार्टीकरण र परिवारलाई राजनीतीकरण गर्नुपर्ने भन्ने नीति बनाएको थियो (पृ ९९) । संसद्वादको दलदलमा फसेपछि अहिले ‘मुठीभर नेताहरू अर्बपति र करोडपति भएका छन् ।’ (पृ १०४) तर जनताको आधारभूत अवस्थामा कुनै सकारात्मक परिवर्तन भएको छैन र हुने कुरा पनि छैन ।

प्रचण्ड–बाबुरामहरूले क्रान्तिका विरुद्ध गरेका हर्कतहरूलाई महापतनमा सटिक तरिकाले जनजिब्रोको भाषामा चित्रित गरिएको छ । वास्तवमा उनीहरूले नेपाली क्रान्तिको बाटोलाई ठीक त्यस्तै गरे जस्तो ‘राउटेले आफू हिँड्दा बुकुरा जलाएर हिँडेजस्तो हिँडे । यो जनयुद्धमाथिको घृणास्पद प्रतिक्रान्ति थियो ।’ (पृ १९५) । त्यस्तै उनीहरूको हर्कतबारे चित्रण गरिएको छ, ‘प्रचण्ड–बाबुरामलाई हेर्दा जीवविज्ञानमा केही यस्ता प्राणी छन् जसले आफ्नो आमाको रगतमासु खाएर आफूलाई हुर्काउँछन् ।’ (पृ १२४) । गङ्गटो, माकुरो, घोइलेजस्तै आफ्नी आमा, आफ्नो सन्तानको कुलको नास गर्ने राजनीतिक कुलङ्गारको व्यवहार प्रतित हुन्छ ।

माओले भन्नुभएको थियो, ‘कम्युनिस्टले कुनै एक समयमा क्रान्तिकारी भएर पुग्दैन, आजीवन क्रान्तिकारी बन्नु वास्तविक क्रान्तिकारिताको परिचायक हो ।’ प्रचण्डले पनि नेपाली जनयुद्धको क्रान्तिकारी आन्दोलनमा क्रान्तिकारी भएको देखाएर पुग्दैनथ्यो, जीवनभर त्यसलाई प्रमाणित गर्नुपथ्र्यो भन्ने तथ्य महापतनमा उजागर गरिएको छ (पृ १६८) । हुनत नेपाली कम्युनिस्ट आन्दोलनका तमाम मानिसहरू प्रचण्डको जनयुद्धको तयारी, सुरुआत र विकासलाई समेत सन्देहको आँखाले हेर्छन् । नेपालका नेपाली भारतीय जासुसहरू नेपाली कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने गरी तमाम पुस्तकहरू प्रकाशित पनि भएका छन् । तर यसको उद्देश्य प्रचण्डका खराबीहरूबाट पाठ सिकेर जनताको मुक्तिको बाटो समात्नेभन्दा प्रचण्डका विकृतिहरूलाई केन्द्रमा राखेर माओवादी आन्दोलनको निषेध गर्नु रहेको छ ।

प्रचण्ड–बाबुरामहरूले अन्तर्राष्ट्रियतावाद सम्बन्धमा गरेका गद्दारीका विषयहरूलाई महापतनको पृ. १०६ देखि ११० सम्म व्याख्या गरिएको छ । अन्तर्राष्ट्रियतावादसम्बन्धी प्रचण्ड–बाबुरामहरूमा कैयौँ सैद्धान्तक समस्याहरू देखापर्थे । पहिलो कुरा प्रचण्ड क्रान्तिपछि नेपाललाई स्विट्जरल्यान्ड बनाउने कुरा गर्थे । सामान्य कार्यकर्ताहरूले प्रतीकात्मक रूपमा नेपाललाई स्विट्जरल्यान्डजस्तो पहाडी देशमा शान्ति, समृद्धि र प्रगति बनाउने भन्ने तर्क राख्नु मध्यमवर्गीय जनतालाई सामान्य रूपमा प्रशिक्षत गर्ने कुरा हुनसक्थ्यो र त्यो सैद्धान्तिक र वैचारिक रूपले धेरै गलत गरेको मान्न सकिँदैन्थ्यो तर पार्टीका सर्बोच्च नेता प्रचन्ड र बाबुरामले त्यसप्रकारको तर्क गर्नु सैद्धान्तिक एवम् राजनीतिक रूपमा नै गलत हुन्थ्यो किनभने स्विट्जरल्यान्ड बनाउने अभिलाशाले साम्राज्यवादसँगको साँठगाँठ र सर्वहारा वर्गप्रतिको विछोडको प्रतिनिधित्व गथ्र्यो । नेपालमा क्रान्ति सम्पन्न गरेपछि नेपाललाई पुँजीवादी साम्राज्यवादी स्विट्जरल्यान्ड बनाउने कुरा थिएन, न त कुनै साम्राज्यवादसँग गठबन्धन गर्ने वा आत्मसमर्पण गर्ने कुरा नै थियो । वैज्ञानिक समाजवादको स्थापना गरेर साम्यवादी बाटोमा हिँड्ने नयाँ प्रकारको समाजको निर्माण गर्ने कुरा थियो । तर उनीहरूको यसप्रकारको प्रचारबाजी सर्वहारा अन्तर्राष्ट्रियतावादप्रतिको बेइमानी थियो । दोस्रो कुरा, यदाकदा राज्यसत्ताबाहेक केही होइन भन्ने विषयमा पनि अस्पष्टता देखापथ्र्यो । सर्वहारा राज्यसत्ता कि पुँजीवादी राज्यसत्ता भन्ने प्रश्न अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको बहसको विषय थियो । तेस्रो कुरा, कतिपय तथ्यहरूको तोडमोड गर्नु प्रचण्डको उपयोगितवादी नियति थियो । प्रचण्डले एकपटक भनेका थिए, ‘पुरानो सेनाको अन्त्य नभईकन राजतन्त्रको अन्त्य हुन सक्दैन ।’ यो विषय अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा व्यापक बहसको विषय बनेको थियो । विश्वका तमाम देशहरूमा राजा समाप्त हुँदा सेना समाप्त नभएको र सेना समाप्त भएर पनि राजा समाप्त नभएको इतिहास छ । यो तथ्यहरूको अगाडि सेना समाप्त नभईकन राजा समाप्त हुँदैन भन्नुको तात्पर्य कुनै कारणले राजतन्त्र समाप्त भएर सेना रहिरह्यो भने त्यो सेना नयाँ हो भन्ने भ्रम दिने स्थान बनिरहन्थ्यो जुन एउटा अवसरवाद हुन्थ्यो, संशोधनवाद हुन्थ्यो र सर्वहारा अन्तर्राष्ट्रवादप्रतिको बेइमानी हुन्थ्यो ।

प्रचण्डमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका तमाम विषयहरूमा हुनुपर्ने बहसलाई चिप्ल्याउने प्रवृत्ति थियो । रिम, कम्पोसालगायत अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग प्रचण्ड बहस गर्न त्यति इच्छुक देखिँदैनथे र जति छलफल हुन्थ्यो नेपालको जनयुद्धमा प्रचण्डको समर्थनको वरिपरि मात्र हुन्थ्यो । यसका पछाडि एकातिर उनको बौद्धिक क्षमताको प्रश्न आउँथ्यो भने अर्कोतिर अवसरवाद । सैद्धान्तिक, वैचारिक, दार्शनिक क्षमताको अभावमा उनी आफू अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा खुल्न चाहँदैनथे । अवसरवादले क्रान्तिकारी आन्दोलनबाट भागेर पुँजीवादमा जानका लागि वातावरण तयार गरिरहेको हुन्थ्यो । प्रचण्ड बारम्बार भन्ने गर्थे– वाम र दक्षिण बाटोमा हिँड्नका लागि उनलाई कुनै समय लाग्दैन । यो पनि उनको कम्युनस्टि अन्तर्राष्ट्रियतावादी मान्यताका विरुद्ध थियो ।

यी सबै समस्या समाधान गर्न वैज्ञानिक समाजवादको विकल्प छैन भन्ने निष्कर्ष (पृ २००) महापतनको छ । यो नै अहिलेको वैज्ञानिक निष्कर्ष हो । यो निष्कर्ष केवल पुस्तकका रूपमा मात्र होइन, सङ्गठनात्मक रूपले कम्युनिस्ट पार्टीको पुनर्गठन गरेर, सङ्घर्षका क्षेत्रमा वर्गसङ्घर्षमा निरन्तरता दिएर, वैचारिक क्षेत्रमा विगतका कतिपय अधुरा सैद्धान्तिक विषयहरूलाई पूर्णता दिएर र दार्शनिक रूपमा कतिपय विषयहरूलाई नयाँ उचाइमा विकास गरेर प्रचण्डको संशोधनवादको प्रतिवाद पुस्तकका रूपमा गरिएको छ । यसले नेपालमा र विश्वमा हुने गरेको निरन्तरतामा क्रमभङ्ग गरेको छ । त्यसको तात्पर्य के हो भने कम्युनिस्ट आन्दोलनमा पुस्तक प्रकाशन गरी विगतका समस्याको वैचारिक प्रतिवाद गर्ने मात्र नभएर नेपालको कम्युनिस्ट आन्दोलनमा एकीकृत रूपमा वैचारिक, राजनीतिक, सङ्गठनात्मक र वर्गसङ्घर्षको क्षेत्रमा प्रचण्ड–बाबुरामहरूको प्रतिवाद भएको छ । यो प्रतिवाद नेपालका कुनै पनि बुद्धिजीवीहरू, व्यक्ति र सङ्घको भन्दा नितान्त फरक र नयाँ उचाइमा छ । त्यति मात्र होइन, विचलित भएको कम्युनिस्ट पार्टी सत्तामा पुगिसकेपछि त्यसबाट पैदा भएका हजारौँ समस्याहरू झेल्दै नयाँ पार्टी, नयाँ कार्यदिशा र नयाँ वर्गसङ्घर्ष सङ्गठित गरेर नेपालको कम्युनिस्ट आन्दोलनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समेत नयाँ आयामको सुरुआत गरेको छ ।
यसप्रकारको सङ्घर्ष र नयाँ आयामले विश्वभर समाजवाद स्थापना गर्न र साम्यवादको महान् बाटोमा अगाडि बढ्न संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरूलाई मद्दत गर्नेछ र नेपाली कम्युनिस्ट आन्दोलनमा देखापर्ने कठोर लाइन सङ्घर्षलाई नयाँ उचाइ दिनेछ ।

२०७५ मङ्सिर २७ बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :