मङ्सिर ८ को महत्त्व

अब आउने मङ्सिर ८ गते नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठनको अवसर पारेर काठमाडौँमा केन्द्रीय स्तरको जनसभा गरेर आफ्ना पार्टीका धारणा सार्वजनिक गर्ने भएको छ । नेकपाले गर्न लागेको जनप्रदर्शन र सभालाई लिएर विभिन्न क्रिया–प्रतिक्रियाहरू आइरहेका छन् । मङ्सिर ८ गते नै किन नेपाल कम्युनिस्ट पार्टीले जनप्रदर्शनसहितको जनसभा गर्दैछ भन्नेबारेमा पनि विभिन्न कोणबाट धारणाहरू बाहिर आइरहेका छन् । राज्य पक्षले उक्त कार्यक्रम गर्न दिन्छ कि दिँदैन भन्ने आशङ्का–उपशङ्काहरू पनि व्यक्त हुन थालेका छन् । यी सबै अड्कलबाजी, आशङ्का, उपशङ्काहरू चलिराख्दा अर्कोतिर भने नेपाल कम्युनिस्ट पार्टीले त्यस दिनको जनप्रदर्शन र जनसभाको तयारीलाई तीव्र बनाइरहेको छ ।

पहिलो कुरा, नेपाल कम्युनिस्ट पार्टीले २०७१ सालपछि मङ्सिर ८ गतेका दिन कुनै न कुनै कार्यक्रम गर्दै आएको छ । यसैगरी यस वर्ष पनि जनप्रदर्शन र जनसभा गर्ने भएको छ । नेकपाले किन मङ्सिर ८ गते कार्यक्रम गर्ने गरेको छ त ? यस वर्ष अलि बढी नै महत्व दिएको छ त ? यो विचारणीय प्रश्नचाहिँ हो ।

कमरेड पुष्पलालको नेतृत्वमा २००६ साल वैशाख ९ गते अर्थात् अप्रिल २२ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । त्यसपछि नेपालको कम्युनिस्ट आन्दोलनले विभिन्न मोड र उतारचढाव पार गरेको छ । क्रान्तिकारी क्षेत्रमा भीमदत्त पन्तको किसान विद्रोह, झापा विद्रोह, जुगेडी विद्रोह हुँदै पछिल्लो क्रममा राजतन्त्रको अन्त्यसम्म हुन पुगेको छ । यसबीचमा प्रतिक्रान्ति र संशोधनवाद पनि हाबी हुन पुगेको छ । केन्द्रीय सत्ता कब्जाको सन्निकट पुगेको महान् जनयुद्धका मुख्य नायकहरूले देशी–विदेशी प्रतिक्रियावादी शक्ति मूल रूपमा भारतीय साम्राज्यवादका सामु आत्मसर्पण गरेर प्रतिक्रान्तिको सेवा गर्न पुगेका छन् । यसरी हिजोका नायकहरूले खरानी बनाउन चाहेको क्रान्तिको भुङ्ग्रोबाट सचेत क्रान्तिकारीहरूले नयाँ क्रान्तिकारी पार्टीको पुनर्गठन गरेर नेपालका सच्चा सर्वहारा, श्रमजीवी किसान, मजदुरलाई आशा र भरोसा मात्र जगाएका छैनन्, क्रान्ति सम्भव छ, गर्न सकिन्छ र गर्नुपर्छ भन्ने ध्येयका साथ नवसंशोधनवादीहरू मात्र नभएर मिहिन संशोधनवादीहरूका विरुद्ध विद्रोह गरेर लत्रिएको लालझन्डालाई उठाएका छन् ।

प्रचण्ड—बाबुराम—बादलहरू पुरानै संसद्वादी राज्यमा आत्मसमर्पण गर्न पुगेपछि क्रान्तिलाई निरन्तरता दिने उद्देश्यसहित २०६९ मा तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट कमरेड किरणको नेतृत्वमा विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी—माओवादी बनाउँदै गर्दा उक्त पार्टी पनि घुमिफिरी रुम्जाटार भनेको जस्तो मिहिन संशोधनवादमा फस्न पुगेको थियो । अथवा नयाँ कार्यदिशा निर्माण गरी अघि बढ्नुभन्दा पनि अकर्मण्यतामा फसेपछि कमरेड विप्लवको नेतृत्वमा २०७१ साल मङ्सिर ८ गतेका दिन तत्कालमा नेपाल कम्युनिस्ट पार्टी माओवादी र पछि २०७३ फागुनमा भएको आठौँ महाधिवेशनमा नेपाल कम्युनिस्ट पार्टी निर्माण भएको थियो ।

यो पार्टीले नयाँ कार्यदिशा पनि निर्माण गरेर अघि बढिरहेको छ । प्रचण्ड—बाबुरामहरूले जनयुद्धको विकास हुँदै गर्दा नै नेपाली जनक्रान्तिले नयाँ कार्यदिशाको माग गरेको थियो । उनीहरू आवश्यक परेको नयाँ कार्यदिशाको विकास गर्ने साहस नगरेर क्रान्तिबाट भागेका थिए अथवा चमडी र दमडी बचाउनका लागि दलाल पुँजीवादी संसदीय व्यवस्थामा आत्मसमर्पण गर्न पुगेका थिए । आत्मसमर्पण गर्ने बाटो उनीहरूले संविधानसभालाई रणनीतिक प्रश्न बनाएका थिए । परिणामस्वरूप विजयको शिखर चुमिरहेको जनयुद्ध विघटन हुन पुगेको थियो ।

त्यही अपुग कार्यदिशालाई पूर्ण नयाँ कार्यदिशा एकीकृत जनक्रान्तिलाई यो पार्टीले आविष्कार गरेको छ । यसरी नयाँ कार्यदिशाको आविष्कार, त्यसैको आधारमा एक्काईसौँ शताब्दी नयाँ क्रान्ति गरेर एक्काईसौँ शताब्दी वैज्ञानिक समाजवादको नयाँ लहर ल्याउने उद्देश्यसहित क्रान्तिकारी पार्टीको पुनर्गठन गरिएकाले मङ्सिर ८ गते विशेष महत्व रहेको छ । त्यसैले मङ्सिर ८ गतेले नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको जत्तिक्कै महत्व राखेको छ भन्न सकिन्छ ।

यो दिनको अर्को पनि महत्व रहेको छ । त्यो सामन्तवादी सत्तालाई ध्वस्त गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्ने उद्देश्यले गरिएको जनयुद्धको मुख्य सङ्गठन सैन्य शक्तिको औपचारिक घोषणा गरिएको हो । २०५८ साल मङ्सिर ८ गते जनमुक्ति सेनाको घोषणा गरिएको थियो । तर जनमुक्ति सेनाको स्थापना त जनयुद्धको घोषणासँगै भएको थियो । त्यही गौरवपूर्ण जनमुक्ति सेनाको बलमा राजतन्त्रको अन्त्य भएको थियो । विगतमा राजतन्त्रको वकालत गर्नेहरू अहिले गणतन्त्र नेपालका राष्ट्रपति र प्रधानमन्त्री हुन पुगेका छन् ।

त्यसैले सबैखाले प्रतिक्रियावाद, संशोधनवादका विरुद्ध विद्रोह गरी क्रान्तिलाई अगाडि बढाउने नयाँ प्रतिबद्धता, दृढतालाई आत्मसाथ गरी क्रान्तिकारी पार्टी निर्माण र गौरवपूर्ण जनमुक्ति सेना स्थापना दिवस भएकाले सबै क्रान्तिकारी, देशभक्त, वामपन्थीहरूलाई मङ्सिर ८ गते एउटा उत्सव हो । सम्पादकीय

२०७५ कात्तिक २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :